संसदलाई जीवन्त र जनमुखी बनाउन आवश्यक छ : सभामुख सापकोटा

agni-sapkota
लाेकपाटी न्यूज

काठमाडौं। सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन्। संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँबानेश्वर काठमाडौंमा भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा सापकोटाले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने बताए।

हामी चुनौती र अवसरको बीचमा छौं भन्दै उनले संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै भएकोमा जोड दिए। संसदका समितिहरु बढी सक्रिय हुनुपर्ने भन्दै उनले संसद अधिवेशन नचलेको अवस्थामा समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन बनाउन सकिने बताए।
संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने सुझाव दिए।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोनालाई देखाएर अब संसदका गतिविधि रोक्न नहुने बताए। उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालनागर्दै संसद लगायत सबै गतिविधि निरन्तर गर्नुपर्ने उल्लेख गरे।

लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उनले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक पर्ने बताए।

उच्च स्वास्थ्य सतर्कता अपनाउँदै संघीय संसदको हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले संघले बनाउनु पर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उल्लेख गरे।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आह्वानको तयारी भइरहेको जानकारी दिँदै संसदले हालसम्मका कार्यमा कति प्रगति भयो समीक्षा गर्नुपर्ने सुझाव दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्