मार्क्सवादको नेपाली प्रयोग र विशेषता

  • 152
    Shares
0
  • युवराज ज्ञवाली

मार्क्सवाद, कार्लमाक्सको मनोगत इच्छा, चाहना र उनको भावना र कल्पनाको विषय नभएर अत्यन्त सूक्ष्म अणु, परमाणुदेखि हरेक वस्तु, घटना, हरेक समाज र विश्व–ब्रह्माण्डका वस्तुगत चालक नियमहरूको वैज्ञानिक निष्कर्ष हो। माक्र्सवादले समाज विकासको नियम, समकालीन विश्व परिस्थिति, सम्बन्धित समाजको आर्थिक, राजनीतिक, सामाजिक एवम् सांस्कृतिक अवस्थाको वास्तविक चित्रण गर्दै त्यसलाई रूपान्तरण गर्ने बाटो देखाएको छ। यसले पदार्थको गति, त्यसको विकास र विनाश, पदार्थबाट चेतना एवम् ज्ञानको विकासलगायत विविध क्षेत्रमा आजसम्म विकसित भएका दार्शनिक मान्यतामध्ये सबभन्दा उन्नत र सही वैज्ञानिक मान्यता अघि बढाएको छ। फ्रेडरिक एङ्गेल्सजस्ता तमाम सहयोगीहरूसँगको व्यापक राजनीतिक बहस छलफल र गहन खोजअनुसन्धानपछि कार्ल मार्क्सले दर्शन राजनीतिक अर्थशास्त्र, समाज विज्ञान, गणित, इतिहास, कला, धर्म, साहित्य, संस्कृतिलगायत तमाम विषयमा नयाँनयाँ निष्कर्षहरू प्रस्तुत गरेका छन्।

आफ्नो जीवनकालमा उनले राजनीतिक अर्थशास्त्रबारे ‘पु“जी’ नामको आफ्नो ग्रन्थमार्फत जति धेरै व्याख्या, विश्लेषण अघि सार्न सफल भए अन्य कतिपय विषयमा लामो विश्लेषणात्मक रचनाहरू तयार पार्ने समय उनीसँग भएन। उनी केही दशक जीवित रहेको भए अर्थशास्त्रको क्षेत्रमा जति धेरै विषयवस्तु उनले प्रस्तुत गरे, अन्य विषयमा पनि विस्तृत व्याख्या आउन सक्ने कुरा उनका विभिन्न लेख, नोटहरू र विभिन्न व्यक्तिहरूलाई लेखेका चिठीपत्रको अध्ययन गर्दा अनुमान गर्न सकिन्छ।

सायद त्यही कारणले पनि होला, कतिपय माक्र्सवादी विद्वान्हरूले मार्क्सवादलाई विज्ञानहरूको जननी पनि भन्ने गरेका छन। यसको तात्पर्य माक्र्सले भनेका र लेखेका सबै विषय शतप्रतिशत सही थिए भन्ने पनि होइन। उनले अनुमान गरेका र विश्लेषण गरेका कतिपय विषयहरू कालान्तरमा गलत सावित भएका पनि कतिपय उदाहरण नभएका होइनन्, तर आधारभूत रूपमा कतिपय यस्ता विषयहरू छन्, ती विषय तात्कालिक मात्र नभएर सर्वकालीन छन्। जसरी पृथ्वी गोलो छ र यसले सूर्यको परिक्रमा गर्छ भन्ने वैज्ञानिक नियम अकाट्य तत्व हो। त्यसरी नै मार्क्सवादका केही आधारभूत सवाल अकाट्य वैज्ञानिक नियमका रूपमा प्रमाणित हुँदै आएका छन्।

मार्क्सवादी मान्यताबमोजिम हरेक पदार्थ गतिशील र परिवर्तनशील छ। यो नियम स्वाभाविक रूपमा विश्व ब्रह्माण्डमा समेत लागू हुन्छ। यसले माक्र्सवादी सिद्धान्त पनि गतिशील र विकासशील छ भन्ने कुरा पुष्टि हुन्छ। त्यसैले, स्वयम् मार्क्स–एङ्गेल्सले ‘हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन, बरु कामका लागि मार्गदर्शन हो’ भन्ने कुरा आफ्ना रचनाहरूमा उल्लेख गरेका छन्। कतिपय मार्क्सवादीका आलोचकहरूले मार्क्सले एक किसिमको परिस्थितिको सन्दर्भमा भनेका कुराहरू त्योभन्दा भिन्न अर्को परिस्थितिमा आइपुग्दा असफल देखिएका विषयलाई आधार मानेर मार्क्सवाद नै असफल भयो भन्ने गरेका छन्। माक्र्सले हरेक तत्कालीन परिस्थितिमा एउटा सन्दर्भमा निकालेका सबै निष्कर्षहरूलाई ‘वाद’कै रूपमा बुझ्नु गलत हो।

