कार्यदल बनाउने ओलीको प्रस्ताव अस्वीकृत

Nekapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कार्यदल बनाउने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा ओलीले रामबहादुर थापा ‘बादल’मार्फत कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए।

नेकपा स्रोतका अनुसार ओलीले थापाले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने बताएका थिए। उनको प्रस्तावमा महासचिव विष्णु पौडेलले समर्थन जनाएका थिए। त्यसपछि ओलीले पार्टीमा उत्पन्न संकटको समाधान गर्न उक्त प्रस्ताव राम्रो भएको बताएका थिए। उनले कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए।

‘धेरै राम्रो कुरा गर्नुभयो। यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ ओलीको भनाई उदृत गर्दै नेकपाका स्रोतले भन्यो। तर उपाध्यक्ष बामदेव गौतमले भने उक्त प्रस्तावको प्रतिवाद गरेका थिए। उनले उक्त कार्यदलमा नबस्ने बताएका थिए। ‘म यस्तो कार्यदलमा बस्दिनँ म फरक प्रस्ताव बोकेर आएको छु। यो कार्यदलले केही हुँदा पनि हुँदैन,’ गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो।

सचिवालय बैठक अघि नेकपाका कार्यकारी अध्यक्ष र पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो। भेटमा ओलीले आफू बैठकमा उपस्थित नहुने राय राखेका थिए। तर कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले सके सम्म बैठकमा उपस्थित हुन अनुरोध गरेका थिए। नेकपा स्रोतका अनुसार प्रचण्डले तपाईँ बैठकमा उपस्थित नभए पनि बैठक अगाडि बढाउने भनेका थिए।

‘तपाईँ बैठकमा आए आउनुहोस्, नभए नआउनुहोस्। अब हामी निर्णय गरेर अघि बढ्छौं। पार्टी बैठक अगाडि बढाउँछौँ,’ प्रचण्डले भनेका थिए। ओलीले बैठकबारे आफू निकट नेताहरूसँग पनि छलफल गरेका थिए। उनी निकट नेताहरूले पनि ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए। ‘तपाईँ बैठकमा उपस्थित नहुँदा हामीलाई पनि अप्ठेरो पर्छ। हाम्रो भविष्य पनि धरापमा पर्छ। अब बैठकमा उपस्थित हुनुको विकल्प छैन।’ ओली निकट नेताहरूले भनेका थिए।

आफू पक्षका नेताहरूबाट पनि बैठकमा उपस्थित हुन प्रेसर पार्टीमा अल्पमतमा परेका ओली आजको सचिवालय बैठकमा उपस्थित हुन बाध्य बनेका थिए। आजको सचिवालय बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो। तर बैठक विना निष्कर्ष टुंगिएपछि अब पार्टीमा उत्पन्न संकट पार्टी कमिटीबाट निवारण गर्ने निर्णय सचिवालयले गरेको छ। अब दुवै अध्यक्षको प्रतिवेदनमाथि भोलिदेखि सुरु हुने स्थायी कमिटीमा छलफल हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्