‘ओली-प्रचण्ड नमिले मुलुकमा विदेशी चलखेल बढ्छ’

Pradip-Giri
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीले नेकपाभित्रको जारी विवाद समाधान नभए मुलुकमा विदेशी चलखेल बढ्ने बताएका छन्। नेता गिरीले विदेशी चलखेल रोक्न पनि नेकपा दुई अध्यक्ष मिल्नुपर्ने बताएका हुन्।

उनले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमतिमा अगाडि बढ्न आग्रह पनि गरे। अध्यक्षलाई मिल्न नेकपाका नेता कार्यकर्ताहरूले दबाब दिनुपर्ने उनको सुझाव छ। नेता गिरीले राजनीतिक स्थायित्वको मुद्दा उठाएका कारण नेकपाले निर्वाचनबाट झन्डै दुई तिहाइको बहुमत पाएको स्मरण गराएका छन्।

उनले भने, ‘नेकपा फुट्नु हुँदैन। ओली र दाहाल मिल्नुपर्छ। उहाँहरू मिल्नुभएन भने मुलुकमा विदेशी हस्तक्षेप बढ्छ। विदेशी चलखेल हुन्छ।’ नेपाली कम्युनिस्ट आन्दोलनमा ओली र दाहालको ठूलो योगदान रहेको उल्लेख गर्दै नेता गिरीले पदका लागि झगडा नगर्न आग्रह गरे।

सचिवालयको बैठकमा पेस भएका बेग्ला-बेग्लै राजनीति प्रतिवेदनमा दुवै अध्यक्ष आ-आफ्नो अडान यथावत् रहे स्थिति असामान्य हुन सक्ने संकेत आफूले पाएको उनले बताए। पार्टी एकता रक्षाको लागि कार्यकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुने भएकोले नेकपाका हरेक कार्यकर्ताले एकता रक्षामा भूमिका खेल्नु पर्ने उनको भनाई छ।

विगतमा काँग्रेसभित्र विवाद हुँदा गणेशमान सिंह, कृष्णप्रसाद सिटौला, गिरिजाप्रसाद कोइरालालाई पार्टीमा मिल्न नेविसंघले दिएको दबाब स्मरण गर्दै उनले नेकपा कार्यकर्तालाई पनि दबाब सिर्जना गर्न सुझाव दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्