सचिवालयमा ओली एक्लाे

PM_KP_OLI
  • 155
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकमा साथ दिनेमा महासचिव विष्णु पौडेल मात्र देखिएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल गर्ने या नगर्ने भन्ने धारणा राख्नबाट पौडेल पन्छिएका थिए। उनी दाहालको प्रस्ताव ‘अमिल्दो’ धारणा राख्दै फिर्ता लिनुपर्ने अडानमा रहे।

मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् ? भन्ने प्रश्न गरेका थिए।

सचिवालयका एक सदस्यका अनुसार ओलीले आफूतिर लक्षित गरी प्रश्न गरेको बुझाइमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी गम्भीर मोडमा रहेको, त्यसका लागि दुई प्रस्ताव अगाडि आएको र तिनै विषय बैठकका कार्यसूची हुने बताएका थिए। प्रचण्डको यस्तो भनाइपछि ओलीले आरोप पत्रमा छलफल हुन नसक्ने अडान राखेका थिए। ओलीले सुरुवातदेखि अन्तिमसम्म आज शब्दवाणले बैठक प्रभावित गर्न खोजका एक सचिवालय सदस्यले बताए।

उनले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए। सुरुवातमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई गाली गरेर बैठक सुरु गरेका ओलीले अन्तिममा पनि मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन भनेर बाहिरिएका छन्। ओलीले बैठकमा आफू नै सर्वेसर्वाको तरिकामा प्रस्तुत भएका सचिवालय सदस्यहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीको त्यही धारणा थियो। तर, अरु सदस्यले प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफलमा भाग लिइसकेको अवस्थामा ‘फिर्ता लिने’ तर्क राख्नुको कुनै अर्थ नहुने अडानमा रहे।

दाहाललाई बीचमा रोक्दै ओलीको आक्रोशित वाक्य आयो, ‘यस्ता वाइयात आरोप-पत्रमा छलफल हुन सक्दैन। सबैको साख मात्र गिरेको छैन, म स्वयं र पूरा मन्त्रिमण्डलको बेइज्जत गरेको उक्त पत्र तत्काल फिर्ता वा खारेज हुनुपर्छ। यसमा छलफल हुन सक्दैन। यस्तो एजेण्डा आफैसँग राख्नुस्।’ त्यतिमात्र होइन, ओलीले दाहालको ‘प्रस्ताव स्वीकारयोग्य छैन’ भन्दै त्यसमा माफी माग्नुपर्ने जिकिर समेत गरे।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक जारी रहेको र बुधबार १ बजे पुनः बैठक बस्ने तय भएको जानकारी दिए। उनले भने, ‘हामी दुवै प्रस्तावमा छलफल हुनुपर्छ भन्नेमा छौं। फरक-फरक प्रस्ताव भएपछि केही विषयमा सहमति, असहमति हुन्छ नै। बाहिर आए जस्तो अवस्था होइन। छलफल अघि बढाउनु पर्छ भन्नेमा हामी सबै अडिग छौं। छलफल र बहसबाट निकास निस्किन्छ।’

दाहाललाई पार्टी एकतामा अड्ने हो भने यो आरोप-पत्र फिर्ता लिएर माफी माग्नुपर्ने प्रधानमन्त्रीको धम्कीपूर्ण भाषापछि बैठकले फरक मोड लिएको अर्का सदस्यले बताए। ओलीले लगातार बोल्न थालेपछि पार्टी प्रवक्ता श्रेष्ठले ओलीलाई रोक्दै प्रश्न गरे ‘बैठकमा तपाईं मात्र बोल्ने हो र?’ उनले अर्का अध्यक्ष दाहाल र अरु सदस्यका पनि धारणा सुन्नुपर्छ कि पर्दैन भनी आक्रोश पोखेका थिए।

ओली पक्षमा देखिएका थापाले समेत प्रस्ताव आइसकेपछि तलसम्म बहसमा लैजानुपर्ने धारणा राखेपछि ओली झस्किएका थिए।

प्रधानमन्त्री ओलीले महाधिवेशन पछाडि लागू हुने विषय तत्काल स्वीकार गर्न नसकिने अडान पनि लिएका थिए। सचिवालय सदस्यहरूले ओलीको त्यो आक्रोशित रुप देखेपछि टिप्पणी गर्दै भने, ‘हामीलाई उत्तेजित गराएर तपाईं पार्टी फोर्न चाहनुहुन्छ। हामी निकै संयमित रहेर कुरा गरिरहेका छौं भने उत्तिकै गम्भीर पनि छौं ।’

दाहालले सदस्यहरूलाई शान्त र संयमित भएर बोल्न सुझाएका थिए। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समस्याको जड अध्यक्ष ओली र उनको गुट भएको धारणा राख्दै प्रस्तावहरू स्थायी समितिमा बहसमा लैजानुपर्ने भनाइ राखेका थिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्