ओलीलाई वलीको खुलापत्र : भ्रष्टाचारमा जयजयकार गरौँ ?

KP-Sharma-Oli
लोकपाटी न्यूज

प्रधानमन्त्री ज्यु, मैले सोचेको थिए तपाईं प्रधानमन्त्री बेनपछिका दिनहरूमा असाध्यै तपाईँको पक्षमा रङ्गीचङ्गी बनाएर लेख्ने र बोल्ने समय आउनेछ भन्ने लागिरहेको थियो। तर तीन वर्ष सम्म तपाईंको समृद्धिको पर्खाई गर्दागर्दै मन उकुसमुकुस भयो आशाहरू निराशामा बदलिँदै गए। मनमा लागेका केही तिता, मिठा जिज्ञासाहरुलाई रङ्गीचङ्गी नबनाई सामान्यरूपको खुल्लापत्र प्रस्तुत गर्न चाहन्छु।

सम्माननीय प्रधानमन्त्री ज्यु !

जनवादी पार्टीको धनवादी सरकारलाई आलोचना मात्र गर्‍यो भनेर नभन्नु होला। यो आलोचना मात्र होइन सामान्य नागरिकको मनमा उठ्ने जिज्ञासा पनि हो। नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको सबैभन्दा शक्तिशाली सरकार बनेको यो पहिलो इतिहास हो। अझ त्यसमा पनि एउटा पार्टीमा दुई पाइलट रहेको पार्टीको दुई पाइलट मध्यको तपाईं सरकार प्रमुख यति ठूलो अवसर प्राप्त गर्ने कम्युनिस्ट पार्टीको तपाईं पहिलो व्यक्ति हुनुहुन्छ। प्रधानमन्त्री बन्दाको सुरुवातमै समृद्ध नेपाल र खुसी नेपालीको नारा घोषण गर्ने प्रधानमन्त्री पनि तपाईं।

तर तपाईंले घोषण गरेको समृद्ध नेपाल सुखी नेपालीको नारामा दुखी नेपाली खुसी सरकारको रूपमा तीव्र विकास भएको अनुभूति हामीलाई भएको छ। खुसी, समृद्धि समाजवाद सबै बालुवाटारमा तपाईंको नजिक बस्नेहरूलाई आयो। बिचारमा जबज, जनवाद, समाजवाद जे भनिएको भए पनि कामकारबाही, धनवाद, मनवादका भए। ठूला गफ लगाउनु भयो। सानो-सानो काममा समय वर्वाद गर्नुभयो। तर तपाईं आफैँले घोषण गरेका काम समेत लागू भएनन्। देश धनी बनाउने सपना बाँड्दै हिँड्नु भयो। तर जनताले थाल थाप्ने गरी गरिब बन्दा समेत आधा पेट खाने व्यवस्था पनि मिलाउन सक्नु भएन।

दुई तिहाइ सरकारको हैसियत दलालपुजीवादसँग झुक्दै समृद्धिको हावा गफमा समय बिताउनु भयो। जनताको मन मस्तिष्कमा बस्ने कम्युनिस्ट सरकार बनाउन सक्नुभएन। कम्युनिस्ट सरकार देखेर दलाल पूँजीवादीहरु हाँस्दै छन्, गरिब दुखीहरू रुँदै तपाईंमाथि आक्रोश पोखिरहेका छन् तर गरिबको पिडामा बगेको आँसु पुछ्ने सरकार बनाउन सक्नुभएन। नारामा जबज, जनवाद, समाजवाद भनिएको भए पनि राज्य सत्तालाई थोरै मात्र भए पनि वर्गीय बनाउनु पर्थ्यो भएन। त्यसैको परिणाम आज जताततै निराशा छाएको छ।

वर्गीय धरातल छोडेर सत्ताले वर्ग परिवर्तन गरेको कम्युनिस्ट प्रधानमन्त्री तपाईं बन्नु दुःखद पक्ष हो। हामीले कम्युनिस्ट सरकार भनेर मख्ख पर्दै गर्दा सत्ता परम्परावादी बनेको कति हेरेर बस्नु नि ? तपाईं प्रधानमन्त्री हुँदै गर्दा थुप्रै अपेक्षा बाँडिएको थियो तर आज सबै सत्तावादको रमाइलो समृद्धिमा बित्दै गर्दा आम नागरिकमा असन्तुष्टि बढेको छ। प्रधानमन्त्री ज्युको यही कार्यकालमा मुलुकले ठूलै परिवर्तनको अपेक्षा मागिरहेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रको मिठो फलको स्वाद चाख्ने मन तमाम उत्पीडित वर्गलाई हतार थियो। त्यसकै निम्ति करोडौं मान्छेले त्याग र बलिदान गरेका थिए।

