ओलीले अध्यक्षमा प्रस्ताव गरेका प्रदीप नेपालको टिप्पणीः ‘नेपालमा गणतन्त्र आवश्यक थिएन’

pradeep_nepal
लोकपाटी न्यूज

नेपालका राजनेता बाठै छन् भन्ने लाग्थ्यो। तर, होइन रहेछ। यिनीहरूको औकात संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसम्मको मात्र रहेछ। तर, त्यो पनि ‘फेल’ भयो भनियो र गणतन्त्रमा गइयो। त्यो गएको पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा।

राजा वीरेन्द्रको वंशनाश नभएको भए नेपालमा गणतन्त्र आउने नै थिएन। ‘दाजु जस्तो टुलुटुलु हेरेर नबस्ने’ पछिल्ला राजाको अहंले गणतन्त्र ल्याएको हो। त्यसैले राजावादीहरूले यो पढेर मुख नमिठ्याए हुन्छ।

गणतन्त्रसम्मको रेखा खिच्ने राजनेता मदन भण्डारीले उहिल्यै भन्नुभएको थियो,- ‘कुनै एउटा राजा रहने र नरहने भन्ने कुरासँग हाम्रो कुनै मतलब छैन। तर, मुलुकबाट दलाल पुँजीवादको अन्त्य हुनुपर्छ। दलाल पुँजीवादसँगको लडाइँ नै आजको हाम्रो लडाइँ हो।’

हो पनि। नर्वेमा राजा छन्, शायद स्विडेनमा पनि राजा होलान्, डेनमार्ककी रानी र संसद्को लडाइँका बारेमा मैले पढेको थिएँ। रानी गणतन्त्रमा जाने, संसद् महारानीलाई नहटाउने। सबैकी प्यारी रानी। नेपालमा यस्ता राजा रानीको कल्पना गर्न सकिन्छ? खै मलाई त त्यो गर्न सकिन्छ भन्ने लागेन।

यति बेला नेपाल संकटमा छ। न अगाडि बढ्न सक्छ न पछाडि फर्किन सक्छ। राजा ल्याऊ देश बचाऊ भन्नेहरूले बुझ्नुपर्छ। राजा त आउनुभएकै थियो नि। खै उहाँबाट पनि देश त बचेन। उहाँले पनि कालापानी फिर्ता लिन सक्नुभएन। उहाँले पनि सिमाना बचाउन सक्नुभएन। राजाका पालामा पनि खाद्यान्न आयात रोकिएन। उहाँको पालामा अन्तर्राष्ट्रिय ऋण घटेन। समुद्री मार्गको लागि उहाँले पनि भारतको विकल्प खोज्न सक्नुभएन।

अहिले जति भएको छ, त्यति राजा आउँदा पनि हुन सकेको थिएन। त्यसैले राजनीतिक रूपमा अब राजाको मूल्य सकियो। अरू हिसाबमा राजाको धेरै मूल्य हुनसक्छ। तर, त्यतातिर जान न पूर्व राजाको चाहना छ, न अरू कसैको चासो नै छ। राजा बोलाउनेहरूले बुझ्नु पर्ने मुख्य कुरो के मात्रै हो, टुलुटुलु हेरेर उहाँलाई खानु न लाउनु पार्नेछ।

अब आउने राजाले आजको मन्त्रिपरिषद्को भन्दा बढी काम गर्नुपर्छ। जस्तो कि तेल निकाल्नुपर्छ, अरू खानी निकाल्नुपर्छ, व्यापक जनताको परिचालन गर्नुपर्छ। किनभने राजाको भन्दा बढी काम त केपी ओलीको टिमले गरिसक्यो। जुन काम राजाको शासनले गर्नै सक्दैन।

नेपाल हिन्दु राष्ट्र होइन तर राजावादीहरूले राजालाई धर्मसँगै तानेका छन्। अज्ञानमा मैले आफूलाई पनि पहिले हिन्दु नै ठानेको थिएँ। तर, पढ्दै जाँदा मलाई थाहा भयो म त खस पो रहेछु।

हाम्रो देशका राजाहरूको पुर्खा मगर रहेछन्। मगरहरू पनि खस नै हुन्। बाहुन बनाइएका मस्टो पूजकहरू पनि खस नै हुन्। जति बेला खसहरू नेपाल आए, उति बेलाको चालचलनमा जातपात नै थिएन। धर्म थिएन। देवी देउता पनि थिएनन्।

हतारको काम लतारपतार भन्छन्। हामी त्यस्तो हुन नदिऊँ। सम्पूर्ण अधिकार पालिका सरकारसँग छ भन्ने संघीयताको सच्चाई जनजनमा पुर्‍याऊँ। त्यसपछि डोभल वा कसैले प्रधानमन्त्रीलाई सुटुक्क भेटुन् कि नभेटुन् हामीलाई के वास्ता!

