नागरिकस्तरबाटै उठ्न थाल्यो प्रधानमन्त्री ओलीको राजीनामाको माग

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचार सम्बन्धी आरोप लगाएपछि उनको राजीनामा माग भइरहेको छ। कानुन व्यवसायीहरू तथा पूर्व प्रहरी अधिकारीहरूसमेत रहेका नागरिकहरूको एउटा समूहले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

शुक्रवार संयुक्त विज्ञप्ति जारी गरेर सो समूहले ट्रान्सपरेन्सी इन्टरनेसनल जस्तो अन्तर्राष्ट्रिय संस्थाले भ्रष्टाचारमा लागेको तथ्य सार्वजनिक गरेको अवस्थामा प्रधानमन्त्री ओलीले पदमा बसिरहनु औचित्यपूर्ण नहुने उल्लेख गरेको छ। ट्रान्सपरेन्सीले यसै हप्ता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा एसियाली मुलुकमध्ये नेपालमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको ठहर गरेको थियो।

प्रतिवेदनमा नेपालका ५० प्रतिशत जनताले राष्ट्रपति र प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न हुने दाबी गरेको उल्लेख छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले पदमा बसिरहने नैतिकता गुमाएको सो समूहको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ।’

ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहने हो भने नेपालको अवस्था झन् जटिल बन्ने नागरिक अगुवाले दाबी गरेका छन्। उनीहरूले ओलीले राजनीतिक वैधता गुमाइसकेको अवस्थामा संवैधानिक वैधताले मात्र सत्ता टिकाउन नसक्ने कुरा ख्याल गरिनु पर्ने बताएका छन्।

‘विद्यमान विषम परिस्थिति अझ जटिलतातर्फ उन्मुख भई त्यसको सिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै, हाल विद्यमान विषम परिस्थितिका सम्बन्धमा सबै क्षेत्रका नागरिक समाज, बुद्धिजीवी तथा आम जनताले समेत व्यापक रूपमा विचार विमर्श गरी संवैधानिक मूल्य मान्यता बमोजिमको निकासका लागि आआफ्नो क्षेत्रबाट पहल गर्न समेत हामी अपिल गर्दछौँ।’

हस्ताक्षरकर्ता अधिवक्ता एवं ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्ष श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरे, पूर्वप्रहरी एवं नागरिक अभियन्ता रमेशप्रसाद खरेल, अधिवक्ताहरू इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र पूर्व सभापति, एम्नेष्टी इन्टरनेसनलका पूर्वअध्यक्ष राजन कुइँकेल रहेका छन्।