आजको एक्काइसौँ शताब्दीको युगमा विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारिक विकास भएको छ। कतिपय कुराहरू मार्क्सले कल्पना गरेभन्दा धेरै माथि छन्। तर, जतिसुकै प्रगति भए पनि ती मार्क्सवादी द्वन्द्ववादभन्दा बाहिर छैनन्। त्यसैले, मार्क्सपछिका …लेनिन, माओत्से तुङदेखि लिएर नेपालका पुष्पलाल र मदन भण्डारीसम्मका तमाम नेताहरूले मार्क्सवादको सर्वकालिकताबारे चर्चा गरेका छन्। मार्क्सवादको प्रयोगको क्रममा संसारका कतिपय देशमा क्रान्ति र समाजवाद निर्माणका प्रक्रियाहरू असफल भएका छन्। त्यसका आधारमा मार्क्सवाद विरोधीहरूले मार्क्सवाद असान्दर्भिक भयो भन्ने हल्ला चलाउँदै आएका छन्। तर, मार्क्सवाद आधारभूत सिद्धान्तको असफलता नभएर मार्क्सवादलाई समय र परिस्थितिको सापेक्षतामा कार्यान्वयन गर्न नजान्ने सम्बन्धित देशको पार्टी र नेतृत्वको असफलता हो। समय र परिस्थिति बदलिएपछि सोहीअनुसार मार्क्सवादलाई लागू गर्ने तरिका पनि बदलिन्छ। यो कुरा माक्र्सले आफ्ना विभिन्न रचनामा उल्लेख गरेका छन् ।

मार्क्सवादी विश्लेषणअनुसार समाजको भौतिकवादी विकासका क्रममा हाम्रो नेपाली समाज पनि आदिकालदेखि दास युग, सामन्तवादी युग पार गर्दे यतिवेला पुँजीवादी युगको नयाँ चरणमा प्रवेश गरेको छ। नेपाली समाजमा रहेका अनेकौं अन्तरविरोधसँगै वर्गको उदय भएदेखि वर्ग सङ्घर्ष चल्दै आयो र त्यसका आधारमा नेपाली समाजको विकास भयो। समाज विकासमा त्यसभित्रका अनेकौं अन्तविरोधको महत्वपूर्ण भूमिका रहे पनि समग्रतामा वर्गीय अन्तरविरोधको प्रमुख भूमिका हुन्छ। २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा नेपालको आर्थिक, राजनीतिक, सामाजिक एवम् सांस्कृतिक अवस्था जस्तो थियो त्यसबेलाको परिस्थितिअनुसार नै तत्कालीन मार्क्सवादी नेताहरूले समाजको विश्लेषणसँगै क्रान्तिको चरित्रबारे आफ्ना विचारहरू अघि सारेका थिए। यतिबेला नेपाली समाजमा आधारभूत रूपमा सामन्तवादको अन्त्य भएर पूँजीवादी नयाँ चरणको सुरुवात भएको छ।

तर, यतिबेला ध्यान दिनुपर्ने महत्वपूर्ण विषय के हो भने नेपाली समाजको आर्थिक आधार दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रणमा छ भने माथिल्लो संरचना संसद् र सरकारमा समाजवादीहरूको नियन्त्रण कायम छ। यसरी आर्थिक आधार र माथिल्लो संरचना आपसमा विपरीत तत्वका रूपमा देखा परेका छन्। यो नेपाली समाजको यतिबेलाको विशिष्ट स्थिति हो। आर्थिक आधार र माथिल्लो संरचनाबीचको अन्तरविरोधका क्रममा एकले अर्कालाई आफूअनुकूल रूपान्तरण गर्ने प्रयत्न गर्दछन्।

यदि अहिलेको माथिल्लो संरचनाले आर्थिक आधारलाई रूपान्तरण गर्न सक्यो भने नेपाली समाज समाजवादतिर जान्छ भने आर्थिक आधार माथिल्लो संरचनामाथि हावी हुँदै गयो भने लामो समय नेपाली समाज पुँजीवादको गोलचक्करमा घुमिरहने र क्रमशः मार्क्सवादीहरूलाई आफू अनुकूल बदल्नेछ। अन्ततः समाजवादी पार्टीहरू पुँजीवादी पार्टीमा बदलिनेछन्। त्यसैले, अहिलेको यो अवस्था एकातिर समाजवादीहरूका लागि अत्यन्तै अनुकुल अवस्था हो भने अर्कोतिर चुनौती निकै गम्भीर किसिमको छ। यसका लागि कम्युनिस्ट पार्टी कस्तो बन्छ र त्यो कसरी चल्छ रु यसैमा धेरै कुरा निर्भर रहनेछ।

नेपालमा नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न भएसँगै कतिपय पुराना अन्तरविरोधहरू समाप्त भएका छन् र नयाँ अन्तरविरोधहरू प्रकट भएका छन्। त्यस्तै, प्रधान अन्तरविरोधको स्वरूप आर्थिक र राजनीतिक दुवै रूपमा बदलिएको छ। जबसम्म नेपाली समाजको उत्पादन प्रणाली र वितरण प्रणालीमा रूपान्तरण गर्न सकिँदैन अर्थात् आर्थिक आधारमा रूपान्तरण गर्न सकिँदैन, तबसम्म कम्युनिस्टहरू चाहेजति समय सत्तामा बसे पनि आधारभूत जनताको जीवनमा केही मात्रात्मक सुधार भए पनि खासै ठूलो परिवर्तन आउनेछैन र मुलुक समाजवादतिर सङ्क्रमण हुनेछैन।

