केपी ओलीमाथिको हमला आफ्नै घुँडामाथिको बञ्चरो हुनसक्छः बाँस्कोटा

Gokul Prasad Baskota
लोकपाटी न्यूज
0 Shares

बनेपा। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै संघसम्म पर्याप्त अवसर र मौका दिएको बताए।

त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उनले भने। अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरूको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्र सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए।

सो क्रममा उनले समाजवाद लागू भयो कि भएन भन्ने विषयमा नभएर त्यसतर्फ उन्मुख छ कि छैन भन्ने बहस मात्रै गर्न नेतृत्वलाई आग्रह गरे। ‘समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकको तुलनामा हामी पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरियो भन्ने अवस्थामा देशले समाजवादोन्मुख अर्थतन्त्र, त्यसको उत्पादन सम्बन्ध र वितरण प्रणालीतर्फ हामी कहाँ छौँ र कति गरिरहेका छौँ भन्ने बुझ्न आवश्यक छ,’ उनले भने।

आफ्नो शक्ति र महत्त्व बुझ्न नसकेर उज्यालोबाट अन्धकारतिर जान खोज्नु शक्ति छिन्नभिन्न बनाउने र देशमा केही हुन्छ भन्ने आशा, विश्वास र भरोसालाई धराशायी बनाउने खालको गल्ती गर्दै त छैनौँ भन्ने प्रश्न गर्दै उनले नेतृत्व तहमा भएको विवादप्रति इङ्गित गर्दै भने, ‘कुनै कमजोरीका निम्ति एउटा सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँ।’ त्यसरी गरेको हमला आफ्नै घुँडामाथिको कडा बञ्चरो हुनसक्ने भएकाले त्यसतर्फ नेतृत्वले सोच्न उनले सुझाव दिए।

कार्यक्रममा उनले नगरपालिकाले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, पुललगायतका भौतिक संरचना निर्माण गर्ने एउटा काम सकेकाले अब कुन ठाउँमा घर बनाउने र कुन ठाउँमा उत्पादनका लागि खेतीयोग्य ठाउँ बनाउने तथा कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने कुराका योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाले त्यसतर्फ अगाडि बढ्न सुझाव दिए। त्यससँगै सडक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा अब बिपी राजमार्गले दिन सक्ने लाभबाट रोजगारी के सिर्जना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै त्यसतर्फ योजना बनाएर अघि बढ्नसमेत उनले नगरपालिकाको नेतृत्वलाई सुझाव दिए।

कार्यक्रममा सांसद गङ्गाबहादुर तामाङले नेकपाको दुई तिहाइको सरकारले केही पनि गरेको छैन भन्ने बजार हल्ला विपक्षी दलले अत्तालिएर गरेको भ्रामक प्रचार मात्रै भएको बताउँदै विकासका पूर्वाधार निर्माण भइसकेको बताए। पूर्वमन्त्री रेसम लामाले नगरपालिकाको नेतृत्वले जस्तोसुकै विवादको विषयलाई पनि सामना गरेर इँटाभट्टा हटाउनेदेखि अन्य विकास निर्माणका काममा मोलेको चुनौतीका कारण आज भौतिक विकासले फड्को मारेको बताए।

वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले नगरपालिकाले बजार क्षेत्र मात्रै हेरेर सम्पन्न नगरपालिकाको कुरा गर्न नमिल्ने बताए। नगरभित्रका विकट बस्ती र त्यहाँका नागरिकको जीवनस्तर उकास्ने खालका काम गर्दै अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए। अर्का प्रदेशसभा सदस्य रत्न ढकालले नमोबुद्ध नगरपालिकाले गरेको विकास निर्माणको कामको प्रभाव नजिकका नगरपालिका र गाउँपालिकामा समेत पर्ने भएकाले नगरपालिकाले खेलेको भूमिकालाई फरक ढङ्गले बुझ्न र हेर्न आवश्यक रहेको बताए। त्यसका लागि सहयोग गर्न सबै तहका सरकारको साथ र सहयोग रहने उनले बताए।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले स्थानीय तहमा योजना निर्माणमा सहयोग गर्नुका साथै पूर्वाधार लगानीमा समेत साथमा रहेर भवन संहिताको कार्यान्वयन तथा प्राविधिक सहयोग गर्ने काममा अगाडि बढिरहेको बताए। सो क्रममा विभागको तर्फबाट एक वर्ष अगाडि सुरु भएको दुई वटा पक्की मोटर बाटो उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाले कोरोना भाइरसको जोखिमका बिचमा उत्कृष्ट काम गरेका कर्मचारी, संघसंस्थाका प्रतिनिधिलाई सम्मान गर्नुका साथै ‘जनप्रतिनिधिका तीन वर्ष’ नामक पुस्तक विमोचन गरिएको थियो। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्