स्मरणहोस्, प्रधानमन्त्री ज्यु त्यही पुरानै रैथाने बुर्जुवाहरू व्यवस्था जोगाउनको निम्ति यति ठूलो बलिदान र आन्दोलन भएका होइन। तपाईं आफैँ १४ वर्ष जेल जीवन बसेको पनि त्यहीँ बुर्जुवा व्यवस्था फाल्न कै निम्ति थियो होला नि ? तपाईं प्रधानमन्त्री हुनुहुन्छ बुर्जुवा व्यवस्था छैन भनौं भन्ने! समाजवादी व्यवस्थाको स्वाद कस्तो आउँछ गन्ध समेत जनताले थाहा छैन। तपाईंको जनमत त समाजवाद प्राप्तिको निम्ति थियो। यो सरकारसँग आम नागरिकको अपेक्षा पहिल्यैको जस्तो थोरै बाचाले पुग्ने खालको कदापि थिएन। थुप्रै आशाहरू थिए तर दिनहरू बित्दै जाँदा तीन वर्ष पनि पुगेछ। यो तीन वर्ष निराशाको वर्ष भयो।

समृद्ध नेपाल सुखी नेपाली नारा-नारा मै सीमित भयो। समृद्ध नेपाल सुखी नेपालीको नारा काल्पनिक कथा जस्तो बन्यो। सुन्दा सुन्दर लाग्ने भोग्दा दुख कष्ट मात्र मिल्ने त्यो सुन्दर नाराले लाखौँ युवा युवाहरूले देश छोड्न विवश भए। कम्युनिस्ट सरकार बुर्जुवा भएको, भ्रष्ट भएको दलाली भएको सरकार बिग्रेको, पार्टी बिग्रेको उत्पीडित वर्गलाई धोका दिएको कदापि सामान्य होइन। जालझेल षड्यन्त्र त परम्परागत कालका सरकारको पालामै भोग्दै आएका दिनहरू थिए। तर कम्युनिस्ट पार्टीको दुई तिहाइ सरकारले पनि त्यहीँ गर्छ भन्ने विश्वास कतिपनि लागेको थिएन।

आज भोग्दै जाँदा त्यही परम्परावादी सत्ता भन्दा फरक भएको अनुभूति कहीँ कतैबाट पाउन सकेका छैनौं। परम्परागत रूपमा जनताको जनभावना नबुझ्ने संसदीय व्यवस्थालाई थोरै मात्र पनि जनताको जनभावना बुझ्ने बनाउन नसक्नु प्रधानमन्त्री ज्युको असफलता हो। करोडौं शुभचिन्तक रहेको विशाल पार्टीको दुइतिहाईको सरकार रहँदा रहँदै पनि बुर्जुवा पूँजीवादी सत्ता जसरी रहनुले थुप्रैपटकका असन्तुष्टि अहिले व्यक्त भइरहेका छन्।

प्रधानमन्त्री ज्युलाई तीन तहका सरकार जनमुखी छन् कि छैनन् भनेर समीक्षा गर्ने फुर्सद नै नभएको हो कि ? त्यसैले अब सिंहदरबार र बालुवाटारको नाम परिवर्तन गरेर शासक महल राख्दा उत्तम होला। जनताको पिर मर्का कहिले नबुझ्ने बालुवाटारको नाम सुन्दा पनि अब त दिक्क लाग्न थाली सक्यो। तपाईं १४ वर्ष जेल बस्दा सिंहदरबार र बालुवाटारलाई कस्तो बनाउने सोच्नु भएको थियो र आज कस्तो भयो! तपाईंलाई पनि दिक्क लाग्नुपर्ने हो। शोषण, अन्याय र अत्याचारको कारखाना बालुवाटार हो भन्ने थाहा हुँदा हुँदै पनि।

तपाईं प्रधानमन्त्री बनेपछि समाजवादको मिठो सपनाहरू नदेखिएको कहाँ हो र। तर हेर्दै र भोग्दै जाँदा बालुवाटारले त समाजवाद त पुरै दलाल दलाल पूँजीवादी समाजवादको रूपमा उल्टो छलाङमा कुदिरहेको देखिरहेका छौ। समृद्धिको बखान गर्नुहुन्छ तर सत्ता र शक्ति तपाईंसँग छ, समाजवाद ल्याउने बालुवाटार पनि तपाईंसँग छ। तर सरकार बाहिर बस्दा मात्र जनवाद र समाजवाद भनियो। सरकारमा गएपछि धनवाद र व्यक्तिवाद प्रमुख बनिरहने परम्परा मै रहनुभयो।

