ओली कमरेड ! अध्यक्ष र प्रधानमन्त्री त्याग्नुस्

KP_OLi
लोकपाटी न्यूज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सामाजिक वर्ग संघर्षको नियमभन्दा बाहिर छैन। नेपाली वर्ग समाजभित्र सामाजिक अन्तरविरोध रहिरहँदासम्म पार्टीभित्र परसपर विपरीत वर्गका बिचार, दृष्टिकोण टक्राई रहन्छ। एउटा जीवित गतिशील पार्टीभित्र यो प्रक्रिया निरन्तर चलिरहन्छ। वर्ग संघर्ष प्रधान हुँदा, अन्तर संघर्ष सुषुप्त अवस्थामा रहन्छ। वर्ग संघर्ष गौण हुँदा, अन्तर संघर्ष बढी पेचिलो भएर आउँछ। बिचार संघर्ष बिना सही राजनीतिक कार्यदिशाको विकास हुँदैन।

मार्क्सवादी लेनिनवादी दृष्ट्रिकोणबाट हेर्दा अहिले नेकपाभित्रको अन्तरसंघर्षको मुख्य कारण बिचार दृष्टिकोण र कार्यशैली हो। पार्टी र सरकारका काम कारबाहीहरू सञ्चालन पद्धतिमा नेतृत्वको रवैया ठिक भएकोले अन्तरविरोध पैदा भयो। मार्क्सवादी लेनिनवादी चिन्तन, बिचार आचरण शैली पद्धतिमा आधारित भएर चल्ने हो कि ? गैर सर्वहारावादी चिन्तन, दृष्टिकोण, यथास्थितिवादी पूँजीवादी बिचार, आचरण, शैलीबाट प्रेरित भएर चल्ने ? आज पार्टीमा यही दुई परस्पर धारणा, चिन्तन शैली र प्रवृत्तिका बीचमा संघर्ष घनिभूत भएर गएको छ। मार्क्सवादी दृष्ट्रिकोणबाट हेर्दा पार्टीमा बिचार संघर्ष सकिएको दिन कम्युनिस्ट पार्टीको मृत्यु हुन्छ। तसर्थ नेकपाभित्रको अन्तरसंघर्ष स्वभाविक प्रक्रिया हो।

मार्क्सवादी लेनिनवादी कित्ताबाट हेर्दा पार्टीभित्र चल्ने सर्वहारावदी र गैरसर्वहारावादी, चिन्तन, बिचार र प्रवृत्तिको बीचमा चल्ने संघर्ष अपरिहार्य हुन्छ। समन्वय, सहमति र समझदारी सापेक्ष हुन्छ। वर्ग अन्तरविरोध समाप्त नहुँदासम्म कम्युनिस्ट पार्टीभित्र बिचार र प्रवृत्तिहरू रहिरहन्छ र तिनको बीचमा संघर्ष चलिरहन्छ। मार्क्सवादी लेनिनवादी हुनुको नाताबाट कम्युनिस्टहरू यो नियमबाट विचलित हुनुहुँदैन। वर्ग अन्तरविरोध रहँदासम्म पार्टी बन्ने र भत्कने प्रक्रिया चलिरहन्छ। पार्टी संगठन सञ्चालन गर्न बिचार र विधि चाहिन्छ। बिचार बिना विधि मात्र र विधा बिनाको बिचार भएर पार्टी चल्दैन। बिचार, संगठन र नेतृत्वबीचको सम्बन्ध अन्तर सम्बन्धित हुन्छ, अविभाज्य हुन्छ।

मार्क्सवादको प्रयोग रक्षा र विकाशका सन्दर्भमा लेनिनले रुसको कम्युनिस्ट आन्दोलन मुख्यतः बोल्सेभिक पार्टीभित्र विकास भएका प्रवृत्तीहरूलाई अंकित र किटान गर्दै पार्टी संगठन र व्यक्तिमा सर्वहारावादी कम्युनिस्ट चरित्र हाबी भइरहनका लागि चाहिने मार्क्सवादी सिद्धान्त, बिचार र राजनीतिक कार्यदिशा अनुरूप संगठनात्मक सिद्धान्त, विधि, पद्धति, आचरण, अनुशासन र शैली ठोस व्याख्यासहित जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिको विकास गर्नुभयो। संगठनलाई कम्युनिस्ट संगठन बनाई रहनका लागि व्यक्ति संगठन अधीनस्थ, कमिटीभित्र अल्पमत बहुमत अधीनस्थ र संगठन महाधिवेशन अधीनस्थ हुने कुरा प्रस्ट गर्नुभयो।

