ओलीले चुनाव जित्ने नदेखेरै राप्रपासँग गठबन्धन गरेका हुन् : बेदुराम भुसाल

Beduram-Bhusal-UML-3
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य बेदुराम भुसालले तत्कालीन चुनावी मोर्चाका कारण नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार सञ्चालन गर्न सम्भव भएको कुरा बिर्सन नहुने बताएका छन्। जनताले तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीचको मोर्चालाई समर्थन गरेका कारण कम्युनिस्टको सरकार सञ्चालन गर्न सम्भव भएको उनले बताए। भुसालले एक अन्तर्वार्तामा पार्टीको कुनै एक व्यक्तिको मात्र लोकप्रियताका कारण नेकपा सरकार सञ्चालन गर्ने ठाउँमा नपुगेको स्मरण गराए।

प्रधानमन्त्रीले त मेरो लोकप्रियता देखेर मत आएको हो भन्ने आशय व्यक्त गरिरहनुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँ लोकप्रिय नै हो र जनताले उहाँलाई प्रधानमन्त्री नै चाहेका हुन् भने नेकपा एमालेको बहुमत किन आएन ? नेकपाको एकल बहुमत आएको भए उहाँले पार्टी एकता गर्नुहुन्थ्यो र ? गर्नुहुने थिएन भनेर उहाँले एक अन्तर्वार्तामा भनिसक्नुभएको छ। एउटै संसदीय दल बनाएपछि फरक दलको रूपमा समर्थन फिर्ता लिन नसक्ने स्थिति आउँछ भनेर एकता गरेको त प्रस्ट भनिसक्नुभएको छ नि। त्यसैले यो एकता प्रधानमन्त्री पदको लागि गरिएको थियो भनेर उहाँले त प्रष्टै भन्नुभएको छ।’

भुसालले प्रधानमन्त्री ओलीमा आफ्नै निर्वाचन क्षेत्रमा चुनाव जित्ने आट नरहेको आरोप लगाएका छन्। उनले भने, ‘उहाँले झापामा किन राप्रपासँग सम्झौता गर्नुभएको थियो ? उहाँले आफैँ हार्ने सम्भावना देखेर होला नि राप्रपालाई एउटा सिट दिनुभएको। नत्र राप्रपा शून्य हुने स्थिति थियो। त्यति साह्रै लोकप्रिय हुनुहुन्थ्यो भने उहाँले किन तालमेल गर्नुभएको ? देशभरिको कुरै छाडिदिनुस्, आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्ने आँट नभएको लोकप्रियता थियो भने गफ गरेर हुन्छ र ? उहाँले राप्रपासँग तालमेल गरेर बल्ल जितेर आउनुभएको हो। यथार्थ यही होइन ?’

उनले अगाडि भनेका छन्, ‘उहाँ लोकप्रिय भएको भए त उहाँले झापामा राप्रपासँग सम्झौता गर्नुपर्ने स्थिति नहुनुपर्ने। त्यस्तै, एमालेले ६० प्रतिशत सिटमा चुनाव लड्दा ५० प्रतिशत त ल्याउनुपर्ने। किन नल्याएको त ? लोकप्रिय भए त उहाँको आह्वानमा सबै उम्मेदवारले जित्नुपर्ने होइन ? किन जितेन ? किनकि, उहाँ लोकप्रिय भएको होइन। तर यसैबिच मोर्चाको बहुमत किन आयो ? किनकि, मोर्चा लोकप्रिय थियो। तर मोर्चाको लोकप्रियतालाई उहाँले व्यक्तिगत बनाउनुभएको छ। यही हो व्यक्तिवाद, व्यक्तिवादी अहंकार।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्