सहकारीकर्मीले जान्नै पर्ने १४ कुरा !

  • 92
    Shares
0

काठमाडौँ। ग्रामीण भेगहरुमा आर्थिक गतिविधि बढाउनका लागि सरकारले गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ सहकारी विस्तारको योजना बनाएको थियो। सहकारी स्थापना र विस्तारलाई थप प्रोत्साहन गर्नका लागि सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बा अन्तर्गत एक मानिँदै आइएको छ।

अहिले नेपालमा ३४ हजारको हाराहारीमा सहकारी संस्थाहरू दर्ता भएको अवस्था छ। यसमध्ये, कति राम्रै अवस्थामा सञ्चालन भइरहेका छन् भने कतिपय सहकारीहरू डुब्ने अवस्थामा छन्। बैङ्क तथा वित्तीय संस्थाको पहुँच नपुग्ने वर्ग एवं समुदायमा बचत गर्ने एवं उद्यमशीलतातर्फ लाग्ने बानीको विकास गर्नका लागि सुरु गरिएको सहकारी अहिले बढी मात्रामा बदनाम भइरहेका छन्।

सहकारी भनेको यस्तो संस्था हो, जसको सञ्चालक सदस्य आफैँ हुन्छन्। सहकारीमा नियमित रूपमा पैसा जम्मा गरिन्छ। पैसा जम्मा गर्ने सबै बचतकर्ताहरू उक्त संस्थाको शेयर सदस्यसमेत हुन्छन्। उनीहरूले आवश्यकताअनुसार निश्चित ब्याजदरमा सहकारीबाट कर्जा लिन पाउँछन्। यसरी कर्जा लिएर साँच्चै सदुपयोग गर्ने हो भने सहकारीबाट समृद्धि सम्भव छ।

१. सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरूको पेसा व्यवसायलाई सेवा र टेवा पुर्‍याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ।

२. सहकारीले कारोबार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ।

३. सहकारी संस्था सदस्यहरूको मात्र हो, सदस्यहरूको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुँदैन।

४. सहकारी साझा स्वामित्व भएको स्वायत्त र स्वतन्त्र सङ्गठन हो।

५. सहकारी संस्थाको सञ्चालन तथा नियन्त्रण लोकतान्त्रिक नियन्त्रण पद्धति अनुसार सदस्यहरूबाट नै हुने भएकाले संस्थाका हरेक क्रियाकलापमा सदस्यहरूको सक्रिय सहभागिता हुनु पर्दछ। सदस्यहरूले संस्थाको कारोबार र हिसाब किताब बारे नियमित रूपमा जानकारी लिनु पर्छ।

६. यो व्यवसायले धनी र गरिब बिचको खाडललाई कम गर्न मद्दत गर्दछ।

७. एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको आदर्श हो।

८. वार्षिक साधारण सभा सर्वोच्च निकाय हो र सबै सदस्यहरूले सक्रिय रूपमा सहभागी भई आफ्नो विचार राख्न, छलफलमा भाग लिन, निर्णय गर्न एवम् मतदान गर्न नर्बिसौं।।

९. परस्परमा मिलेर समस्या समाधान गर्नु नै सहकारीको मूल मन्त्र हो।

१०. क्षणिक आवेगमा आई अथवा अरूको देखासिकीमा लागेर सहकारी संस्था दर्ता गर्नु राम्रो हुँदैन।

११. संस्था दर्ता गरी सके पछि यसलाई निरन्तरता दिऔँ, एक पटक दर्ता भएको संस्था विघटन गर्न लामो प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । दर्ता गर्न जति सजिलो छ, विघटन गर्न त्यति नै गाह्रो पर्छ ।

१२. सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको उत्पादन वृद्धि गर्न आवश्यक पर्ने पूँजी, प्राविधिक लगायतका उत्पादन सामाग्रीहरू सदस्यलाई उपलब्ध गराउने तथा सदस्य उत्पादनको बजारीकरण गर्ने कार्यमा समेत सेवा र टेवा पुर्‍याइ सदस्यहरूको आर्थिक विकास गर्ने गरी आफ्ना कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ।

१३. सहकारी व्यवसायले सदस्यहरूको हितमा व्यवसाय सञ्चालन गरी सदस्यलाई पेसा व्यवसायबाट आय आर्जन गराइदिन्छ भने संस्थामा भएको नाफाको निश्चित हिस्सा शेयर लगानी र कारोबारको आधारमा सदस्यहरूलाई वितरण गर्दछ, जसले गर्दा सदस्यले दोहोरो फाइदा प्राप्त गर्दछ। सहकारी व्यवसायमा प्रतिफलको वितरण न्यायोचित ९समतामूलक० ढङ्गले गरिन्छ।

१४‍. बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूसँग कारोबार गर्दा सो संस्थाको कार्यक्षेत्र आफू बसेको गाउँ ठाउँमा छ कि छैन, साधारण सभा, सञ्चालक समिति र लेखा समितिको नियमित बैठक बसी संस्थाको सञ्चालन र नियन्त्रण गरिएको छ छैन सञ्चालक समितिका पदाधिकारीहरू स्थानीय कार्यक्षेत्रभित्रका शेयर सदस्यहरू हुन् होइनन् लगायतका सम्पूर्ण कुराहरू बुझी संस्थाको शेयर सदस्य बनेर शेयर सदस्यताको प्रमाण पत्र लिएर मात्र बचत जम्मा गर्नु पर्दछ। बचत जम्मा गरेपछि बचत जम्मा गरेको प्रमाण लिन तथा आफ्नो बचतको अभिलेख संथामा भए नभएको बारेमा सधैँ चनाखो रहनु पर्दछ।

Comments
Loading...
You might also like