इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबरको आईपीओ स्विकृत

लोकपाटी न्यूज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली शेयर बजारको इतिहासमा अहिलेसम्मकै ठूलो आईपीओ निष्कासनको अनुमति पाएको छ।
धितोपत्र बोर्डले पूर्वाधार विकास बैंकलाई प्रति कित्ता १०० रुपैंयाको दरले ८ करोड कित्ता सेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीले रू‍ ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते बोर्डबाट अनुमति पाएको हो। उक्त कम्पनीले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. २० अर्ब पुग्नेछ । कम्पनीको अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको छ । यस बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ । उक्त कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार उक्त कम्पनीको जगेडा कोषमा रू. १ अर्ब ८१ करोड ४७ लाख ६ हजार सञ्चित रहेको छ । यो अवधिमा कम्पनीको नाफा रू. १८ करोड १ लाख १३ हजार छ । कम्पनीको कुल सम्पत्ति रू. १४ अर्ब २३ करोड ४ लाख ४६ हजार छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म रू. ६ रहेको छ ।
८ करोड कित्तामा सामुहिक लगानी कोष र कर्मचारी आरक्षण रहेको छ ।

धितोपत्र बोर्डको १० कित्ता नीति अनुसार १० कित्ता मात्र पाउदा पनि ८० लाख जनाले पाउने सम्भावना हुन्छ। पछिल्लो समयको प्रभु लाइफ इन्स्योरेन्समा १० लाखले आवेदन दिएका थिए ।

यो आधारमा पूर्वाधार विकास बैंकको आईपीओमा कसैको पनि हात खाली जाने छैन। आवेदकले यसमा न्यूनतम ५० कित्ता सेयर पाउने सम्भावना बलियो छ।

नेपालको सेयर बजारको इतिहासमा पूर्वाधार विकास बैंकले अहिलेसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्