नेकपा सचिवालय बैठक सुरु, कसको रणनीति के ?

Nekapa_Sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। यसअघि बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो। तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीमा सुरक्षा खतराको कारण देखाउँदै बालुवाटारमै बैठक बस्न अनुरोध गरेका थिए।

बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने छ। तीन दिनअघि अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो। कात्तिक २८ मा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए। उक्त प्रतिवेदनमा ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरिएका कारण त्यसको प्रतिवादमा अध्यक्ष ओलीले मंसिर १३ मा जवाफी प्रतिवेदन पेस गरेका हुन्।

आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ। साथै, अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले ओलीको प्रतिवेदनको जवाफमा अर्को प्रतिवेदन पेस गर्ने बताइएको छ। ओलीले पार्टी एकताभन्दा पहिलाका घटना र सन्दर्भ निकालेर अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिने निष्र्कषमा प्रचण्ड-माधव नेपाल पक्ष पुगेको हो। र, प्रचण्ड-नेपाल पक्षधर ती सबै प्रतिवेदन र अध्यक्षद्धय प्रचण्ड र ओलीबीच आदानप्रदान भएका पत्रहरूसमेत स्थायी समितिको बैठकमा छलफल गर्न लैजानुपर्ने पक्षमा छन्।

ओली पक्षको मनस्थिति भने ‘दुवै प्रतिवेदनलाई थन्क्याएर नयाँ सहमति गरौँ’ भन्ने रहेको र त्यसैका लागि पहल गरिरहेको एक नेताले बताए। उनका अनुसार प्रचण्ड र ओलीलाई मिलाउन केही नेताहरूले दौडधुप गरेका छन् र खुमलटार तथा बालुवाटारमा बैठकअघि भेटघाट गरेका छन्। पछिल्ला दिनमा यो समूह अध्यक्ष ओलीलाई अध्यक्ष र प्रधानमन्त्री एक पदबाट हटाउने रणनीतिमा छन्। सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा समेत बहुमत रहेको दाबी गर्दै प्रचण्ड-माधव समूह ओलीमाथि दबाब बढाइरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्