ओलीका एक-एक प्रश्नको जवाफ दिने ‘प्रचण्ड’को तयारी

KP_Prachanda
  • 3.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ। सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको हो। बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने छ।

शनिबारको बैठकमा ओलीले ३८ पृष्ठको प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदन अध्ययन गरेर प्रचण्डले आज जवाफ दिने तयारी गरेको बताइएको छ। जवाफ लिखित हुने वा मौखिक भन्ने तय भइनसकेको जनाइएको छ। ओलीको प्रतिवेदनमा आफूलाई व्यक्तिगत तहमै उत्रिएर आरोप लगाएपछि प्रचण्डले त्यसको एक-एक गरी जवाफ दिने तयारी गरेका हुन्।

ओलीले द्वन्द्वकालीन घटनासहित अन्य विषयसँग जोडेर व्यक्तिगत तहमै आक्षेप लाग्ने गरी प्रतिवेदन पेश गरेका थिए। ‘मेरो राजनीतिकभन्दा व्यक्तिगत जीवनमा आक्षेप लाग्ने गरी केपीजीले उठाउनु भएका कतिपय आरोप निराधार छन्,’ प्रचण्डको भनाइ उद्धृत नेकपाका एक नेताले भने, ‘सबै विषय स्पष्ट हुने गरी आफ्ना कुरा राख्ने तयारी गरेको छु। सबै आरोप टिपोट गरेको छु, सकेसम्म लिखित रुपमा पेश गर्छु। नभए मौखिक रुपमा मेरा कुरा बैठकमा राख्ने तयारी गरेको छु।’

गएको कात्तिक २८ गतेको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पाँच जनाको सहमतिमा प्रचण्डको हस्ताक्षरसहितको प्रतिवेदन पेश भएको थियो। सो प्रतिवेदनको ओलीले मंसिर १३ मा लिखित जवाफ दिएका थिए। त्यसअघि पनि लिखित पत्रमार्फत् नै सवाल-जवाफ भएको थियो। यी सबै प्रतिवेदनमाथि छलफल शुरु हुने भएको छ।

प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सचिवालयमा छलफल गरेपछि सबै प्रतिवेदन स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी गरेको बताइएको छ। ओली पक्ष भने सचिवालयबाटै साझा प्रस्ताव लिएर स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन्। नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्