वामदेव गौतमको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

Bamdev Gautam ---23
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ कार्तिक। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन र उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिट उपर संवैधानिक इजलासमा आज सुनुवाई हुन लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको थिएन। गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ। संवैधानिक इजलास रहेको गौतमको मुद्दा आज सुनुवाई हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ। हरेक बुधबार र शुक्रबार मात्र संवैधानिक इजलास गठन हुन्छ।

यस अगाडि सर्वोच्चको संवैधानिक इजलासमा वामदेवको तर्फबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्रा.डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, राघवलाल वैद्यलगायतले बहस गरेका थिए।

वामदेव मुद्दामा बहस बाँकी नै भएकाले अर्को सुनुवाइका लागि आजलाई पेशी तोकिएको हो। अब वामदेव र सरकारका कानुन व्यवसायीको बहस पैरवी सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि मात्र मुद्दाको निर्णय हुनेछ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको थियो। अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म वामदेवले कुनै जिम्मेवारी पाउने छैनन्।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै गत बिहीबार माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए।

संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए। अढाई वर्षअघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्