त्यसैले तपाईंको चिन्ता पार्टी, क्रान्ति, र समाजवादको निम्ति हो भन्ने। कम्युनिस्ट आदर्श र मूल्य मान्यतामा आधारित सरकारको कामकारबाही खोइ ? जबजका जन्मदाता मदन भण्डारीको हत्यारा कहिले पत्ता लगाउनु हुन्छ ? राजनीतिक रूपमा जबजको नाममा वैचारिक शक्ति संघर्षमा हुनुहुन्छ, त्यसो भए सरकार किन जबजको आधार चलाउन सक्नुभएन नि ? भ्रष्टाचार गर्दैन भ्रष्टहरूको मुख पनि हेर्दैन भनेको भनी हुनुहुन्छ। तर कयौँ नामका भ्रष्टाचार काण्डहरू बाहिर आएको आई गर्छ। अहिले त झन् भ्रष्टाचारले एसियामा नेपालले (एज्म्) गर्‍यो रे भन्ने समाचार आएको छ।

परम्पराकलामा देश भुट्ने जनता लुट्ने राजाहरूलाई जनताले भगवान् मान्नु पर्दो रहेछ। आज फेरि यस्तै भएको छ। भ्रष्टाचार कति छन् कति तर जति भ्रष्टाचार बढेपनि प्रधानमन्त्री ज्युलाई यो सरकारलाई सबै जयजयकार गरे हुन्थ्यो भन्ने लाग्दो रहेछ। भ्रष्टाचार बढ्दै गइरहेको छ नागरिकहरूले भ्रष्टाचार बिनाको सरकार खोजिरहेका छन्। श्रमिक, किसान र श्रमजीवीहरूले सरकारको कामकारबाही ठिक भएन भनी आलोचना गरिरहेका छन्। प्रधानमन्त्री ज्युले गुटका कुरा सुनेर सरकारको कामकारबाही उत्कृष्ट रहेको भनिरहँदा खुल्लामञ्चमा आधा पेट खाएर कठिन जाडोमा कठोर कठिनाइ सहेर नालीमा रात बिताउने ती श्रमिक यो देशका नागरिक होइनन् र ? हुन् भन्ने तपाईंको सरकार कहाँ छ।

ट्वाइलेट उद्घाटन देखी घर उद्घाटनसम्म पुग्ने हाम्रो देशका मन्त्रीहरूलाई श्रमिकहरू बेरोजगार बनेर गाँस बाँस गुमाउँदा समेत चिन्ता छैन। श्रम मन्त्रीलाई नेपालमा रोजगारीको वातावरण बनाउनु भन्दा पनि हरियो पासपोर्ट बोकाएर युवा शक्तिलाई मुगलान पठाउने काममै व्यस्त देखिनु हुन्छ। समग्रमा हेर्दा व्यक्तिगत स्वार्थपूर्तिको साधन भएको छ। यो सरकारको चिन्तन, चिन्ता र गन्तव्य जबज, समाजवाद, समृद्धि जे जे भनिएको भए पनि भ्रष्टाचारमा राजा र काङ्ग्रेसलाई समेत पछाडि पार्नुभयो। साँच्चिकै तपाईं प्रधानमन्त्री बन्दै गर्दाको त्यो तपाईंको ऊर्जा, तपाईंलाई अनुमोदन गरेको त्यो जनमत, ती सपनाहरू र आकर्षणहरू! आज सपना जस्तै बनेको छ।

प्रधानमन्त्री ज्यु, तपाईं गणतान्त्रिक नेपालको प्रधानमन्त्री मात्र होइन कम्युनिस्ट पार्टीको अध्यक्ष समेत रहेको हैसियतले आम नागरिकको अपेक्षाहरू तपाईंप्रति धेरै होलान् भन्ने सायद तपाईं आफैले नबुझेको जस्तो मलाई लाग्दैन। यस्तै यस्तैमा आज भोलि खुबै चर्चामा रहेको तपाईंको नारा समाजवाद र समृद्धिको मिठो भजन छताछुल्ल जताततै सुन्न पाइएको छ। सुन्दाको बेर सम्म आनन्द लाग्छ, निद्रामा पनि त्यही समाजवादको भजन गाइरहेका पलहरूको याद आउँछ। तर बिहानै उठेर टिभी, रेडियो, पत्रपत्रिका पढ्यो कि जतासुकै अर्बौं भन्दामाथिका भ्रष्टाचारका समाचार मात्र प्रसारण हुन्छन्।

