खर्च र राजश्व संकलन उत्साहजनक छः मन्त्री बोहरा

Jhapat_Bohora
  • 42
    Shares
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३१ करोड नौ लाख ६६ हजार राजश्व संकलन गरेको छ। यो लक्ष्यको तुलनामा ४५.९३ प्रतिशत रहेको छ। सरकारले चालू आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो।

सरकारले गत आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यको तुलनामा ३२.१२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत आर्थिक वर्षभन्दा खर्च बढेको बताए।

उनले गत वर्षसँग तुलना गर्दा प्रदेश सरकारको चालू तथा पूँजीगत खर्च र राजश्व संकलन उत्साहजनक रहेको बताए। ‘कोभिड-१९ संक्रमणले निम्त्याएको समस्याका कारण यो रोगको रोकथाममा वित्तीय स्रोत लगाउनु परेको र सरकारका प्राथमिकताहरु परिवर्तन गर्नु परेको छ,’ मन्त्री बोहराले भने, ‘यस्तो अवस्थाका बाबजुद पनि सरकारले राजश्वको दर वृद्धि नगरी दायरा बढाएको कारण लक्ष्य प्राप्ति गर्न सफलता मिलेको हो।’

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा चालू आवको पहिलो चौमासिक अवधि सम्मको खर्चलाई गत आवको सोही अवधिको खर्चसँग तुलना गर्दा खर्च रकमका आधारमा ६४ दशमलव ४५ प्रतिशतले खर्च वृद्धि भएको उल्लेख गरिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को कूल बजेट ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रहेकामा कूल विनियोजितमध्ये चालूतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार खर्च भएको छ।

जुन विनियोजनको तुलनामा छ दशमलव ६५ प्रतिशत हुन आउँछ। गत आवको सोही अवधिमा चालूतर्फ पाँच दशमलव चार प्रतिशत मात्रै खर्च भएको थियो। गत आवभन्दा समीक्षा अवधिमा एक दशमलव २५ प्रतिशतभन्दा बढी खर्च भएको जनाइएको छ।

कूल विनियोजनमध्ये पूँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च भएको छ। यो विनियोजनको तुलनामा पाँच दशमलव ९३ प्रतिशत रहेको छ। गत आव २०७६/७७ को सोही अवधिमा पूँजीगततर्फ तीन दशमलव ५२ प्रतिशतमात्र खर्च हुन सकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्