सगरमाथाको उचाइ घोषणा गर्ने मन्त्री अर्यालको प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत

Padma_Aryal
  • 334
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेको छ। आज (बुधवार) बसेको मन्त्रीपरिषदको बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो।

भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेकी थिइन्। आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

उनले भनिन्, ‘सरकारले पहिलो पटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौ।’ सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।

सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो। मन्त्रीपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ।

सन् २०१९ मा चीनका राष्ट्रपति को नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ सँयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।

यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ हालसम्म कायम रहिआएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्