ओलीलाई काउण्टर दिन प्रचण्ड-नेपाल पक्षको भेला

Prachanda_Nepal
  • 1.9K
    Shares
लोकपाटी न्यूज

इटहरी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म पुग्न थालेको छ। इटहरीको एक होटेलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय मोरङ जिल्लाभरका प्रदेश कमिटी सदस्यहरू भेला भएका छन्। उक्त भेलाले अबको लडाई वारपार गर्नुपर्ने निचोड निकालेको छ।

आफूनिकट नेताहरू भेला हुने र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिने प्रचण्ड-नेपाल पक्षीय एक नेताले बताए। ‘साथीहरूले अब मिल्नै नसक्ने निष्कर्ष निकालेका छन्,’ सहभागी ती नेताले भने, ‘पहिलो चरणमा प्रदेश कमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ।’

मोरङ जिल्लाका अगुवा नेताहरू समेत सहभागी उक्त भेलाले अध्यक्ष केपी शर्मा ओली असहिष्णु भएको र जहिले हेपाहा व्यवहार गर्ने भएकाले गर्दा अब मिलेर जान नसक्ने निचोड निकालिएको सहभागी ती नेताको भनाई छ। उनका अनुसार भेलाले ओली पक्षलाई कित्ताकाट गरेर अघि बढ्नुपर्ने र कुनै पनि हालतमा मिलेर जान नसकिने निष्कर्ष निकालिएको छ।

ओली पक्षीयबिरुद्ध बैठकमा पूर्व एमालेका नेता बढी आक्रामक ढङ्गले प्रस्तुत भएका थिए। तर केही नेताहरूले भने मिल्न सकिन्छ भने मिलेरै जानुपर्नेमा जोड दिएका थिए। भेलामा मोरङ जिल्लाभर आफू पक्षीय नेता कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो। भेलामा सहभागी नेताले भने, ‘भेलामा प्रचण्ड-नेपाल पक्षीय नेता कार्यकर्ताको बहुमत रहेको निष्कर्ष निकाल्यौं।’

भेलाले अब १३ गतेपछि प्रदेश नं. १ का मन्त्री, सभासद् र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ। भेलामा सहभागी नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले मिलेर अघि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताए। उनले भने, ‘पार्टीलाई विधि र प्रक्रियागत ढङ्गले अघि बढाउनुपर्छ र फुट्नु हुँदैन भनेर सुझाव दिए।’

भेलामा केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका करिब ५० जना नेताहरूको सहभागिता रहेको बताइएको छ। पार्टीको विवादबारे साथीहरूले छलफलमा बोलाएपछि आफू पनि सहभागी भएको ऊप्रतिले बताए। ‘साथीहरूले पार्टीको बारेमा चिन्ता लिएपछि हामीलाई बोलाएर गएका हौ,’ उनले भने।