चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति

  • 1.8K
    Shares
0

स्टालिनको मुत्युपछि ख्रुश्चेभ सत्तामा आएदेखि नै रूसी राजनीतिमा परिवर्तन आउन थालेको थियो। स्टालिनलाई विस्थापित गर्ने मात्र नभएर क्रमिक रूपमा समाजवादी मूल्यकै विरुद्ध पनि जाने कामहरूको आरम्भ हुन थालेको थियो। त्यहाँ स्टालिन विरोधीहरू सल्बलाउन थालेका थिए भने चीनमा पनि दक्षिणपन्थीहरूको गठजोड र सक्रियता पनि बढ्दै गएको थियो। यो कुरा माओले नजिकैबाट अध्ययन गरिरहेका थिए।

माओका १९५७ का दस्तावेजहरूको सूक्ष्म र गम्भीर अध्ययनबाट यो कुरा प्रष्ट हुन्छ। लुसान सम्मेलनको भाषण र त्यसको सेरोफेरोका माओका अभिव्यक्तिका साथै माओले गरेका पार्टी निर्णयरूबाट यो कुरा अवगत गर्न सकिन्छ। पेङ्ते हुइ प्रकरणसित हाइजुई प्रकरण जोडिएर आएको छ। पेङते हुइ र लिउ साओचिसितको लडाइँ सामान्य लडाइँ नभएर दुई हेडक्र्वाटर बीचको लडाई थियो भनेर माओले बराबर जोड दिनुले पनि स्थितिको गम्भीरतालाई दर्शाउछ।

रूसको बीसौं पार्टी कंग्रेसले लिएको नीतिपछि रूसप्रतिको हेराई र बुझाइमा भिन्नता आउनु स्वाभाविक बनेको थियो। ‘महाविवाद’पछि ख्रुश्चेभ माओलाई विस्थापित गरेर आफ्नो अनुकूलको व्यक्ति र स्थितिको निर्माण गर्न चाहन्थ्यो। चीनमा दक्षिणपन्थीहरूको गठजोड अझ तीव्र बन्दै गयो। सांस्कृतिक रूपान्तरण उल्टो दिशातिर जान थाल्यो। सांस्कृतिक विचलन र आर्थिक भ्रष्टाचारका डरलाग्दा घटनाहरू व्यवहारमा देखिन थाले। पार्टी जनताबीचको सम्बन्ध पनि बिग्रिँदै जाँदै थियो। ‘दुश्मनको गोलीले समाप्त हुन नसकेका कमरेडहरू गुलियोमा मिसिएको गोलीले समाप्त भए, हाम्रा कमरेडहरूलाई कसैले केटीको प्रस्ताव राख्नु पर्दैन, एक खिली सिगरेटमा बिक्छन्।’

यसरी माओले पीडा व्यक्त गर्नुका पछाडि हरेक क्षेत्रमा देखिन थालेको विचलननै प्रमुख कारण थियो। यी सबै कुरालाई नजिकैबाट अध्ययन गरिरहेका माओले रूपान्तरणका लागि शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउनु आवश्यक ठाने। ‘दक्षिणपन्थी हेडक्वाटरमाथि बम वर्षाको आह्वानका साथ ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उदघोष गरिनु यसैको उपज थियो।

एक हिसाबले भन्ने हो भने लुसान सम्मेलनदेखि १९६५ सम्मका रचनाहरू यसैको पूर्व तयारीका लागि आएका थिए, जनमत सिर्जनाका लागि निर्माण गरिएका आधारहरू थिए। यिनमा माओले राजनीतिलाई केन्द्रमा राखेर सत्ता र संस्कृति, जनसम्बन्ध र रूपान्तरणका साथै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन्। उनले सांस्कृतिककर्मीलाई आ–आफ्ना हतियारका साथ जनताको बीचमा जान आह्वान गरेका छन्।