पार्टीभित्र सामूहिक निर्णय प्रणाली र निर्णय कार्यान्वयनमा व्यक्तिगत जवाफदेहिताको भूमिका हुन्छ भन्नुभयो। बैठकमा छलफल, जनवाद र निर्णय कार्यान्वयनमा केन्द्रीयता प्रधान हुन्छ भन्नुभयो। निर्णय अघि छलफलमा विविधता र निर्णयपछि कार्यान्वयनमा एकरूपताको अपरिहार्यता प्रस्ट गर्नुभयो। कम्युनिस्टहरू खारिएर स्पात जस्तै बन्नुपर्छ। कक्युनिष्ट फरक धातुले बनेका हुन्छन् भन्नुको अर्थ मार्क्सवादी प्रवृत्तिबाट अविचलित रहनु भनेको हो। गैरमार्क्सवादी आचरणबाट छुटकारा पाउन आफूलाई कसिलगाएर घोट्टी राख्नु पर्छ भनेको हो। सर्वहारा कम्युनिस्ट चिन्तन, बिचार आचरण र कार्यशैलीमा खिया लागेर पूँजीवादी विकृत दिशातिर स्खलित हुनुहुँदैन भनेको हो।

सोही विषय नेपाल कम्युनिस्ट पार्टीको हकमा पनि लागू हुन्छ। नेकपाको झण्डामुनी बसेर, विघटित भैसकेको एमाले जन्माउने कुरा, पूर्व एमालेका नेता कार्यकर्ता धूर्वीकृत हुन पर्‍यो भन्ने कुरा, जनताको बहुदलीय जनवादको प्रचार गर्न पर्‍यो, सूर्य चिन्ह हामीसँगै रहनुपर्छ भन्ने पार्टी एकता विरोधी गुटवाद, फुटवादका कुरा रोक्नुपर्छ। प्रचण्डलाई एक्लो पारेर कहिल्यै उठ्न नसक्ने गरी थिच्नुपर्छ, प्रचण्ड पक्षलाई घोक्रेठ्यक लगाउनु पर्छ, नीच भाव र घमण्ड छोड्नुपर्छ। मदन भण्डारीफाउण्डेसनको नामबाट देशव्यापी भइरहेका गुटगत गतिविधि रोक्नुपर्छ। पार्टी एकताको मर्मभाव, एकीकृत पार्टीको घोषित, बिचार विधि, कार्यदिशा मूल्य मान्यता तोडेर हिँड्ने अराजकता र गुटजन्य गतिविधि छोड्नुपर्छ।

अध्यक्ष कमरेड प्रचण्ड र सचिवालयका वरिष्ठ नेता कमरेडहरूलाई अपमानित गर्ने, होच्याउने, पदलोलुप्त भन्ने जस्ता गैरमार्क्सवादी घटिया अराजनीतिक गाली गलोज र लालछ्नाहरू रोक्नुपर्छ। कमरेड, पार्टी एकता सत्ता प्रप्तिको लागि बाटो मात्र हो त ? खुल्ला हृदयबाट छलफल गरौँ। कुरा, काम दुबैमा मार्क्सवाद, लेनिनवादले देखाएको बाटो हिँड्न ईमान्दार ढङ्गले लागौं। माओले भन्नु भएजस्तै खुल्ला र स्पष्ट बनौं, छलछाम र षडयन्त्र रोकौं, एकताबद्ध रहौं। मार्क्सवाद लागू गरौं, पूँजीवादी संसदीय यथास्थितिवाद होइन। भ्रष्टचारिलाई नजोगाऊ। सुशासन लागू गरौँ। नवउदारवादी दिशामा बहकिएर दलाल पूँजीवादलाई पोस्ने कमजोरी हटाउन पर्छ। सामाजिक न्यायसहित आर्थिक विकास समृद्धि हासिल गर्न आत्मनिर्भर राष्ट्रिय पूँजीको विकास गरौँ। नेपाली मौलिकताको वैज्ञानिक समाजवादी बिचार संश्लेषणको बाटोमा अगाडि बढौं। के पार्टी एकताको मुलधेय र मकसद यही होइन र ?

