महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु

pic
लोकपाटी न्यूज

काठमाडौं। महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिंदै बिहिबारदेखि नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ।

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट महान्यायाधिवक्ता  अग्निप्रसाद खरेलले उद्घाटन गरे। उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरु, सहन्यायाधिवक्ता लगायत ८० जनाको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड- १९ को महामारीका कारण अनलाईनमार्फत् नै राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराएका थिए।

यस्तै उनले हाल नेपालमा १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेकोमा जम्मा २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको तर्फ स्मरण गराउँदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरेका थिए।

कार्यशालाले महिला सरकारी वकीलहरुको नेतृत्व क्षमता विकासमा ठूलो टेवा पुग्ने तर्फ इङ्गित गर्दै कार्यशाला सफलताको शुभकामना दिए। उक्त कार्यशालाको अध्यक्षता सहन्यायाधिवक्ता रमादेवी पराजुलीले गरेकी थिइन् भने कार्यक्रमको उद्देश्यमाथि उपन्यायाधिवक्ता उर्मिला दाहालले प्रकाश पारेकी थिइन्। कार्यक्रम सञ्चालन सहायक न्यायाधिवक्ता रोशी भण्डारीले गरेका थिए।

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा सर्वोच्च अदालतका  न्यायाधीशज्यूहरु, माननीय महान्यायाधिवक्ताज्यू, नायब महान्यायाधिवक्ताज्यू तथा वरिष्ठ अधिवक्ताज्यूहरुको समुपस्थितिमा छलफल शुरु भएको छ। उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ। कार्यशाला भोली शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुनेछ।