कमरेडहरु ! मैले आधार गुमाएँ, के म लिनप्याओ नै हुँ त ?

Ram-bdr-thapa-badal
  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित हुँदा गृहमन्त्री रामबहादुर थापा बादल ओली कित्तामा उभिएका छन्। आफूनिकट ५३ केन्द्रीय सदस्यमध्ये ५३ जनालाई छोडेर आफू एक्लै ओली समूहमा गएका थापा र नेकपाका अध्यक्ष प्रचण्डको सम्वन्ध निकै पूरानो, घनिष्ठ र पछिल्लो चरणमा उतारचढावपूर्ण मानिन्छ। २०६२ असोजमा माओवादीको चुनवाङ केन्द्रीय समिति बैठकमा थापाले आफू प्रचण्डमा बिलिन भएको घोषणा गरेका थिए। उनको सम्वोधन सान्दर्भिक ठानेर यहाँ पुनप्रकाशित गरेका छौं।

०००००

हाम्रा सहयोद्धाहरूलाई अहिले अध्यक्ष कमरेडसँग मेरो सम्बन्ध के हो र हेडक्वार्टरप्रति मेरो सम्बन्ध के हो ? भन्ने गम्भीर प्रश्नले उद्धेलित बनाएको पाएको छु। कमरेड प्रचण्डप्रति मेरो धारणा के हो मैले यस किताबमा दुई भागमा बाँडेको छु। उहाँको र मेरो सम्बन्ध वस्तुगत ऐतिहासिक विकासका क्रममा विकसित भएको हो। त्यो वस्तुगत जगत् र इतिहासबाट पृथक रहेर हेर्दा मेरो लिडर, कमान्डर भनेको अध्यक्ष हो भन्ने सिधा देख्न सकिन्छ। तर, इतिहासलाई केलाएर हाम्रो सम्बन्ध हेर्नुभयो भने यति मात्र छैन। हाम्रो सम्बन्ध एउटा कम्युनिस्टको सम्बन्ध छ। कमरेडको सम्बन्ध छ। एउटा आत्मीय सम्बन्ध छ। त्यसकारण यो जो सम्बन्ध हो एकतिरबाट हेर्दा हामी तल र माथि छौं, अर्कोतिरबाट हेर्दा हामी एउटै ठाउँमा छौं। एकातिरबाट हेर्दा अर्को छुट्ने अर्कातिरबाट हेर्दा एउटा छुट्ने। यो विगतमा हुँदै आयो। हाम्रो जो एउटा कम्युनिस्ट, आत्मीय, कमरेडको सम्बन्ध हा ।

हाम्रो सम्बन्धले कतिसम्म भयो भने हाम्रा श्रीमतीहरू पनि इष्र्यालु भए। हामीले सफलतामा धेरै हर्ष मनायौँ र हाम्रो विफलतामा हामी रातभरि रोयौँ। हामीले जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी निर्माण गर्ने भनेर सिरानचोकमा तालिम गर्‍यौँ, मनाङ पुग्यौँ। हामीले सिस्ने जलजलाको भीरमा गोरेटो कोर्ने कोसिस गर्‍यौँ। भीमसेन नगरदेखि मात्र होइन, रामपुर, कर्णालीको किनारदेखि सम्बन्ध सुरु गर्‍यौँ। त्यसयता कम्युनिस्ट संगठन, अध्ययन मण्डल हुँदै यहाँसम्म आइपुगेको छ। यो हाम्रो व्यक्तिगत सम्बन्ध मात्र होइन, कस्तो कम्युनिस्ट पार्टी बनाउने भन्ने कुरामा माक्र्स र एंगेल्सजस्तो सम्बन्ध स्थापित गर्न खोजेका थियौँ। (एंगेल्स भनेर मैले आफूलाई भन्न खोजेको होइन)।

अहिले २१औँ शताब्दीको पार्टी बनाउने कुरा छ। माक्र्स एंगेल्सको समय १९औँ शताब्दीको हो। यसलाई औपचारिक रूपमा मात्र हेर्ने हो कि अथवा अनौपचारिक रूपमा हेर्ने कि कम्युनिस्ट आधारमा ? हामीले त्यसलाई संगठनका आधारमा मात्र हेर्ने कि हाम्रो कम्युनिस्ट विचारका आधारमा हेर्ने हो ? एउटा सर्वहाराबीचको सम्बन्धलाई यो २१औँ शताब्दीमा कसरी परिभाषित र विकास गर्न जरुरी छ भन्ने सवाल खडा भएको छ। छोटोमा भन्दा यो रिलेसनमा मैले जुन भूमिका खेल्नुपर्ने हो, त्यहाँ मैले के त्रुटि गरेँ ? के कमजोरी गरेँ, म त्यो कमजोरी, त्यो गल्तीलाई आत्मसमीक्षा र एउटा ऐतिहासिक आत्मालोचना गर्न यो कठघरामा उभिएको छु। आज म इतिहासको अगाडि त्यो बयान दिँदै छु। मलाई लाग्छ, एउटा कमान्डरले आफ्नो सिपाही र फर्मेसनबाट के अपेक्षा गर्छ भने कमान्डरको आदेशलाई निःसर्त पालना गरोस्। आदेश दिएपछि त्यो मर्न नहिचकिचाओस् भन्ने अपेक्षा गर्छ। सारमा यही हो।

अर्कातिर हाम्रो सम्बन्धलाई हेर्दा मैले कमान्डरलाई जित्न खोजें। किनकि, एउटा सिपाहीले जब कमान्डरको आदेश मान्दैन अथवा त्यो आदेशप्रति उदासीन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुन्छ। मैले कमान्डरलाई जित्न खोजेँ। त्यो मेरो नियतले होस् या अज्ञानताले होस्। त्यहाँबाट समस्या पैदा भयो। त्यसले पनि आँसु बगायो। मैले कमान्डरको अगाडि हार्नुपथ्र्यो। मैले निःसर्त आदेशको पालन गर्नुपथ्र्यो। सायद मैले गरिनँ। त्यसकारण मैले कमान्डरलाई जित्न खोजें, म हारेँ। म त्यो हार स्वीकार गर्छु यो इतिहासको कठघरामा उभिएर। र, म मेरो कमान्डरलाई जित्न चाहन्छु। तर, म जितेर होइन कि, हारेर जित्न चाहन्छु। त्यसकारण म आºनो कमान्डरसमक्ष आज आफ्नो हार स्वीकार गर्छु। म मेरो कमान्डरको जितमा उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु।

कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ। तर, मलाई लाग्छ, मैले सही गरिराखेको छु। कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन। म अझ बढी कमजोरी स्वीकार गर्न चाहन्छु। हामीले यो पार्टी निर्माण र क्रान्तिको सुरुआत गर्ने क्रममा एक–अर्काबीच वाचा गरेका थियौँ कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीयता र सम्बन्ध कहिल्यै टुट्ने छैन। हामी सिद्धिने छौँ तर हामी झुक्ने छैनाैं, टुट्ने छैनौँ। हामीले गरेका वाचा पटक–पटक स्मरण पनि गरेका हौँ। तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो। त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी, सम्बन्धमा धमिरा लागेको जस्तो भयो। त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट। मलाई लाग्छ, त्यसमा मेरो मुख्य कमजोरी रह्यो। मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें, म उचाइ होइन कमरेड, म शिखर होइन। म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन। म त आधार हुँ कमरेड। म त एउटा जग हुँ। सायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपथ्र्यो। जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन। त्यो गल्र्यामगुर्लुम ट्वीन टावरजसरी ढल्छ। त्यो उचाइ धेरै भयो भने जग भासिन्छ। विडम्बना, हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो। त्यहाँ लिनप्याओ घुस्यो। हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए। साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन्। हामी होक्जा हाैं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ।

र, म त्यो जवाफ दिन यहाँ उभिएको छु। मैले आफ्नो आत्मीयलाई सिध्याउन उहाँसँग मितेरी गाँसेको होइन। कुनै पनि तथ्यले त्यो पुष्टि गर्दैन। तर, कमरेड किन हामीबीचमा कुरो मिल्दैन त ? किन शंकाहरू रहन्छन् त ? इतिहासलाई यो प्रश्न मेरो पनि हो। म पनि त जनता हुँ, म नेता मात्र होइन। जनता र नेताको फ्युजन हुँ। म जनताको हैसियतले यहाँ उपस्थित नेताहरूलाई सोध्छु, के म लिनप्याओ हो त ? इतिहासले यो जवाफ दिनुपर्छ।

आजको २१औँ शताब्दीका जनताले जवाफ दिनुपर्छ। कमरेड अध्यक्ष होक्जा नै हो त ? त्यो जवाफ दिनुपर्छ। यो जवाफ नदिईकन हामी अगाडि बढ्न सक्दैनौ। यो सम्बन्धको मैले ऐतिहासिक समीक्षा गर्दा म एउटा मगर जातिबाट आएँ कमरेड। मगर भएर जन्मन मेरो इच्छा थिएन। मगर भन्ने एउटा जाति हो। जनताको एउटा हिस्सा हो। र, यो मगर जातिको परिवेश र संस्कारसहित म आएँ। तपाईं (अध्यक्ष प्रचण्ड) एउटा ब्राह्मण परिवारमा जन्मेर आउनुभयो। ब्राह्मणमा जन्मिन्छु भनेर जन्मेको होइन। त्यो ऐतिहासिक परिवेश र संस्कारसहित आउनुभयो। र, यहाँ इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो। एउटा कम्युनिस्टका रूपमा हाम्रो त्यहाँ फ्युजन भयो।