यतिबेला नेपाल संसारका सबभन्दा गरिब मुलुकको पङ्क्तिमा पर्दछ । दैनिक १५ सयको हाराहारीमा नेपाली युवा कामको खोजीमा बिदेसिने गरेका छन् र उनीहरूको कमाइबाट आउने रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र धानिएको छ। यसरी लाखौं युवाको श्रम बहुराष्ट्रिय कम्पनी, विदेशी सरकार र विदेशी पूँजीपतिलाई बिक्री गरेर घरपरिवारको सामान्य गुजारा चलाउने अवस्था विद्यमान छ। यसले गरिबीको सङ्ख्या केही हदसम्म घटाउन मद्दत गरेको भए पनि नेपाली समाजमा आर्थिक असमानाता बढ्ने क्रम तीव्र रूपमा जारी छ। अर्थात्, धनी र गरिबबीचको अन्तर निरन्तर चुलिँदै गएको छ। अन्ततः देशको अर्थतन्त्र केही मुठीभरका अर्बपतिहरूको नियन्त्रणमा जाने क्रम बढ्दो छ। नेपाली अर्थतन्त्रमा अवैध कारोबार, कमिसन र भ्रष्टाचारबाट प्राप्त सम्पत्तिको प्रभाव निरन्तर बढ्दै गएको र अवैध सम्पत्तिको प्रभावले समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको छ। त्यसले राजनीतिक र प्रशासनिक क्षेत्र नराम्रोसँग प्रभावित छ। निर्यात र आयातबीचको असन्तुलन अत्यन्त खतरनाक रूपमा बढिरहेको छ।

पेट्रोलियम पदार्थ, विद्युतीय सामानदेखि दैनिक उपभोगका तमाम सामानका साथै खाद्यान्नमा समेत परनिर्भरता बढ्नु नेपाल राष्ट्र र नेपाली जनताका लागि गम्भीर र खतराको विषय हो। यो स्थितिमा आमूल परिर्वतन गर्न नसक्ने हो भने अन्ततः नेपाली राष्ट्रियता नै खतरामा पर्नेछ। नेपाली राष्ट्रियता बचाउनु भनेको आर्थिक परनिर्भरताबाट देशलाई बचाउने सवालसँग जोडिएको विषय हो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि भ्रष्टाचार सबैभन्दा ठूलो अवरोधका रूपमा देखा परेको छ । नेपाली अर्थतन्त्रमा बजार हावी छ, बजारको अनियन्त्रित प्रभाव बढ्दो अवस्थामा छ। समाजका मुठीभरका केही सीमित व्याक्तिले असीमित फाइदा उठाइरहेका छन्। सेवा गर्ने प्रवृत्ति घट्दै गएको र व्यक्तिगत फाइदा उठाउने प्रवृत्ति खतरनाक रूपमा बढ्दै छ। समग्रमा नेपाली अर्थतन्त्रमा दलाल तथा नोकरशाही पुँजीवाद हाबी छ। यसले बहुसङ्ख्यक श्रमजीवी जनतामाथिको शोषण र थिचोमिचो बढ्दै गएको र वर्गीय अन्तरविरोध नयाँ ढङ्गले बढ्दै गएको छ। यसले गर्दा कार्ल मार्क्सले भनेबमोजिम नेपाली समाज विकासका लागि वर्ग सङ्घर्ष अनिवार्य छ। तर, नेपालको विशेष परिस्थितिमा वर्ग सङ्घर्षलाई अघि बढाउने तरिका हाम्रै विशेषतामा आधारित हुनुपर्दछ। यहाँ वर्गसङ्घर्षसँगै उत्पादनका लागि सङ्घर्ष अर्थात् उत्पादन वृद्धिमा सम्पूर्ण शक्ति केन्द्रित हुनुपर्ने अनिवार्यता छ ।

मार्क्सवाद मानव जातिको मुक्ति, स्वाधीनता, प्रगति, समृद्धि, सामाजिक शोषणको अन्त्य एवम् उत्पादक शक्तिको विकासका लागि मार्गदर्शन गर्ने सिद्धान्त हो। त्यसैले, वर्तमान नेपाली समाजमा मार्क्सवादको सान्दर्भिकता घटेको होइन, झनै बढ्दै गएको छ। खासगरी शोषितपीडित जनताको मुक्ति र समृद्धिका लागि नै मार्क्सवादी सिद्धान्तको विकास भएको कुरालाई ठीक ढङ्गले बुझ्नु जरुरी छ।

मार्क्सवाद एउटा क्रान्तिकारी सिद्धान्त हो। किनकि, माक्र्सवादले केवल दुनियाँको व्याख्या गर्ने मात्र नभएर प्रमुख रूपले दुनियाँ बदल्न मार्गदर्शन गर्दछ। समाजवाद–साम्यवाद भनेको दुनियाँमा धनी–गरिबीच जुन किसिमको विभेद छ, त्यसलाई समाप्त गर्ने व्यवस्था हो। मार्क्सवादले यस्तो विभेदपूर्ण समाज बदल्न सोहीअनुसारको क्रान्तिकारी शक्तिको खोजीका क्रममा सर्वहारा-श्रमजीवी वर्गलाई मुख्य र आधारभूत शक्तिका रूपमा विश्लेषण गरेको छ। वर्गीय पक्षधरताभन्दा बाहिर गएर समाजवाद र साम्यवादको कल्पना गर्नु मार्क्सवादको खोल भिरेर माक्र्सवादकै विरोध गर्नु हो ।

