पर्यटन प्रवर्द्धनको प्याकेज तयार गर्न पर्यटन मन्त्रीको आग्रह

Yogesh_Bhattrai
  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तर्क्रियामा उनले कोभिड-१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन्।

व्यवसायीले पर्यटक आवागमन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए। व्यवसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागमन प्रवेशाज्ञा खुला गरे पनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरे।

उनले अन्य देशमा कोभिडपछि विमानस्थल नै बन्द भए पनि नेपालको विमानस्थल एक दिन पनि बन्द नभएको बताउँदै कोभिडपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार लाख मानिसले हवाईजहाज प्रयोग गरेको जानकारी दिए। मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित आन्तरिक उडान सुरु गरेपछि हालसम्म चार हजार ८०४ उडान काठमाडौँ बाहिर भएको, चार हजार ५५ काठमाडौँ भित्रिएको जानकारी गराउँदै ती उडानमार्फत एक लाख ७५ जना काठमाडौँबाट बाहिरिएका र एक लाख ६९ हजार काठमाडौँ भित्रिएको बताए।

मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुँदा पनि नेपालमा भने ४० प्रतिशत उडान भइरहेको बताए। उनले अन्तर्राष्ट्रिय उडानमा दक्षिण एसियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै भारतले सो पनि गर्न नसकेको उल्लेख गरे। नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेकोसमेत बताए।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटन खोल्नका लागि कार्य योजनासहित आउन व्यवसायीलाई आग्रह गर्दै तद्अनुरुप सामूहिक छलफलबाट निष्कर्षमा पुगिने बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्