पाँच वर्ष यही सरकार चल्छ : मन्त्री अर्याल

Padma_Aryal
लोकपाटी न्यूज

स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्। आइतबार वालिङ– १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्।

मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन्।

मन्त्री अर्यालले भनिन्,‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन्। यसमा कुनै दुविधा छैन। ओली सरकारको विकल्प छैन।’

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन्। कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाइ थियो। ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन।

दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ। बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन्। तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन्। ‘जनताको चाहनाले दुई ठूला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन्, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन्। यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो।’

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्। जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताइन्। मन्त्री अर्याल भनिन्, ‘प्रत्येक घर–घरमा धारा र शौचालय पु¥याउने योजनाका साथ हामी अगाडि बढेका छौँ। जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन्। घर–घरमा धारा जडान हुनेछ।’

४३ करोडको खानेपानी योजना अन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन्। त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आइतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी हुन्। यी ४ योजना बाहेक वालिङ १, त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने, पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुँन बाँकी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्