नेपाली समाजमा आर्थिक शोषण मात्र नभई पुरुषले महिलामाथि गर्ने शोषण, माथिल्लो जातिले तल्लो जातिलाई, एउटा धर्मले अर्को धर्मलाई, एउटा भाषा र संस्कृतिले अर्कोलाई शोषण र विभेद गर्ने परिपाटी कायमा छ। नेपालको संविधानमा यस सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको भए पनि व्यावहारिक रूपमा यो विभेदलाई हटाउन निरन्तर प्रयत्न गर्नुपर्ने आवश्यकता छ। उपयुक्त किसिमको विभेदका कारण समाजमा अनेकखाले अन्तरविरोधहरू कायम छन्। ती अन्तरविरोधको समाधान कसरी गर्ने ? मार्क्सवादीहरूले अन्तरविरोधको ठीक पहिचान गरी त्यसको समाधानका लागि बाटो देखाउनुपर्छ र आफैं त्यो काममा सक्रिय हुनुपर्दछ।

मार्क्सवादले हामीलाई समाजमा विद्यमान विभिन्नखाले अन्तरविरोध कसरी हल गर्ने भन्ने सम्बन्धमा महत्वपूर्ण मार्गर्दशन गरेको छ। स्वयम् नेपालका श्रमजीवी जनताकै बीचमा समेत अनेक अन्तरविरोधहरू छन्। जनताका बीचका अन्तर्विरोधहरूलाई कसरी हल गर्ने रु शत्रुतापूर्ण अन्तरविरोध र मित्रतापूर्ण अन्तरविरोधलाई हल गर्ने तरिका आधारभूत रूपले नै भिन्न छ। श्रमजीवी जनताबीचको अन्तरविरोध मित्रतापूर्ण अन्तरविरोध हो। मार्क्सवादीहरू सत्तामा भएका बेला श्रमजीवी जनताका विभिन्न माग र आवश्यकताहरू क्रमशः पूरा गर्दै उनीहरूलाई शिक्षादीक्षा दिंदै र उनीहरूलाई आपसी आलोचना र आत्मालोचनाको तरिकाबाट अन्तरविरोधहरूको समाधान गर्दै जान सकिन्छ। तर, शत्रुतापूर्ण अन्तरविरोधहरूलाई निषेधको तरिकाबाट समाधान गर्न सकिन्छ।

नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेकाले विश्वका तमाम पुँजीवादी मुलुकजस्तै नेपालमा पनि श्रम र पुँजीबीचको अन्तरविरोध आधारभूत अन्तरविरोधको रूपमा रहेको छ। आजभन्दा १ सय ७० वर्षअघि पश्चिमा पुँजीवादी मुलुकभित्र विद्यमान अन्तरविरोधको आधारमा माक्र्सले निकालेको निष्कर्ष आधारभूत रूपमा आजको नेपाली समाजसँग पनि मेल खान्छ। नेपाली समाजमा विद्यमान श्रम र पुँजीबीचको अन्तरविरोध वर्गीय रूपमा श्रमजीवी वर्ग र पुँजीपति वर्गबीचको अन्तरविरोधका रूपमा प्रकट भएको छ। त्यसमा पनि दलाल तथा नोकरशाही पुँजीपति वर्गसँगको अन्तरविरोध प्रमुख र विशिष्ट अन्तरविरोधका रूपमा देखिएको छ। यसलाई हल गर्ने कसरी रु नेपालकाा मार्क्सवादीहरूले दिमाग लगाउनुपर्ने मुख्य विषय हो। आफैँ सत्तामा बसेका बेला यस्ता विषयमा ध्यान पुग्न नसक्ने र अन्ततः मार्क्सवादीहरूभित्रै गम्भीर विचलन आउन सक्ने विषयमा गम्भीर ध्यान पुर्याउनु जरुरी छ।

वर्तमान नेपाली राजनीतिमा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी सत्ताको नेतृत्वमा पुगेका कारण समाजमा विद्यमान सामन्त्वादका अवशेषहरूलाई समाप्त गर्दै दलाल पूँजीवादको बढ्दो प्रभावलाई समाप्त गर्न अनुकूल अवसर प्राप्त भएको छ। श्रमजीवी वर्गका लागि राजनीतिक रूपमा यो एउटा ऐतिहासिक जित हनुका साथै श्रमजीवी वर्गको मुक्ति र समाजवादी व्यवस्थाको बलियो आधार निर्मिण गर्ने महत्वपूर्ण अवसर हो।

यतिबेला नेपाली समाजको वर्ग सङ्घर्ष प्रमुख रूपले विभिन्न स्तरका आवधिक निर्वाचनका बेला सञ्चालन गरिने अभियानमा तीव्र रूपमा चल्ने गर्छ र निर्वाचनमा लाखौंलाख जनताको मतपत्रका रूपमा मतपेटिकामा व्यक्त हुन्छ। कुनै पनि सशस्त्र सङ्घर्ष या जनविद्रोहको माध्यमबाट सम्पन्न हुने क्रान्तिमा सापेक्षित रूपमा थोरै मानिसको संलग्नता हुन्छ र त्यसलाई ठूलो जनसमुदायले समर्थन जनाउँछ। तर, आम निर्वाचनहरूमा प्रत्येक परिवारका मतदाताहरू श्रमजीवी वर्गलाई विजयी बनाउन र पुँजीपति वर्गलाई पराजित गर्न एकैचोटि लाखौं, करोडौं सङ्ख्यामा यो महान् अभियानमा संलग्न हुन्छन्। एक्काइसौ“ शताब्दीको आजको युगमा लोकतान्त्रिक प्रक्रियाद्वारा आमजनतालाई वर्ग सङ्घर्षको यो नयाँ तरिकामा अग्रसर बनाउन माक्र्सवादी पार्टीले देशव्यापी अभियान सञ्चालन गर्नुपर्छ। त्यसका लागि एकताबद्ध, सिद्धान्तनिष्ठ, अनुशासित र क्रियाशील जनआधारित पार्टीको आवश्यकता पर्छ।

