स्वास्थ्य

काठमाडौं उपत्यकामा किन बढ्दै छ कोरोना संक्रमण ?

coronavirus-test-kiti
  • 26
    Shares

काठमाडौं। अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताएका छन्। ‘अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ, तर काठमाडौं उपत्यकाका ३ जिल्लामा भने संक्रमितको संख्या बढी भएर अहिलेसम्म ३४७ जनामा संक्रमित भएको देखिन्छ,’ डा पाण्डेले भने, ‘ जसमा काठमाडौं लगायत ललितपुर र भक्तपुर जिल्लाका विभिन्न ठाउँमा संक्रमित देखिन्छ।’

डा. पाण्डेका अनुसार काठमाडौं उपत्यकामा देखिएका संक्रमितहरुमा विदेशबाट उद्धार गरिएका व्यक्तिहरु र बाहिर जिल्लाबाट आएका व्यक्तिहरु बढी छन्। यस्तै केही व्यक्तिहरु भने कहीँ पनि यात्रा नगरेको अर्थात ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा समुदायमा संक्रमणको अवस्था बुझ्न काठमाडौं उपत्यकाका १२ स्थानमा कोरोना परीक्षण गरिएको डा. पाण्डेले बताए।

डा. पाण्डेका अनुसार ललितपुरको नख्खुटोल, काठमाडौंको कोटेश्वर, भक्तपुरको बोडे, शहीद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, शंखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल, काठमाडौंको डिल्लीबजार, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिका लगायतका ठाउँ नमुना संकलन गरी कोरोना परीक्षण गरिएको डा पाण्डेले बताए।

डा. पाण्डेका अनुसार काठमाडौं उपत्यकाका १२ स्थानबाट ३ हजार नमुना संकलन गरिएको छ। ती मध्ये १६ सय व्यक्तिको नतिजा आएकोमा ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको डा. पाण्डेले बताए। ‘काठमाडौं उपत्यकामा नमूना संकलन गरी गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखियो, यी तीनजनाको ट्राभल हिस्ट्री नभएको अवस्था देखिन्छ,’ डा पाण्डेले भने, ‘उनीहरु कसरी संक्रमित भए भनेर हामीले कन्ट्याक ट्रेसिङ गरेर अरुको पनि परीक्षण गर्दैछौं।’

काठमाडौं उपत्यकाका १२ स्थानमा गरिएको परीक्षणको अवस्थाले ०.१८ प्रतिशत समुदयामा संक्रमण भएको पाइएको बताए। डा. पाण्डेका अनुसार देशभर ७ प्रतिशत संक्रमितहरु स्थानीय व्यक्ति भएको पाइएको छ।

लेखकको बारेमा

लाेकपाटी न्यूज