६६ वर्षपछि टरिगाउँ एयरपोर्टमा इन्धन डिपो निर्माणको कार्य सुरु

dipo
  • 92
    Shares
लोकपाटी न्यूज

तुलसीपुर। दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार अबको १५ दिनपछि निर्माणको काम सुरु गरिने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने मौखिक सहमति जनाएपछि निगमले काम सुरु गर्ने भएको हो। टरिगाउँ एयरपोर्टमा ६ करोडको लागतमा इन्धन डिपो निर्माण गर्न लागिएको हो। डिपो सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिको एक करोड र निगमले ५ करोड खर्च गर्ने भएको छ।

मंसिर ४ गते निगमकी प्रवन्धक इन्दु शर्माले जग्गाको अवलोकन गरेर प्रतिवेदन बुझाएपछि कार्यकारी निर्देशक पौडेलको नेतृत्वमा प्राविधिकको टोली सोमबार तुलसीपुर आइपुगेको हो। उक्त टोलीले एयरपोर्ट प्रवेश गर्ने मुख्य गेटको दक्षिण तर्फ रहेको जग्गाको सोमबार नापजाँच समेत गरेको छ।

बैशाख १ गते उद्घाटन गर्नेगरि निर्माण कार्यलाई अघि बढाउने इन्धन डिपो तुलसीपुरका प्रमुख सुजित पोख्रेलले जानकारी दिए। २०११ सालमा स्थापना भएपनि राजनीतिक दाउपेजका कारण ओझेलमा परेको एयरपोर्टमा इन्धन डिपो स्थापनाका लागि तुलसीपुर उपमहागनरपालिकाले पहल गर्दै आएको छ। जग्गा उपलब्ध गराउन तुलसीपुर उपमहानगरपालिकाले गएको बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरण तुलसीपुरलाई पत्रलेखेपछि प्राधिकरणका तुलसीपुर प्रमुख लिलाप्रसाद श्रेष्ठले विभागसंग समन्वय गरेका थिए।

इन्धन डिपो संचालनमा आएमा ६६ बर्षपछि दाङबासीको ठूलो सपना पुरा हुने तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताए। टयांक र बाउजर मेसिन खरिदका लागि कार्तिक १५ गते टेण्डर आब्हान गरिएको थियो। दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयांक निर्माण गरिने छ। स्थायी इन्धन डिपो निर्माणका लागि जमिन फिलीङ, कंक्रिट बनाउने र निगमको कार्यालय भवन, टयांक तथा बाउजर मेसिन राख्नका लागि पार्किङको काम गरिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्