बलियो र अनुसाशित पार्टीबिना श्रमजीवी वर्गको मुक्तिको यात्रामा सफलता प्राप्त गर्न सकिँदैन भन्ने निष्कर्षका आधारमा नै मार्क्स–एङ्गेल्सले कम्युनिस्ट लिगको स्थापना गरेका थिए। तर, लोकतान्त्रिक प्रक्रियामा संलग्न हुने क्रममा संसदीय निर्वाचनमा पुँजीपति वर्गसँगको प्रतिस्पर्धामा बोराका बोरा पैसाका आधारमा निर्वाचनमा विजयी बन्ने परिपाटीलाई कसरी बदल्ने ? यसमा कार्ल माक्र्सले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यस्तो निर्वाचन श्रमजीवी वर्गका लागि एउटा नाटकमा परिणत नहोस् भन्नेबारे उनले भावी पिँढीलाई सचेत बनाएका थिए। वर्तमान नेपाली राजनीतिमा मार्क्सले भनेजस्तै बोराका बोरा पैसा खर्च गरेर चुनाव जित्ने संसदीय लोकतान्त्रिक परिपाटीलाई साँचो अर्थमा श्रमजीवी जनताको लोकतन्त्रको रूपमा कसरी बदल्ने ? नेपालका मार्क्सवादीहरूले गम्भीर चिन्तन मनन गरेर यस किसिमको पुरानो लोकतान्त्रिक परिपाटीलाई बदल्नु जरुरी छ । अरू सबै कुरा बदल्नुपर्ने तर संसदीय निर्वाचन प्रणालीचाहिँ बदल्न नहुने यो कस्तो मार्क्सवाद हो ? यो कस्तो लोकतन्त्र हो ? जसरी मार्क्सवाद गतिशील र विकासशील छ, लोकतन्त्र आफैं विकासशील र गतिशील राजनीतिक प्रणाली हो। यदि यो कुरा सही हो भने वर्तमान लोकतान्त्रिक प्रणाली सच्याउनुपर्ने कुरा के हो रु गम्भीर बहस हुनु जरुरी छ।

निर्वाचनमा विजय प्राप्त गरेर वामपन्थीहरूको सरकार निर्माण गर्नु वर्तमान परिप्रेक्ष्यमा अत्यन्त महत्वपूर्ण विषय हुँदै हो। तर, त्यसपछि मार्क्सवादीहरूले गर्नुपर्ने काम त्योभन्दा धेरै चुनौतीपूर्ण हुन्छ भन्ने कुरामा गम्भीर ध्यान पुग्नु जरुरी छ। पुरानो राज्य संयन्त्रलाई निषेध गरेर होइन, त्यसलाई अग्रगमनका लागि उपयोग गर्दै जाने नयाँ तरिकाबाट सत्ताको नेतृत्वमा पुगेको वामपन्थी पार्टीले पुरानो राज्य संयन्त्रलाई मार्क्सवादी दृष्टिकोणअनुसार रूपान्तरण गर्दै अघि बढ्नुपर्ने हुन्छ।

अहिलेको जस्तो परिपाटीमा सत्ताको नेतृत्वमा पुग्ने विषयलाई साध्यका रूपमा बुझ्दै जाने गम्भीर किसिमको विचलन आउन सक्छ। सत्तामा पुग्नुलाई साध्य होइन, वर्तमान आर्थिक–सामाजिक परिपाटीलाई बदल्ने साधनका रूपमा बुझ्नुपर्छ र जनतामाथि शासन गर्न होइन, जनताको सेवा गर्न सत्ताको कुर्सीमा पुगेको कुरा भाषणमा भन्दा व्यवहारमा रूपान्तरण गरेर जनतालाई बुझाउन सक्नुपर्छ। यस्तो बेलामा जनताले कुराभन्दा कामको आशा गरेका हुन्छन्। यदि राम्रो काम गरेर देखाउन सकिएन भने जनताले सहजै अर्को विकल्प रोज्नेछन्। वामपन्थीहरूलाई कुरेर बस्दैनन्। यस्तो बेला सत्तामा पुग्नेहरूले त्यसलाई पनि वर्गसङ्घर्षको एउटा मोर्चाकै रूपमा बुझ्नुपर्छ, बल प्रयोगबाट होइन। मूलतः बुद्धिको प्रयोग गरेर त्यो ठाउँबाट पनि सामाजिक रूपान्तरणका लागि भूमिका खेल्न सक्नुपर्छ।