यसबीच प्रकाशित उनका रचनाहरूमध्ये ‘समाजवादी निर्माणका कठिनाइ र त्यसका शिक्षाहरू’ (१९५९), ‘जनवादी केन्द्रीयताबारे’ (१९६२), ‘गल्ती सच्याउने र संशोधनवाद विरुद्धको संघर्षबारे’ (१९६२), दर्शनका बारेमा’ (१९६४), दर्शन र चिनियाँ जनवादी शिक्षा (१९६५) जस्ता रचनाहरूले विशेष महत्त्व राख्दछन्। यिनमा पनि जनवादी केन्द्रीयताबारे’, ‘गल्ती सच्याउने र संशोधनवाद विरुद्धको संघर्षबारे’ र ‘दर्शनका बारेमा’ जस्ता रचनाहरूको विशेष महत्त्व रहेको छ। माओले भन्ने गरेझैं यी रचनाहरू जनमत सिर्जनामार्फत् सांस्कृतिक क्रान्तिको पूर्वतयारीका आधारहरू नै थिए।

चीनमा क्रान्तिकारीहरू र संशोधनवादीहरू बीचको अन्तर्विरोध बढदै गएपछि प्रतिक्रान्तिको विरुद्ध र क्रान्तिको हितमा माओको नेतृत्वमा १९६६ मा ‘महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति’को आरम्भ भयो। यो आफ्नै टाउकोमा आफैले आगो लगाउने अभियान थियो। यो निरन्तर क्रान्तिको वैचारिक मूल्यद्वारा निर्देशित महान् रूपान्तरणको अभियान थियो। चीनको सन्दर्भमा मात्र नभएर संशोधनवादी प्रदुषणबाट विश्व कम्युनिस्ट आन्दोलनलाई बचाउँदै मालेमालाई अघि बढाउन गरिएको यो क्रान्ति, क्रान्तिकारी अभियानको क्षेत्रमा महान् फड्को थियो। संशोधावाद विरुद्धको वैचारिक संघर्ष, शुद्धीकरण र रूपान्तरणको यस अभियानसित जमेको पोखरी होइन, बगिरहने याङ्त्से जस्ता कथनहरू पनि गाँसिएर आए। कार्यदिशा सही हुनु र नहुनुसितले सबै कुराको निर्णय गर्छ भन्ने महत्त्वपूर्ण कथन पनि गाँसिएर आए। सांस्कृतिक क्रान्ति नाम दिइएको यो अभियान रूपान्तरणका लागि समग्र आन्दोलन थियो भन्ने कुरा सोह्र बुँदे सर्कुलरबाट अवगत गर्न सकिन्छ।

यस सर्कुलरको पहिलो बुँदामै प्रष्टताका साथ यसो भनिएको छ, यद्यपि बुर्जुवा वर्गसत्ताबाट मिल्किसकेको छ। तापनि शोषक वर्गले अझै आफ्ना पुराना विचार, संस्कृति, रीतिरिवाज, चालचलन र आदतहरूको प्रयोग गरी जनतालाई भ्रमित पार्ने, उनीहरूको मस्तिष्कलाई नियन्त्रण गर्ने र सत्ता हत्याई पुरानै अवस्थामा फर्काउने हर प्रयास गरिरहेको छ। त्यसैले सर्वहारावर्गले यसको ठीक उल्टो गर्नुपर्दछ। बुर्जुवाहरूबाट वैचारिक क्षेत्रमा आइपर्ने हरेक चुनौती हरूलाई सर्वहारावर्गले डटेर प्रतिवाद गर्नुपर्दछ र साथै सर्वहारावर्गको नयाँ विचार, संस्कृति, नयाँ चलन र आदतहरूको प्रयोग गरेर सिङ्गो समाजको मानसिक दृष्टिकोण बदल्नु पर्दछ। वर्तमान समयमा हाम्रो लक्ष्य ती अधिकार सम्पन्न व्यक्तिहरू जसले पूँजीवादी बाटो समातेका छन्, उनीहरूका विरुद्ध संघर्ष गर्नु, उनीहरूलाई सत्ताच्यूत गर्नु, तिरस्कार गर्नु र समाजवादी आधारसित मेल नखाने शिक्षा, साहित्य र कला तथा उपरिसंरचनाका अन्य अङ्गहरूमा फेरबदल ल्याइदिनु हो, जसबाट समाजवादी व्यवस्थाको सुदृढीकरण एवं विकासमा सघाउ पुगोस्।