ओली कमरेड भन्नुहुन्छ, म पदमा रहन पाइन भने नेतृत्व नयाँ पुस्तामा पुस्तान्तरण हुनुपर्छ। बिचार संघर्ष र वर्ग संघर्षको दर्जनौँ शृङ्खलामा उत्रिर्ण भएर आएका परिपक्व नेतृत्वको पहिलो पुस्ता हाम्रो नेतृत्व बुढोभयो आजै बदल्नु पर्छ, पुस्तान्तरण गर्नुपर्छ जस्तो भावावेशपूर्ण बहस कति ठिक ? उमेरको हदले लिडरसिपको क्षमताको मापन हुँदैन। सोच्ने तरिका बदलेर आफूलाई राष्ट्र र वर्गहितमा समर्पित गर्ने, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी बहनको दायित्वको आत्मबोध, निर्णय क्षमता, परिमाणात्मक उपलब्धिको आधारबाट नेतृत्व विकास हुँदैजान्छ।

अहिले हामीसँग भएको नेतृत्वमा योग्यता, क्षमता, कार्य दक्षता, चतुर्यताको मात्रा प्रचुर छ। अध्यक्ष कमरेड प्रचण्ड लगायत सचिवालयमा रहनुभएका वरिष्ठ नेता कमरेडहरू यो पंक्ति सामूहिक निर्णयको पद्धतिबाट चल्न तयार भयो भने सचिवालयको सामूहिक टिमबाट समाजवादी आन्दोलनको दिशामा अगाडि बढाउन सकिन्छ। समाजवादी क्रान्तिको विकाससँगै पुस्तान्तरण जे जे भने पनि लिडरसिपको अर्को नयाँ सामूहिक लियर संस्थागत रूपमा विकास हुँदै जान्छ। समाजवादी आन्दोलनको विकाशबाट नयाँ लिडरसिप जनतामा स्थापित हुँदै जान्छ।

पार्टी सचिवालयको बैठकमा कार्यकारिणी अध्यक्ष कमरेड प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे यता र कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदनप्रति अध्यक्ष ओली कमरेडले सचिवालय बैठकमा गर्नुभएको कटाक्षपूर्ण अभिव्यक्ति धारणा हुबहु मिडियामा आएको छ। त्यसयता मिडियामा ओली समूहका नेताहरूको धारणा हेर्दा कमरेडहरू पार्टी एकता तोड्न उद्वेलित हुनुहुन्न ? अध्यक्ष ओली कमरेडको पुरै देवत्वकरण र कार्यकारिणी अध्यक्ष कमरेड प्रचण्ड र वरिष्ठ नेता कमरेडहरूको राक्षसी करण गर्न न्वारनदेखिको बल निकालेर बितड्तापूर्ण कुतर्कमा लागेको देखिन्छ।

प्रधानमन्त्री ओली मात्रै ठिक, एकता प्रेमी, एकता जोगाउन ईमान्दार, भनेर जति सुगा रटान गरे पनि पार्टी एकताप्रति उहाँ कति सेन्सेटिभ हुनुहुन्छ भन्ने कुरा पछिल्ला अभिव्यक्ति र क्रियाकलापहरूबाट छ्याङछ्याङती भएको छैन र ? एकता रक्षाका लागि उहाँ मात्र सेन्सेटिभ हुनुहुन्छ भन्ने आग्रह र अध्यक्ष कमरेड प्रचण्ड ‘पार्टी एकताको नक्कली आमा हो, एकतारूपी बच्चा चिरेर मार्न चाहन्छन्’ जस्तो पूर्वाग्रहका सोच राख्नेहरूले भनेका छैनन् र ? कमरेड प्रचण्ड, माधव नेपाल लगायत पार्टीका अरू वरिष्ठ नेता कमरेडहरू एकता विरोधी गतिविधिमा लागे, पार्टी एकता संकटमा पारे जस्ता वाहियात कुतर्कको एकांकी बिस्कुन हालेर दुनियाँलाई कति दिन भ्रमित पार्न सकिन्छ ? उहाँहरूले भनेअनुसार प्रधानमन्त्री ओली पार्टी एकताप्रति साँच्चै चिन्तित हो भने, पार्टी एकता साँच्चै जोगाउन चाहनुभएको हो भने, उहाँले पार्टी एकता देखि अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा आफूबाट भएका गम्भीर कमीकमजोरीहरूलाई गहिरो आत्मस्विकार्योक्ती गर्नुपर्छ कि पर्दैन ? आजसम्म त्यो आत्मबोधको छनक उहाँमा देखिएको छैन।