निर्वाचनमा विजय प्राप्त गरेर सरकार निर्माण गरेपछि व्यापक श्रमजीवी जनताको हितको पक्षमा आवश्यकताअनुसार संविधानदेखि लिएर नयाँ नयाँ नियम कानुन निर्माण सोहीअनुसारका नीति तथा कार्यक्रम योजना र अनेक जनपक्षीय निर्णयहरू गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने सवालमा नमुना प्रस्तुत गर्न सक्नुपर्छ। यतिबेला नेपालका प्रायः सबै राजनीतिक पार्टीहरूले मुलुकको आर्थिक समृद्धिलाई आफ्नो मुख्य कार्यभार बनाएका छन् । वामपन्थीहरूको पनि यसैमा विशेष जोड रहँदै आएको छ। तर, बुर्जुवा पार्टीहरूले भन्ने गरेको समृद्धिको विषय र माक्र्सवादीहरूले उठाउनुपर्ने विषय आधारभूत रूपले भिन्न छ।

यतिबेला मुलुकको समृद्धिका लागि निजी, सहकारी र सरकारी तिनै पक्षलाई उत्पादन वृद्धिसँगै समृद्धिका यावत् क्रियाकलापमा सक्रिय पार्नैपर्छ र देशीविदेशी लगानीकर्ताहरूलाई त्यसमा प्रोत्साहित गर्ने सवालमा ध्यान दिनैपर्छ। तर आमश्रमजीवी जनताको समृद्धिको विषय नै मुलुकको समृद्धिको मुख्य विषय हो भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। केही मुठीभरका अर्बपतिहरूलाई खर्बपतिमा रूपान्तरण गर्दै उनीहरूकै नियन्त्रणमा देशको अर्थ व्यवस्था सञ्चालन गर्ने समृद्धि एक किसिमको समृद्धिहो भने खर्बपतिहरूलाई उच्चतम प्रततिशील कर लागू गर्दै आम श्रमजीवी जनतालाई समृद्ध बनाउने, मुलुकाको समृद्धिका लागि उनीहरूलाई व्यापक रूपमा परिचालित गर्ने तरिका सही मार्क्सवादी तरिका हो।

समसामयिक नेपाली राजनीतिमा यहाँकै विशेषज्ञतामा आधारित माक्र्सवादको मौलिक प्रयोग हामी गर्दैछौं। चीनलगायत विश्वका विभिन्न मुलुकमा गरिएको माक्र्सवादको प्रयोग एवं देशको समृद्धिका लागि गर्नुपर्ने तमाम काम ती देशमा भन्दा भिन्न रूपमा लागू हुन्छ। ती देशका सकारात्मक कतिपय विषयहरूलाई शिक्षाका रूपमा ग्रहण गर्न नसकिने होइन, तर कसैको पनि नक्कल गर्न सकिँदैन। हामीले नेपाली विशेषताअनुसारको समृद्ध, सम्पन्न, सभ्य, शान्त र सुसंस्कृत समाजवादको स्थापना गर्नुपर्ने आवश्यकता छ। मुलुकको विकास निर्माणका तमाम कामसँगै वातावरणीय सन्तुलनको पक्षलाई समानान्तर रूपमा अघि बढाउनु आवश्यक छ। संसारका कतिपय ठूला र विकसित देशमा गम्भीर वातावरणीय सङ्कट देखा परेको छ। त्यसबाट शिक्षा लिएर हाम्रो देशमा यस्तो स्थिति आउन नदिन के-कसो गर्नुपर्ला ? ध्यान पुर्याउनुपर्छ। मार्क्सले अनेकौं सवालमा नवीन मान्यताहरू अघि बढाएको भए पनि उनको मुख्य ध्यान सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धिको विषयमा केन्द्रित थियो। त्यसका लागि समाजमा पर्याप्त उत्पादनसँगै समान वितरणको विषय आपसमा जोडिएको विषय हो। उत्पादनबिना वितरण सम्भव छैन। उनले समाजवाद पुँजीवादको गर्भबाट जन्मिन्छ भन्नुको कारण यो पनि थियो।

विश्वका पुँजीवादी मुलुकहरूमध्ये पुरानो लोकतान्त्रिक र संसारको सबैभन्दा धनी मुलुक अमेरिकामा त्यहाँका केही मुठीभर खर्बपतिहरूसँगको हातमा देशको कुल सम्पत्तिको ठूलो हिस्सा केन्द्रित छ। त्यस्तै हाम्रै छिमेकी भारतमा त्यहाँका ७० प्रतिशत जनतासँग भएको कुल सम्पत्ति र ५०–६० जना अर्बपतिहरूसँगको सम्पत्ति बराबरीको अवस्थामा छ। जर्मनी, जापान, ब्रिटेनलगायतका देशको अवस्था पनि समग्रतामा उस्तै हो। ती सबै देश आर्थिक रूपमा समृद्ध छन्। तर त्यहाँको अर्थतन्त्र निश्चित ठूला पुँजीपतिको नियन्त्रणमा छ र राजनीतिमा पनि उनीहरूको बलियो पकड छ। औसत रूपमा मुलुक समृद्ध देखिए पनि जनताबीच ठूलो आर्थिक असमानता छ।

