‘हिजो मदन रहेन, आज सदन रहेन’

Sadan Maadan
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्को आलोचना भएको छ। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेपछि राजनीतिक र बौद्धिक जमातबाट मात्र होइन, आम सर्वसाधारणबाट समेत ओली र भण्डारीको चर्को आलोचना भएको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘पहिला मदन रहेन, अहिले सदन रहेन’ भन्दै ओली र भण्डारीको आलोचना गरिरहेका छन्। उनीहरुले कोभिड–१९ को महामारीविरुद्ध लड्नुपर्ने बेला सदन बिघटन गरेर देशलाई अस्थीरतातर्फ धकेलेको भन्दै आलोचना गरेका हुन्। सरकारले २०७८ वैशाख १७ र २७ गतेका लागि तोकेको निर्वाचन सम्भव नभएको पनि उनीहरुको तर्क छ।

२०५० साल जेठ ३ गते तत्कालीन नेकपाका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो। उनीहरुको मृत्यु भवितव्य नभएर राजनीतिक प्रतिशोध र राष्ट्रियताका पक्षमा देखिएको अडानका कारण भएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न माग गरिएको थियो। तर, हालसम्म भण्डारीको रहस्यमय मृत्युबारे कुनै सत्यतथ्य बाहिर आएको छैन।

भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र सहकर्मी केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पनि मदनको हत्याबारे कुनै खोजी नभएको भन्दै आलोचना हुँदै आएको छ। प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा देशभरि राजनीतिक गतिविधि गर्दै आएका छन्। तर, फाउण्डेशनले पनि भण्डारीको मृत्युबारे छानविन गर्ने कुनै रुचि देखाएको छैन।

स्वयं राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मदन भण्डारीको मृत्युको छानविन गर्न उदासिन देखिनुले वामपन्थी जनमत थप निरास भएको छ। नेपालको कम्युनिस्ट आन्दोलनका एक उदीयमान नेता, राष्ट्रिय स्वाभिमानका पक्षधर भण्डारीको निधनलाई सामान्य रुप हेर्न नहुने उनीहरुको तर्क छ।

एकातिर भण्डारी र ओली देशको कार्यकारी भूमिकामा हुँदा मदन भण्डारीको मृत्युबारे कुनै अनुसन्धान नहुनु र अर्कोतिर भण्डारी र ओली मिलेर संसद भंग गर्नुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘हिजो मदन रहेन, आज सदन रहेन’ भन्दै व्यंगात्मक आलोचना गरिरहेका छन्।