उहाँले बिना सर्त खुलस्त रूपमा आत्मसमिक्षा, (रिलाइजेसन) र आत्मालोचना गर्नुपर्छ। आफूबाट भएका गम्भीर गल्तीहरूबाट पार्टी र सरकार सञ्चालनमा पुगेका क्षतिहरूप्रति गहिरो पक्षपात गर्नुपर्छ। बिना पूर्वाग्रह आफ्नो भाग परेको गल्ती कमजोरी सिरोधर गरी पार्टीले गर्ने निर्णय अनुसार त्याग गर्नुपर्छ। अध्यक्ष ओली कमरेडबाट यो स्प्रिट कायम भयो भने उहाँले भन्नुभएको जस्तो ‘पार्टी एकताको सच्चा आमा मनै हुँ, सक्कली आमाले आफूले जन्माएको बच्चा चिर्न दिदैन’ भन्ने दिव्य बचनको सत्यता व्यवहारमा अलिकता पुष्टि होला। होइन भने पार्टी एकताको सक्कली आमा कमरेड प्रचण्डले पटक पटक एकतारूपी बच्चालाई बचाउन गर्नुभएको अतुलनीय त्यागलाई ओली कमरेडले निचा देखाउँदै गरेको अपमानको फेहरिस्तको हिसाब हुनु पर्दैन र ?

पार्टी एकताको धेय, लक्ष, उद्देश्य, मूल्य, मान्यता, विधि, विधान र पद्धतिको आत्मबोध, एकताको मर्म भावनामा जोगाउन प्रचण्डले हर कोसिस गर्दै आउनु भएको छ। पार्टी विधानले समान र बराबर हैसियतको व्यवस्था गरेको पार्टीको एउटा अध्यक्ष मालिक र अर्को अध्यक्ष कारिन्दा जस्तो, एउटाको कुरा सधैँ अकाट्य सत्य भइरहने अनि अर्कोले बोलेको सुन्नसमेत तयार नहुने प्रवृत्ति कति सहि, कति गलत त्यसको मुल्यांकन हुनुपर्छ। समान हैसियत भएको अर्को अध्यक्षले आँ पनि गर्न नमिल्ने, बोल्ने बित्तिकै असहयोग गरेको, कुण्ठा पोखेको, म कहाँ ३३ लाख भोट पाएको कहाँ तिमि ११ भोट पाएका तुलना हुन्छ भन्ने दम्भ देखाउने प्रवृत्ति त देखाउनु भएको जगजाहेर छ। के यही हो त पार्टी एकताको मर्मभाव ?

पार्टी अध्यक्ष कमरेड प्रचण्डले पार्टी एकता रक्षाका लागि ऐतिहासिक पार्टी एकताको समझदारी, सम्झौता र निर्णयअनुसार आलोपालो प्रधानमन्त्री चलाउने निर्णय त्याग गर्नुभयो। तर उहाँप्रति पार्टीको कार्यकारिणी अध्यक्ष भनिएको हप्तादिन पनि नबित्दै दोस्रो दर्जाको सेरिमोनियलको जस्तो व्यवहार गरियो। कुर्सी तल माथि सार्ने रमिता देखाइयो। पार्टी एकताको रक्षका लागि यो भन्दा अपमान के सहन पर्ने प्रचण्डले ? यसलाई उल्ट्याएर अनुमान गरौं त। प्रचण्डको ठाउँमा ओली हुनुभएको भए के गर्नुहुन्थ्यो होला ? पार्टी एकताको रक्षाको लागि एकपछि अर्को गरेर प्रचण्डले त्यागको कीर्तिमान बनाउनु भएको छ। यता ओली कमरेडमा भने अझै रूपान्तरणको छनक देखिँदैन।

अध्यक्ष कमरेड प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन माथि अध्यक्ष केपी ओलीले सचिवालय बैठकमा राख्नु भएको धारणा हुबहु बाहिर आएको छ। ओली कमरेडले राजनीति प्रतिवेदन अस्वीकार गरी आपत्ति जनक लालछनायुक्त अभियोग पत्र फिर्ता गर्नुपर्छ भनेको कुरा मिडियामाआउदा चाहिँ त्यो वैधानिक राजनीतिक पद्धति हुने हो ? सचिवालयका बहुमत सदस्य ५ जना कमरेडहरूको सहमतिमा आएको राजनीतिक प्रतिवेदन चाहिँ अराजनीतिक कसरी भयो ? प्रतिवेदन पार्टीका नेता कार्यकर्तामा जाँदा चाहिँ त अवैधानिक र अराजकता रे ! अनि केही समय अघि प्रचण्डविरुद्ध भारतको दलाल भनेर सडकमा नारा जुलुस गर्न लगाएको आधारहीन उच्छिङखलगतिविधि चाहिँ वैधानिक, न्यायोचित र राजनीतिक ? प्रचण्डमाथि लगाइएका यस्ता आधारहीन लालछाना र आरोपहरुको पुष्टि चाहिँ गर्नुपर्छ कि पर्दैन ?

