प्रधानमन्त्रीले रअ प्रमुख भेटेपछि राेकियाे अयाेध्या निर्माणकाे काम

pic
  • 51
    Shares
लाेकपाटी न्यूज

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयल भेटेपछि अयोध्या निर्माणको काम रोकिएको छ।

चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयलको भ्रमणस“गै एकाएक रोकिएको हो।

त्यसअघि प्रधानमन्त्री ओलीले आगामी पुस ४ गते शनिबार विवाह पञ्चमीका दिन नयाँ नगरपालिकाको रूपमा ‘अयोध्या नगरपालिका’ र विशाल राम मन्दिर तथा उद्यान निर्माणको घोषणा गर्ने कार्यक्रम थियो ।

जनआस्था लेख्छ – यसको डिजाइन र नक्सा अन्तिम चरणमा पुगेपछि झण्डै १२ अर्ब रूपैयाँ बजेट छुट्याउने कामसमेत अघि बढेको बताइन्छ। तर सामन्तसँगको भेटपछि ती सबै कागजात र प्रक्रियालाई अहिले एकाएक सरकारी दराजमा थन्काइएको छ। हामीलाई प्राप्त नक्सा र डिजाइनको शीर्षकमा ‘प्रोजेक्टः श्री राम मन्दिर’ उल्लेख छ। उक्त नक्सा र डिजाइन काठमाडौं, हात्तिसारस्थित डेकोर स्टुडियोले तयार पारेको हो।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा चितवनको ठोरीस्थित अयोध्यापुरी नै रामको वास्तविक जन्मस्थान भएको बताएपछि सर्वत्र तरंग फैलिएको थियो। उत्तर प्रदेशस्थित अयोध्यालाई भारतले राम जन्मभूमि मान्दै आएको सन्दर्भमा प्रधानमन्त्रीको भनाइ धार्मिक वृत्तमा विवादास्पद समेत बनेको थियो। उक्त अभिव्यक्तिलाई भारतले औपचारिक रूपमा सामान्य भनेपनि अनौपचारिक ढंगले गम्भीर आपत्तिको रूपमा लिएको थियो।

उक्त घटनाक्रमको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले घोषणा गर्न लागेको अयोध्या नगरपालिका र निर्माण गर्न खोजेको राम मन्दिरलाई भारतको संस्थापन पक्षले आफूहरूसँग निहुँ खोजेको अर्थमा लिएको थियो। भारतसँग सम्बन्ध सुध्रिन थालेपछि प्रधानमन्त्री नयाँ नगरपालिका घोषणा र महत्वाकांक्षी राम मन्दिर निर्माणको योजनाबाट एक्कासी पछि हटेका बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्