संसारका विभिन्न देशमा जस्तै हाम्रो देशमा पनि गरिबी र बेरोजगारी हटाउने कुरा निरन्तर उठ्दै आएको छ। नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि यो विषय नीतिगत रूपमा महत्वपूर्ण विषय बन्ने गरेको छ। नेपालमा गरिबीको रेखामुनि रहेका जनताको सङ्ख्या क्रमशः घट्दै गएको पनि छ। यो एउटा सकारात्मक पक्ष हो। तर, नेपाली समाजमा पनि विश्वका पु“जीवादी मुलुकमा जस्तै जनताबीचको आर्थिक असमानता भने बढ्दै गएको छ। गरिबी घट्दै जाँदा ठूलो मात्रामा जनताको क्रयशक्ति बढ्दै गएकाले त्यसबाट केही मुठीभरका पुँजीपति वर्गले नै फाइदा उठाएको छ।

सरदरमा नेपालमा दैनिक १५ सय युवा कामको खोजीमा विदेश पलायन हुने गरेका छन्। त्यहाँ उनीहरूले ठूला कम्पनी, त्यहाँको सरकार र पुँजीपतिहरूलाई सस्तोमा आफ्नो श्रम बिक्री गरिरहेका छन्। यसरी हाम्रो मुलुक सस्तोमा श्रम बिक्री गर्ने मुलुकका रूपमा प्रख्यात छ। लाखौं नेपाली युवाले सस्तोमा श्रम बेचेर प्राप्त भएको विप्रेषणबाट नेपाली अर्थतन्त्र काम चलाउको अवस्थामा छ। नेपाली समाजमा विद्यमान विभिन्न खाले शोषण, बढ्दो आर्थिक असमानता, गरिबी, बेरोजगारी र पछौटेपनको अन्त्य गर्नु नै नेपालमा माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्ने मुख्य विषयवस्तु हो। मार्क्सवादले यो सवालमा नेपालका वामपन्थीहरूलाई मार्गदर्शन गरेको छ। उपर्युक्त समस्याको समाधान हुँदै जाने क्रममा नै यो मुलुक नयाँ किसिमलै समृद्धिको बाटोमा आघि बढ्नेछ। यसले नै नेपाली समाजमा समाजवादको बलियो आधार तयार गर्ने र समृद्ध समाजवाद निर्माणको लक्ष्य सफल हुनेछ।

नेपाली समाजमा विद्यमान विभिन्नखाले शोषण, उत्पीडन, विभेद, गरिबी र बेरोजगारीजस्ता तमाम समस्याको कारणले ती समस्याको समाधान वामपन्थीहरूबाट हुन सक्छ भन्ने विश्वासका आधारमा जनताको ठूलो पङ्क्ति उनीहरूको पक्षमा देखिएको छ। नेपालका कम्युनिस्टहरूले उपर्युक्त समस्याको समाधान मार्क्सवादी सिद्धान्तका आधारमा गर्न सकिन्छ भन्ने कुरा व्यापक रूपमा आमजनताका बीचमा पुर्‍याएका छन्। यसले जनतामा मार्क्सवादप्रतिको आस्था र विश्वास बढाएको छ। त्यस्तै मौका सरकारमा रहँदा गरेको जनपक्षीय कामहरूले जनता पुँजीवादको पक्षमा नभएर समाजवादको पक्षमा देखिएका छन्। यसपटकको निर्वाचनमा नेपाली जनताले वामपन्थीहरूलाई झन्डै दुई तिहाइको जुन समर्थन दिएका छन्। वामपन्थीहरूका लागि जनताको पक्षमा काम गर्ने सुनौलो र ऐतिहासिक अवसर प्राप्त भएको छ। यसले नेपालको सन्दर्भमा मार्क्सवादको सान्दर्भिकतालाई निकै माथि उठाएको छ।

यतिबेला यदि नेपालका कम्युनिस्टहरूले वर्गीय विभेदको विषयलाई छायामा पार्दै केवल समृद्धिको पक्षमा मात्र जोड दिँदै जाने हो भने परिणामतः त्यो अन्य देशका पुँजीवादी मुलुकमा जस्तै देशको समग्र अर्थतन्त्र मुठीभरका ठूला पुँजीपतिको नियन्त्रणमा रहिरहनेछ। अन्ततः जनता क्रमशः कम्युनिस्टको विपक्षमा उभिनेछन्। नेपाली समाजमा कम्युनिस्ट पार्टी लोकप्रिय हुनुको एउटा महत्वपूर्ण कारण जनताबीच वर्गीय चेतनाको विकास हुनु हो। २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि वर्गीय पक्षधरताको विषय पार्टीले जोडदार रूपमा उठाउँदै आयो। सत्ताको नेतृत्व गरेका बेला वर्गीय पक्षधरताको विषय कमजोर पर्न सक्छ, यसमा हमेसा पार्टी सचेत हुनु जरुरी छ, वर्गीय विषयसँगै जातीय, लैंगिक, धार्मिक, भाषिक एवम् क्षेत्रीय विभेदको अन्त्यका लागि हमेसा ध्यान पुर्याउनु आवश्यक छ।

नेपालका श्रमजीवी जनताको समृद्धि र समग्र मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार र कमिसनतन्त्र सबैभन्दा ठूलो बाधकका रूपमा देखा परेको छ। माथिदेखि तलसम्म सत्ताको नेतृत्व गरेको कम्युनिस्ट पार्टीका कतिपय जनप्रतिनिधिहरूदेखि नेता तथा कार्यकर्ताहरू भ्रष्टाचार र कमिसनतन्त्रको जालोमा फस्न सक्ने ठूलो खतरा उत्पन्न हुन सक्छ। यसबाट पार्टीलाई बचाउने कसरी रु यस सम्बन्धमा सरकारी नियमकानुन तमाम किसिमका सङ्घसंस्थाहरूको निर्माण र परिचालन तथा पार्टीमा सोहीअनुसारको विधान नियमावली र त्यसको दृढतापूर्वक कार्यान्वयनको पक्षलाई गम्भीरतापूर्वक लिएर सोही सङ्गठनात्मक संरचनाअनुसारको शिक्षादीक्षा पार्टी परिचालन दण्ड र पुरस्कारको व्यवस्था तथा पार्टीमा कडा अनुशासनको व्यवस्था गर्नु अनिवार्य हुन्छ।