ज्ञान र चेतनाको हिसाबले माक्र्सवादले सत्ता र नेतृत्व चाहिन्छ, एउटा संक्रमणकालीन सत्ता हुनुपर्छ भन्छ। त्यो चेतनाको हिसाबले म सहमत छु। त्यही हो मार्क्सवाद। तर, मेरो संस्कारले मलाई पछाडि तान्छ। सायद मेरो संस्कार र चेतनाबीचको अन्तरविरोध यहाँनेर छ। सत्ता र नेतृत्वको महत्त्व बुझ्ने कुरामा तपाईंं मभन्दा अगाडि हुनुहुन्छ। यो इतिहासले पुष्टि गरेको कुरा हो। तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावाद र नोकरशाहीमा जान्छ। त्योसँग कम्युनिस्ट सम्बन्ध हुन सक्दैन। र, अर्को मेरो संस्कारले मानौँ यहाँ साम्यवाद आइसक्यो, जम्मै यहाँ गौप्राणी भए सबै हामी बराबर हौँ भन्ने सोचाइ राख्छ। यतातिरबाट हेर्दा त्यो एकदम उग्रजस्तो देखिन्छ। मैले एकैचोटि साम्यवादमा पुगेर त्यहीँ डिल गर्न खोजे। अहिले तात्कालिक अवस्थाबाट हेर्दा म पछि परेँ त्यहाँ। नेतृत्वसम्बन्धी अवधारणामा अथवा त्यसको प्रयोगमा मेरा कमजोरी रहेकाले यी शंकाहरू पैदा भए। जस्तो गोरखा मिटिङको बारम्बार कुरा आउँदा मैले गोरखा मिटिङमा लिडरसिपको विरोध गरे। मैले मन्दताको कुरा गरँे तीव्रताको गरिनँ। पटक–पटक लिनप्याओ गोरखा सिटिङबाट पुष्टि हुन्छ। त्यताबाट अझ सिज अभियानमा पनि आउँछ। यो एउटा शृंखला बनेको छ। साँच्चै त्यस्तै हो कि यो कृत्रिम हो ? यो अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो ? मभित्र के अन्तरविरोध छ ? मैले यहाँ आत्मसमीक्षा गर्न खोजेको हो। मभित्र भएको कमजोरीलाई उल्लेख गर्न खोजेको हो। गोरखा सिटिङको, यो हाम्रो फर्मल रिलेसन र एउटा इन्फर्मल सम्बन्ध, एउटा कम्युनिस्ट रिलेसनबीचको डाइलेक्टिक्सलाई मैले राम्रोसँग हेन्डल गर्न सकिनँ । धेरैलाई लाग्छ किन यसले चाहिँ लिडरसिपको कुरा उठाउँछ ? हैन, मैले त मानिराखेकै छु, सहयोग गरिराख्या छु । सायद यसको बुझाइमा उहाँ (प्रचण्ड) ले मलाई बुझाउन नसक्ने र मैले उहाँलाई बुझाउन नसक्ने भएको होला । उहाँले त्यहाँ कुरा उठाउनुभएको थियो, त्यसमा मैले साथ दिनुपथ्र्यो।

यहाँ विनम्रतापूर्वक के भन्नुपर्छ भने लिडरसिपसम्बन्धी प्रश्नमा मैले कमरेड प्रचण्डका लागि जुन भूमिका खेल्नुपथ्यो, त्यो सचेत वा अचेत संस्कारको कमजोरी या मेरो प्रवृत्तिको कमजोरीले खेल्न सकिनँ। म उक्त कमजोरी नयाँ उचाइका साथ हटाउने कमरेड प्रचण्डलाई विश्वास दिलाउन चाहन्छु। म कमरेड अध्यक्षको अपेक्षामा अधिकतम खरो रूपमा उत्रिने प्रयास गर्नेछु। र, कमान्डरको हरेक आदेशलाई निःसर्त पालन गर्ने संकल्प लिन चाहन्छु।

(नेकपा (माओवादी) को चुनवाङ बैठकमा रामबहादुर थापा ‘बादल’ले व्यक्त गरेको सम्पादित अंश नेकपाको जारी विवादमा उपयुक्त ठानेर यहाँ प्रकाशित गरेका छौं–सम्पादक।)
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्