‘प्रचण्डको प्रस्ताव नेकपाको आधिकारिक दस्तावेज हो, ओलीको छुट्टै प्रस्ताव आवश्यक छैन’

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। पूर्वमन्त्री दलजीत श्रीपालीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयमा पेस गरेको राजनीतिक प्रस्ताव नै आधिकारिक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत श्रीपालीले कार्यकारी अध्यक्षले राजनीतिक प्रस्ताव पेस गरिसकेपछि अर्को प्रस्तावको आवश्यक नभएको बताएका हुन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्तावको तयारी गरिरहेका बेला उनले सो कुरा बताएका हुन्। श्रीपालीले ल्याउनले प्रस्ताव ‘काउण्टर प्रस्ताव’का रूपमा मात्र हुने बताए। उनले लेखेका छन्, ‘१० दिनको समय मागी अर्का अध्यक्षले ल्याउँछु भनिएको प्रस्ताव ‘काउन्टर प्रस्ताव’ मात्र हो। कार्यकारी अध्यक्षले राजनैतिक प्रस्ताव पेस गरिसकेपछि अर्को प्रस्ताव आवश्यकै छैन।’

श्रीपालीको भनाई जस्ताको तस्तैः

कार्यकारी अध्यक्ष क. प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन नै आधिकारिक हो। सचिवालयको निर्णय Daljit Sripaliभएकोले यसलाई पार्टी कमिटीका सबै तहमा पुर्‍याउन आवश्यक छ।

१० दिनको समय मागी अर्का अध्यक्षले ल्याउँछु भनिएको प्रस्ताव- ‘काउन्टर प्रस्ताव’ मात्र हो। कार्यकारी अध्यक्षले राजनैतिक प्रस्ताव पेस गरिसकेपछि अर्को प्रस्ताव आवश्यकै छैन। यसरी कसरी चल्छ -पार्टी कमिटी ? यसले पार्टीलाई एकता होइन्-विभाजनतिर लैजानेछ।

‘प्रतिवेदन फिर्ता गरौं, सहमति गरौं, साझा प्रतिवेदन ल्याऔं’ भन्ने मध्यमार्गीहरू घोर स्वार्थी, अवसरवादीहरू हुन्। द्वैत राजनैतिक चरित्र बोकेर हिड्नेहरुको विश्वास हुदैन्। एक-एक गरी हिसाब हुनै पर्छ।

अध्यक्ष क. प्रचण्डले राजनैतिक, सैद्धान्तिक बहसलाई अगाडि बढाइरहँदा, सुखी नेपाली समृद्ध नेपाल सहित जनताको जनवाद हुँदै समाजवादको रणनीति लक्ष्य प्राप्तिको कार्यदिशा कार्यान्वयनमा अवरोध गर्ने ‘केपी प्रवृत्ति’ विरुद्ध लडिरहँदा खुच्चिङ बजाएर आत्मरति लिने, साथ नदिने, ढुँगा झैँ नबोल्ने तर अवसर कुरेर बस्ने कमरेडहरूलाई पनि समयमा चिन्नै पर्छ। पार्टीभित्रका खतरनाक ‘भाइरस’ हुन्।

कार्यकारी अध्यक्ष क.प्रचण्डले पेस गरेको राजनैतिक प्रतिवेदन नै ‘आधिकारिक प्रतिवेदन’ हो। यसलाई गम्भीरतापूर्वक नलिई फेरि ‘साझा प्रतिवेदन’को कुरा उठाउनु,कार्यकारी अध्यक्षलाई बारम्बार दबाब दिनु घुमाइफिराई ‘केपी प्रवृत्ति’को पक्षपोषण गर्नु हो।

चरम ‘गुट र फुट’का विषय उठाएर व्यक्तिको स्वार्थ पूर्ति गर्ने छुट कसैलाई छैन। पार्टी कमिटीमा उत्पन्न अन्तर्विरोधको समाधान घुर्की, धम्की देखाएर, तर्साएर, सत्ता,शक्ति,साधन श्रोतको दुरुपयोग गरेर हुँदैन।

जनवादी केन्द्रीयता, संगठात्मक सिद्धान्त, विधि, विधान, पद्धति, प्रणाली छ-आलोचना, आत्मालोचना गरेर अगाडि बढ्न सकिन्छ। एकता, संघर्ष र रूपान्तरणको विधि छ। समस्याको समाधान पार्टी कमिटीभित्रबाट नभई बाहिरबाट खोज्नु,बैठकबाट भाग्नु,निर्णय नमान्नु यो भन्दा अराजकता अरू के हुन सक्छ र ? सबै चीज ‘मै हुँ’ भन्ने मनोगतवादी, अराजकतावादी नेतृत्व- कसरी बन्न सक्छ -केन्द्रीकृत नेतृत्व ?

सचिवालय सदस्यहरूले सामूहिक राजीनामा दिऔं, सचिवालय भङ्ग गरौं भन्ने विषय पनि घुमाइफिराई ‘केपी प्रवृत्ति’लाई प्रशय दिने अस्त्र हो। पार्टीलाई नेतृत्वविहीन बनाई विघटनतिर लैजाने नियतसँग जोडिएर आएको छ यो विषय। पार्टीभन्दा व्यक्ति माथि हुँदैन- व्यक्तिको भनाइले पार्टीको विधि, विधान निस्क्रिय हुनै सक्दैन।

आफूलाई अध्यक्षका ‘दूत’ ठान्ने, दोस्रो पुस्ताका नेता हुँ अबको नेतृत्व म हुँ भनी आत्मरति लिने अवसरवादीहरूबाटै पार्टी झन् संकटमा परेको कुरा जगजाहेर छ। ‘लोट्टाका पिँढ’झैँ अडान नभएका नेतृत्वबाट पार्टी कमिटी चल्छ भन्नू- ‘बाँदरको हातमा नरिवल’ दिनु हो।

पार्टी कमिटी विपरीतहरूको एकत्व पनि हो, एकता, संघर्ष र रूपान्तरणबाट पार्टी अगाडि बढ्छ। कमिटीमा प्राप्त सबै विषयलाई केन्द्रित गरी विधि विधान,पद्धति, प्रणालीअनुसार चल्न र मुख्यतः राजनैतिक, सैद्धान्तिक बहसको विषयलाई जोड दिन आवश्यक छ। जनताको जनवाद हुँदै समाजवाद/साम्यवाद हाम्रो लक्ष्य हो।