अब ओलीसँग कुनै सम्झौता हुँदैन, राजीनामा दिनैपर्छः देवेन्द्र पौडेल

Debendra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्। राजधानीमा आयोजित साक्षात्कारमा पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो। ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता हुँदैन,’ पौडेलले भने। पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए। ‘पार्टी फुटाउनु हुँदैन, एक बनाउनै पर्छ,’ उनले भने।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ। उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए। ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्छ,’ पौडेलले भने। पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए। ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए।

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई थियो। त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाई छ। प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए। छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ। पौडेलले भने, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्