पार्टीलाई थाहानै नदिईकन भारतीय खुबीया एजेन्सी प्रमुखसँग एक्लै भेट्दा चाहिँ त्यो न्यायोचित, देशभक्तिपूर्ण राष्ट्र सेवा राजनीति हुने, म ह्याकुलाले पेलिरहन्छु तिमीहरूले नाइँ नास्ति र ऐया आस्थु, गर्न पाउँदैनौ भन्या जस्तो जङ्ग बहादुर शैलीको हुकुमी तन्त्र प्रकट गरी अराजनीतिक तरिकाबाट पार्टी एकताको मर्मभावको कदर हुँदैन। एक हातले ताली बज्दैन भनेको जस्तो, पार्टी एकताको रक्षाका लागि एकतापछिका पार्टीले गरेका निर्णयहरूको सम्मान जनक पालना हुनु मुख्य हुन्छ। कमरेड प्रचण्डले पार्टी एकताको रक्षाका लागि एकपछि अर्को गरी गरेका त्यागको कदर र सम्मान हुनुपर्छ। पार्टी एकताको मर्मभाव भनेको एउटाको त्यागै त्याग र अर्कोको भागमा रजाँयीनै रजाँई होइन। प्रचण्डको त्यागको कदमा उभिने विशाल हृर्दय देखाउन ओली कमरेड तयार हुनुपर्छ। पार्टी एकता रक्षाका लागि वरिष्ठ नेता माधव नेपाल लगायत पार्टीका वरिष्ठ कमरेडहरूले गर्नु भएको त्यागको सम्मान र कदर हुनुपर्छ। ओलीले जिम्मेवार पूर्वक उहाँभित्र रहेको आत्मकेन्द्रत व्यक्तिवादी समस्याबाट उत्पन्न उपरोक्त समस्याको जिम्मेवारी लिने ईंमान्दारिता देखाउनु हुन्न भने उहाँ नेकपाको नेतृत्वबाट हट्नु पर्छ। उहाँले त्याग गर्न सक्नु भयो भने पार्टी एकताको रक्षा हुन्छ। पार्टी एकताको असल आमा मध्ये एउटा आमा उहाँ हो भने विषय व्यवहारबाट पनि पुष्टि गर्नसक्नु पर्छ।

आशा गरौँ, पार्टीमा अहिले उत्पन्न समस्याको निकास दिन आत्मालोचना र कमिकमजोरी स्वीकार गरी अध्यक्ष ओलीले पार्टी एकताको रक्षाका लागि एतिहासिक भूमिका खेल्नु हुनेछ। आम नेता कार्यकर्ता तथा जनताको अपेक्षा यहि हो। यहि छ। तर नेतृत्वबाट पटक पटक हुने पार्टी निर्णय उलंघनले आम नेपालीलाई निरास बनाएको छ। आफू अनुकुल परिस्थिति नभए पार्टी निर्णयमा सहमति जनाउने तर त्यसको कार्यान्वयन नगर्ने प्रवृत्तिबाट पार्टीपंक्ति आजित भइसकेका छन्। आत्मसमीक्षा र जवाफदेहितामानै समस्याको छिनोफानो अन्तर्निहित छ। पार्टीको शीर्ष नेतृत्व सबैले आत्मसमिक्षा गर्नुपर्छ। आफ्नो भागमा परेको कमजोरी स्वीकार गर्नुपर्छ। अनि त्याग र जवाफदेहितामार्फत समाधानको बिन्दुमा पुग्नुपर्छ। यसरी पार्टीमा विचार, विधि, पद्धति र राजनीतिक संस्कार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने लाग्छ। र अहिलेको मुख्य आवश्यकता पनि यही हो। पार्टी एकता रक्षा र सुदृढ एकताको मार्ग पनि यही हो।

अन्यथा आत्मसमीक्षा, आत्मस्वीकारोक्ति, आत्मआलोचना, जवाफदेहिता र त्यागको स्प्रिट नेतृत्वमा भएन भने पार्टी एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा नयाँ एकतामा बदल्ने विषयमा अवाञ्चित हुनेछ। नेतृत्वले पार्टी एकता रक्षामा इमान्दारिता देखाउनु जरुरी छ। व्यक्तिवादी सोच, दम्भ, अहंकारबाट अध्यक्ष ओली बाहिर निस्कन सक्नुभएन भने सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट विधि संम्वत पदबाट हटाएर पार्टी र सरकारलाई नयाँ गति दिएर पार्टी अगाडि बढ्नुको अर्को विकल्प रहँदैन। अब पनि एउटा व्यक्तिको आत्मरतिमा अनिर्णयको बन्दी भएर देश, जनता र पार्टीको भविष्यलाई अन्धकारमा धकेल्न सकिँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्