देवी देउता मान्ने हिन्दु आर्यहरूको आगमन नेपालमा इसाको पहिलो शताब्दीमा भएको हो। सुरा थिए हिन्दु आर्यहरू। मेसोपोटामियाबाट दक्षिण पूर्व लागेका हिन्दुहरूबाट नै जातपात, जनैधारी, जनै नलगाउने कुरो त त्यसपछि पो आएको रहेछ।

म जस्ता अज्ञानी खस हिन्दुहरू लाखौँ छन् नेपालमा। अहिलेको ८१ प्रतिशत हिन्दुबाट हामीजस्ता खसलाई अलग गरिदिने हो भने हिन्दुहरूको सङ्ख्या आधै घट्छ। पहिले हिन्दु भनिएका किराँतहरूमा पनि स्वतन्त्र ढंगले धर्म छान्न पाए उनीहरू आफ्नै प्रकृति पूजा छान्छन् नि! अनि हिन्दुको प्रतिशत कति हुन्छ ? तपाईंहरू नै भन्नु होस्।

कतिपय विद्वानहरू, दशैं तिहारको आधारमा खसहरू आर्य हिन्दुसँग एकाकार भएको कुरो पनि गर्दा रहेन। दशैं तिहार जस्ता चाडपर्वको अलग्गै अनुसन्धान गर्नुपर्छ। यस्ता राष्ट्रिय पर्वहरू कुनै एउटा जातिको हकमा जाँदैनन्। यिनको आरम्भ परम्परा बनिसकेको छ अहिलेसम्म। दशैं तिहार मस्टो पूजकको भएको छ यति बेला। अरूको त के कुरा गर्नु र। बुद्ध धर्मावलम्बीहरू मजाले मनाउँछन् दशैं, तिहार।

दलितहरू पनि हिन्दु धर्मसँगै आएका हुन् नेपालमा। मान्छेलाई दलित र अदलित बनाउने भनेको हिन्दु धर्मले नै हो। खसहरू जातपात मान्दैनथे। त्यसैले उनीहरूलाई खसले ल्याए भन्न मिल्दैन।

आर्य भनिने जात मेसोपोटामिया भन्दा पश्चिम जाँदैन। सिन्धु नदी तरेपछि उनीहरू आफूलाई हिन्दु भन्न थालेका हुन्। किनभने उनीहरू ‘स’लाई ‘ह’ बोल्थे। तर खसहरूको उदगम् स्टेपीतिर हो। स्टेपी भनेको सोभियतसंघका पश्चिमका राज्यहरू हुन्। जस्तो कि हँगेरी, बुल्गारिया यस्तै यस्तै।

हाम्रा धेरै नेताहरूले स्वयम् आफूलाई नचिनी राजनीति गरे। आफैँलाई नचिनी राजनीति गर्नेले कसको राजनीति गर्ने हो। नेपालमा धेरै राजनीतिक पार्टी छन्। ती सबैले नेपालका खस र दलितहरूको जात हुँदैन भनेर बेलैमा भनिदिएको भए अहिले यति कठिन घडी आउने थिएन।

खस भए पनि आफूलाई ठूलो मान्नेहरूलाई चोट त लाग्ला नै। तर, असत्यको शान बोकेर बस्नुभन्दा सत्यको चोट बोकेर बस्नु राम्रो कुरा हो। हतारिएर नेताहरूले ल्याएको वर्तमानलाई सकार्नुस् र सुधार्नुस्।

अब फर्किने ठाउँ छैन भन्ने सत्यलाई सबैले बुझ्नुहोस्। अब फर्किने कुराले दलाल पुँजीवाद र ठग नेताहरूलाई फाइदा दिन्छ। राम आए रामसँगै श्याम आए श्यामसँगै भन्नेहरूको दिन नआओस् भन्ने हो सङ्घीयतालाई जनताको घर दैलोमा पुर्‍याउनुस्।

हतारको काम लतारपतार भन्छन्। हामी त्यस्तो हुन नदिऊँ। सम्पूर्ण अधिकार पालिका सरकारसँग छ भन्ने संघीयताको सच्चाई जनजनमा पुर्‍याऊँ। त्यसपछि डोभल वा कसैले प्रधानमन्त्रीलाई सुटुक्क भेटुन् कि नभेटुन् हामीलाई के वास्ता! हामी हौँ नागरिक, प्रदेश र स्थानीय सरकारका।

हाम्रा मागहरू स्थानीय सरकारले पूरा गर्ने हो। पालिका सरकारले राम्रो काम गरे भने जतासुकै जाऊन् झैँ-झगडालाई ठूलो राजनीति मान्नेहरू। –थाहाखबरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्