माथिको भनाइबाट सांस्कृतिक क्रान्तिको उद्देश्य प्रष्ट हुन्छ। मार्क्सवादको महत्त्वपूर्ण पक्ष ‘विद्रोह गर्नु अधिकार हो’ भन्ने कुरालाई माओले बराबर जोड दिएका छन्। ‘महान चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति यही महान विद्रोह थियो। संशोधनवाद र विर्सजनवादका विरुद्ध माओले लडेको यो जटिल र महान् युद्ध नै थियो। राजनीतिलाई केन्द्रमा राखेर लडेको यो युद्धको मूल उद्देश्य सांस्कृतिक रूपान्तरण नै थियो। यसमा जनसमूह, पार्टी कार्यकर्ता, जनसेना र सांस्कृतिक–बौद्धिक सबै सेनाको प्रयोग गरिएको थियो। बुद्धिजीवीहरूलाई जनताका बीचमा जान र श्रमकार्यमा सहभागी हुन भनिएको थियो, साहित्यकारहरूलाई मजदुर र किसानका बीच गएर कथा, कविता र उपन्यास सिर्जना गर्न आह्वान गरिएको थियो र कलाकारलाई गीत सङ्गीत र अपेरामार्फत् प्रतिक्रान्तिकारी चिन्तनको भण्डाफोर र समाजवादका पक्षमा जनमत सिर्जना गर्न आह्वान गरिएको थियो।

सन् १९७१ पुग्दा नपुग्दै सांस्कृतिक क्रान्तिको आवरणमा लिनप्याओका गलत प्रवृत्तिहरू सतहमा आउन थाले। सांस्कृतिक क्रान्तिका बारेमा विभिन्न प्रान्तका कमरेडहरूसितको भेटघाट र छलफलबाट माओको चिन्ता र चिन्तनको उच्च धरातल बोध गर्न सकिन्छ। (माओत्सेतुङ, ‘लिनप्याओका बारेमा’, माओका दुर्लभ रचनाहरू, पृ.१४–१५) माओले त्यतिबेला पार्टीमा देखापरेको विचलनको स्थिति र लिनप्याओ प्रवृत्तिबारे बडो चिन्ताका साथ खुलस्त ढङ्गले प्रकाश पारेका छन्।

यसै अभियानका बीच देखापरेको लिनप्याओवादी प्रवृत्ति समेतलाई परास्त गर्दै माओको मुत्यु हुनु अघिसम्म चलेको थियो यो अभियान। चिनियाँ कम्युनिस्ट पार्टीको दशौं राष्ट्रिय काङ्ग्रेसमा प्रस्तुत दस्तावेजले, लिनप्याओको चरित्र र कार्यलाई बुर्जुवा क्यारियरिस्ट, षड्यन्त्रकारी, द्वैधचरित्रयुक्त, प्रतिक्रान्तिकारी, ट्राटस्कीवादी र शत्रु पक्षसँग मिलेमतो गरेको भन्ने निर्णय गर्दै यसरी संश्लेषण गरेको थियो, ‘हामीले मार्क्सवाद–लेनिनवाद–माओत्से–तुङ विचारधाराको अध्ययन गर्नुपर्दछ, साथै संशोधनवाद र बुर्जुवा विश्व दृष्टिकोणको आलोचना गर्नुपर्दछ। हामीले उपरिसंरचनामा र संस्कृतिका सबै क्षेत्रहरूमा संघर्ष, आलोचना, रूपान्तरणलाई राम्रोसँग निरन्तरता दिनुपर्दछ। क्रान्तिलाई पकड्न र उत्पादन बढाउन कडा परिश्रम गरौं, युद्धविरुद्ध तयारी गरौं र अन्य क्षेत्रका कामहरू पनि दृढतापूर्वक पूरा गरौं।

Comments
Loading...
You might also like