ओलीले भने : ‘धुम्बाराहीमा सुरक्षा खतरा छ, बैठक बालुवाटारमै बस्नुपर्छ’

Nekapa_Sachibalaya
  • 731
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। धुम्बाराही बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ। यसअघि बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने तय भएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने तय भएको एक सचिवालय सदस्यले जानकारी दिए। बैठक पूर्व निर्धारित समयमै बस्ने बताइएको छ। नेकपाका महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीमा बैठक बस्न नसक्ने सन्देश कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुर्‍याएका छन्।

त्यसपछि ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेकोले बैठक बालुवाटारमै सार्न प्रस्ताव गरेका थिए। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको नकपा स्रोतको भनाई छ।

‘पार्टी बैठकको सुरक्षासमेत दिन नसक्ने कुराले सरकारको हैसियतमा प्रश्न उठेको छ। राजधानी काठमाडौंमै सरकारले केही व्यक्तिको पनि सुरक्षा दिन नसक्ने कुराले सरकार पूर्णरुपमा असफल भएको सन्देश गएको छ। यो राम्रो भएन,’ नेकपा सचिवालयका एक सदस्यले भने।

आजको सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। कात्तिक २८ को सचिवालयमा पेस गरिएको प्रस्तावमा प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाएका थिए। ती आरोपको खण्डन गर्दै ओलीले गत शनिवार ३८ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरे। ओलीले प्रस्तावमा उल्लेख गरेको आरोपको फेरि आज प्रचण्डले जवाफ दिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्