माक्र्सवाद मानिसको देवत्वकरण र व्यक्तिवादी चरित्रको विरोधी दृष्टिकोण हो। मार्क्सले यसलाई सामन्तवादको अवशेषका रूपमा चित्रण गरेका छन्। समाज विकासका क्रममा संयोगवश कुनै खास व्यक्ति नेतृत्वमा आउँछ र त्यतिबेलाका सकारात्मक र नकारात्मक घटनाक्रमको सन्दर्भमा उसको नाम जोडिन पुग्छ। यो आफैंमा स्वाभाविक वस्तुगत विकासको नियम हो। नेतृत्वमा आउने व्यक्तिहरू समय क्रमशः फेरिँदै जान्छन् र समाज विकासको क्रम अघि बढ्दै जान्छ। एक दशकअघि राजतन्त्रको अन्त्य गरेर अघि बढेको नेपाली राजनीतिमा व्यक्तिवादी प्रवृत्ति र अमूक नेताको देवत्तवकरण गम्भीर खतराका रूपमा देखा पर्न सक्छ। यस्तो कुराप्रति समयमै सचेत बन्न सकिएन भने खास स्थितिमा पुगेर त्यसले ठूलो क्षति पुर्याउँछ।

संंसारका अनेकौं चीजले समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। त्यसमध्ये मानवशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो। हरेक मानिसको जीवन मूलतः उत्पादन प्रणालीमा आधारित हुन्छ। उत्पादनको काम मानवीय श्रममा आधारित छ। त्यस्तै, समाजको अस्तित्व कायम रहेसम्म समाज विकासका लागि श्रम र श्रमको साधन दुवै अनिवार्य पक्ष हुन्। मार्क्सले यस सम्बन्धमा निकालेका निष्कर्षहरू सर्वकालीन छन्। श्रमका रूप र तरिकाहरू फेरिन्छन्। श्रमका साधनहरूमा निरन्तर परिवर्तन र विकास भइरहन्छ। तर श्रम र श्रमका साधनको आवश्यकता भने अनन्तकालसम्म रहिरहन्छ।

चेतनाले भौतिक जगत्को अस्तित्व निर्धारण गर्छ भन्ने विश्वव्यापी अध्यात्मवादी मान्यताविपरीत माक्र्सले ‘भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्छ’ भन्ने वैज्ञानिक मान्यता अघि बढाए। संसारमा जतिसुकै वाद र विचारहरू देखा परे पनि उक्त मान्यताको खण्डन गर्ने कुनै वस्तुगत आधार छैन। कार्ल मार्क्सले संसार बदल्ने जुन किसिमको दर्शन र सिद्धान्तको प्रतिपादन गरेका छन्, सोहीअनुसारको पार्टी निर्माणको विषय अत्यन्त महत्वपूर्ण र अनिवार्य विषय हो। सामन्ती र पुँजीवादी परिवेशमा जन्मेहुर्केका मानिसलाई मार्क्सवादी साँचोमा ढाल्नु अत्यन्त कठिन काम हो। दुनियाँ परिवर्तनको कुरा गर्न सजिलो छ। तर परिवर्तनका चर्का कुरा गरेर नथाक्ने तिनै कतिपय मानिसहरूले आफूलाई बदल्न सकेका हुँदैनन्। यो विडम्बना नेपालका माक्र्सवादी पार्टीहरूभित्र गम्भीर समस्याका रूपमा देखिएको छ। नेपालको वर्तमान परिप्रेक्ष्यमा कम्युनिस्ट पार्टीहरू यदि कमजोर भए भने बाह्य कारणभन्दा आफ्नै आन्तरिक कारण प्रमुख कारणका रूपमा रहनेछ। नेपालका वामपन्थीहरूले आफूभित्र जुन किसिमको जनशक्ति निर्माण गर्नेछन्, नेपाली समाजको रूपान्तरण प्रक्रिया पनि सोही आधारमा अघि बढ्नेछ।

राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा निरन्तर परिवर्तन आइरहेको हुन्छ, सोहीअनुसार सिर्जनात्मक रूपले माक्र्सवादलाई व्यवहारमा लागू गर्न सकिएन भने सफलता प्राप्त गर्न सकिँदैन। पार्टी निर्माणदेखि देश निर्माणका अनेकौं कामको सन्दर्भमा अनेक सफलतासंगै गल्ती कमजोरी हुन्छन्। कमजोरीलाई निरन्तर सच्याउने क्रममै पार्टी र देश विकासको काम अघि बढ्ने हो। त्यस्तै, मार्क्सवादका आधारभूत सच्चाइमा उभिएर अघि बढ्न सके कुनै दिन समाजवाद र साम्यवादको लक्ष्य पूरा हुने निश्चित छ।

Comments
Loading...
You might also like