आन्दोलनमा जाने अवस्था छैन, बोलेको सरकार सुन्दैनः प्रकाशमान सिंह

prakashman sinha
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनजीविकाको सवालमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले कोरोना महामारीको विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको टिप्पणी गरे।

‘यो सरकार स्वार्थमा डुबेको छ। भ्रष्टाचारमा लिप्त छ,’ नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो।’ सरकारका जनहीत विपरीतका कामकारवाहीबारे विरोधमा सडकमा आन्दोलनका लागि जाने अवस्था अहिले नरहेको पनि उनले बताए। कोरोना महामारीले सडक आन्दोलन गर्न नसकिने उनी बताउँछन्।

‘कोरोना महामारीले तत्कालै सडक आन्दोलनमा जाने अवस्था छैन,’ उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन। यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको।’ सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनको भनाई छ।

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको सिंह बताउँछन्। उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए। ‘कोरोना महामारीको बेलामा सरकारले के गर्‍यो अब यो भनिरहनु परेन,’ उनले भने, ‘अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन। यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ।’ अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्