काठमाडौं। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताएका छन्।
उनले भने, ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनकाा लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन। लोकतान्त्रीक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो।’
उनले प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो की भन्ने आशंका नगर्न पनि आग्रह गरे। अहिले सरकारमा सहभागि हुने कांग्रेसको रुचीको विषय नभएको शर्माको भनाई छ। जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफुहरु लालयित नभएको उनले बताए।
उनले नेकपाभित्रको द्वन्दमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत बताए। उनले भने, ‘‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ। हामी सत्ताका लागि लालायित छैनौँ। नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौँ। उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो।’
विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रिय कार्यसमितिको निर्णय अनुसार अगाडी बढ्ने बताए।
भोलीको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै शर्माले भने, ‘‘उनीहरु एउटा निश्चित टुंगोमा नपुग्दा सम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको। वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु।’
नेकपाभित्र द्वन्द चलिरहेका बेला शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो।