कस्ताे अवस्थामा पड्किन्छ ग्याँस सिलिण्डर ?

Gass pic
  • 6
    Shares
लोकपाटी न्यूज

के तपाईंले कहिले सोच्नु भएको छ, हामीले दिनहुँ प्रयोग गर्ने प्रेसर कुकरमा सिठी नभएको भए के हुन्थ्यो होला? यसको उत्तर जति सहज छ त्यति जटिल पनि, त्यो पड्किन्छ र दुर्घटना निम्त्याउँछ। ठ्याक्कै यस्तै, हाम्रो भान्सामा नभई नहुने (एलपिजी) ग्यासको भाँडो नि उत्तिकै जटिल वस्तु हो।

सामान्य रूपले बुझ्दा हामी भन्ने गर्छौं, ‘ग्यास सिलिन्डर पड्किन्छ है’, तर त्यो किन र कसरी पड्किन्छ र यसकोबारे बुझेर सावधानी अपनाए, दुर्घटनाबाट जोगिन सकिन्छ।

तपाईंको घरमा ल्याइने हरेक सिलिन्डरमा दुई वटा कुरा नियालेर हेर्नुस्, पहिलो त्यसको भुडीमा (बीच भाग) मा वेल्डिङ प्रविधिबाट दुई फलामका टुक्रालाई जोडिएको हुन्छ र दोस्रोमाथि भागमा लेखिएको एक्स्पाइरी डेट, यो एक्स्पाइरी मितिमार्फत् उपभोक्तालाई उक्त समयसम्म वेल्डिङ गरिएको भागबाट ग्यास लिक हुँदैन भनेर दिएको सूचना भनेर बुझ्न सकिन्छ (मिति नाघिसकेका सिलिन्डरबाट ग्यास लिक हुने प्रबल सम्भावना हुन्छ)।

उक्त मिति नाघिसकेका सिलिन्डरहरू हाम्रा भान्सामा भई, थाहा नपाई सूक्ष्म गतिमा लिक भैरहेको पनि हुन सक्छ। के ग्यास लिक हुँदैमा सिलिन्डर विस्फोट हुन्छ त ?

सिलिन्डर विस्फोट भनेको ग्यास लिकबाट अन्तिम अवस्थामा आइपर्ने भयानक मोड हो। ग्यास लिकपश्चात हावामा फैलिएको ग्यासले आगोको सानोभन्दा सानो झिल्को सम्पर्कमा आए आगो तत्काल समाइ हाल्छ।

तत्पश्चात, सिलिन्डर को वरपरको तापक्रम बढेको हुनाले, सिलिन्डरभित्र रहेको तरल पदार्थको पनि तापक्रम र चाप दुवै उच्च विन्दुमा पुग्छन्, तर हामीले सुरूमा बुझेझैं प्रेसर कुकरमा जस्तो सिठी सिलिन्डरमा जडान नगरिएको हुनाले सिलिन्डर विस्फोट हुन्छ।

केही समयअघि लेबनन राज्यको बेरुइत सहरको घटनालाई यसको उदाहरणका लागि लिन सकिन्छ। जडान गरिने हो भने विस्फोटबाट जोगिन भने अवश्य सकिन्छ।

तसर्थ, यसको रोकथामका लागि के गर्ने त ?

१. नेपाल सरकार तथा नापतौल विभागले उक्त मिति नाघिसकेका सिलिन्डरलाई पुनस् बजारमा ल्याइनु अघि त्यसलाई उचित रूपले ल्याब टेस्ट (हाइड्रो टेस्ट) गरी नयाँ एक्स्पाइरी मितिका साथ मात्र बजारमा ल्याइने कुरामा ध्यान दिन अति आवश्यक छ।

२. उपभोक्ताहरूले मिति हेरेरमात्र सिलिन्डर प्रयोगमा ल्याउन आवश्यक छ। मिति हेर्न सहज छ, हरेक सिलिन्डरमा A-06, B-09, C-10, D-07 कोड देख्नन सकिन्छ। A (Jan, Feb, March), B (April, May, June), C (July, August, September), D (October, Nov, Dec)

३. पाइप र रेगुलेटरजस्ता कुरालाई पनि बेला बेलामा फेर्ने जरूरी छ। हरेकचोटि प्रयोग गरेपछि झन्झट नमानी पूर्ण रूपले बन्द गर्न पनि उत्तिकै आवश्यक छ।

४. सिलिन्डरलाई भुइँमा उभ्याएरमात्र प्रयोग गर्ने, लडाइएको अवस्थामा प्रयोगमा कहिले नल्याउने।

५. मिल्ने भएसम्म सिलिन्डरलाई घर बाहिर राखेर प्रयोगमा ल्याउने।

लेखक मेकानिकल इन्जिनियर हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्