समृद्धि नारा र नयाँ युगको घोषण कार्यान्वयन विहीन भयो। कार्यान्वयन हुनुपर्ने लागू हुँदैन। कार्यान्वयन नहुनुपर्ने भ्रष्टाचारका घटना जताततै कार्यान्वयन भएको समाचार तपाईं आफैँले सुन्नु भएकै होला। दुनियाँ संसारले नै गम्भीर कठिनाइको सामना गरिरहेको छ। हामीले त झन्डै बढी कठिनाइको सामना गरिरहेका छौ। यस्तो कठिन परिस्थितिमा यति साँच्चिकै तीन तह मिलेर लागेको भए असम्भव ठाउँ नै थिएन। तर यहाँ त्यसो भएन। बरु तीन तहले थप संकट निम्ताएर रातारात घोटाला गरेर मालिक बन्ने सपना देखिरहे त्यही अनुसार काम गरिरहे।

यो कठिन परिस्थितिमा कयौँ श्रमिकहरूले रोजीरोटी गुमाए कयौँ श्रमिकहरू रोग र भोगसँग लडिरहेका छन्। तर तीन तहमा सरकार श्रमिक मुखी नभएको प्रस्ट देखियो। तीन तहका सरकारको काम कारबाही सस्तो लोकप्रियता कमाउन मै केन्द्रित भएको देखिन्। यति ठुलो संकट आयो तर वैज्ञानिक ढङ्गले संकट व्यवस्थापन कसरी गर्ने भन्ने सम्म सोच्न सकिरहेका छैनन्। यति विषय पनि सोच्न नसक्ने सरकारबाट जनताले ठूलो अपेक्षा गर्नु भनेको त सपना देख्नु सरह भयो।

महामारीको बहाना बनाएर कयौँ श्रमिकको रोजीरोटी गुमाउँदै गर्दासमेत तीन तहका सरकार चुपचाप रहे। त्यहीबाट पनि प्रस्ट हुन्छ कि यो सरकार श्रमजीवी मारा फटाहरूको हित अनुकूल छ। फटाहाहरूले कमिसन दिन्छन् त्यसैलाई सरकारले संरक्षण गर्छ। श्रमिकले त के छ दिनु त्यही एउटा मत मात्र नै हो। त्यसैले श्रमिकको आवाज सरकारलाई मन पर्दैन। समृद्धि भनियो तिनै फटाहालाई। नयाँ युग भनियो तिनै ठक्दारलाई। साँच्चिकै प्रधानमन्त्री ज्यु तपाईं जनताको सरकार बन्नुभएको भए यति भयावह तरिकाले श्रमिकले रोजगारी गुमाउनु पर्ने स्थिति पनि आउने थिएन। स-साना बच्चा बच्ची बोकेर आँखा भरि आँसु झार्दै यो चिसो महिनामा भारतमा रोजगारी खोज्न जानुपर्ने पनि थिएन।

प्रधानमन्त्री ज्यु, रोजगारीको लागी देश छोड्ने नेपालीको आँखाबाट बगेको आँसुको जति बयान गरे पनि अपुग हुन्छ। समस्या तीन तहका सरकारमा छ। नाम श्रमजीवी वर्गको कामकाज बिलासी सुख सुविधा प्राप्तिको भएपछि जनताले कतिन्जेल सहेर बसलान्न। यहाँ संविधान, नियम, कानूनले कही कतै काम गरेको छैन। व्यक्ति राम्रो वा नराम्रो त्यसैमा निर्भर रहेर कामकाज भएका छन्। यदि संविधान र नियम कानून लागू भएको भए। तीन तहका सरकार समान ढङ्गले जनताको आवश्यकता पुरिपूर्ती गर्न अग्रसर हुन्थे। आज हामी कस्तो परिस्थितिमा आएका छौ भन्ने भित्र भित्र दलाल पूँजीवादले पकाएको खाना खाएर टन्न अघाएर सुविधाको अनेकौं स्वर्गमा रमाइलो गरेर बाहिर चैँ समृद्धि र समाजवाद भनेर भ्रम बाँडिरहेका छौ।

अन्त्यमा,
प्रधानमन्त्री ज्यु तपाईंलाई काँधमा बोकिरहेका तपाईंका विश्वासिलो पात्रहरूको कारणले तपाईंप्रति आम नागरिकमा असन्तुष्टि बढेको छ। सत्य कम बोल्ने भ्रम धेरै दिने सक्ने क्षमता भएका तपाईंका प्रभावशाली टिमले आफू बाहेक समाज र देश नै नदेख्ने जुन प्रवृत्ति छ। त्यसले तपाईंलाई दुर्घटना तिर पुर्‍याएर छोड्ने छन्। इतिहास सधैँ एउटै तरिकाले बनेका छैनन् र बन्दैन पनि। अन्त्यमा प्रधानमन्त्री ज्यु, आत्मालोचना गरेर आफ्ना कमजोरी सच्याउन सक्नुहोस्। श्रमिकका वास्तविक प्रधानमन्त्री बन्न सक्नुहोस्। शुभेच्छा।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्