‘प्रधानमन्त्रीज्यू, ढुकुरे छातीले राजनेता भइँदैन’

Daljit Sripali
  • 581
    Shares
लाेकपाटी न्यूज

बालुवाटार नेकपाको पार्टी कार्यालय होइन। त्यो त सम्माननीय प्रधानमन्त्रीज्यूको निवास हो। पार्टी केन्द्रीय कार्यालय धुम्वाराही र पेरिसडाँडा छोडेर प्रधानमन्त्रीको निवास गई बैठक बस्दा पार्टीभित्रको उत्पन्न राजनीतिक, सैद्धान्तिक, कार्यशैलीगत, प्रवृत्ति लगायतका अन्तरविरोधको निकास निस्किदैन। पार्टी योजना तथा कार्यक्रम प्रभावित बन्छ र गतिहिन हुन्छ।

पार्टीको बैठक पार्टी विधि, विधान, पद्धति, प्रणालीअनुसार अगाडि बढ्नुपर्छ। तर नेताहरुले आफैले लेखेका पार्टी राजनीतिक प्रतिवेदन, विधान, अन्तरपार्टी निर्देशन, सर्कुलरहरु पढ्न र लागू गर्न छोडेर मनोगतवादी अराजकतावादी बनेपछि पार्टीको तत्कालीन तथा रणनीतिक कार्यदिशा कार्यन्वयनमा गुणात्मक उपलब्धीको अपेक्षा गर्नु बेकार हो। वर्तमान परिस्थितिमा बालुवाटारमा सचिवालयको बैठकबाट मात्र ूनिकासू खोज्नु ‘टाइम किल’ गर्नु मात्र हो। यसबाट कुनै प्रगति र उपलब्धि हुँदैन भन्ने कुरा प्रष्ट भइसक्यो।

संसारमा विरलै होला, दुर्लभ कुरा पार्टी अध्यक्ष अल्पमतमा परेर बैठक बसाल्दिनँ, निर्णय मान्दिनँ भन्दै ठाडो चुनौती दिने, बैठकबाट भाग्ने, बारम्बार पन्छिन खोज्ने। यतिमात्रै होइन, सर्वसत्तावादी प्रवृत्तिले ग्रस्त भई सत्ता, शक्ति, साधनश्रोतको दुरुपयोग गर्दै पार्टीभित्र र बाहिर चौतर्फी हमला गर्दै दम्भ, अहँकार, अहमता, घमण्ड देखाउँदै बालुवाटारमा जमेर पार्टी फुटको कदम चाल्ने, दल विभाजनको अध्यादेश ल्याउने, निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता गराउने, मदन भण्डारी फाउन्डेसनमार्फत् देशव्यापी गुटका बैठक, भेला, प्रशिक्षण सञ्चालन गर्ने, सांसद अपहरण, भ्रष्टाचारीको संरक्षण गर्नेजस्ता राजनीतिक अनैतिक कार्यहरुले पार्टी र सरकार नै जनताका नजरबाट गिरेका छन्। गल्ती आफूले गर्ने दोष अरुको टाउकोमा थोपरिदिने कार्य र आफूमाथि उठेका गम्भीर सवालहरुलाई ‘खारेज गर्छु’ भन्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘थेगो’ बनिसकेको छ।

उखान टुक्काले पार्टी र सरकार अनि देश चल्दैन। घुर्की, धम्की, घमण्ड, दम्भ, प्रतिशोध, आक्रोश र बदलाको कुत्सित मनसायले सामूहिक नेतृत्व पनि बनिँदैन। राजनीतिक सैद्धान्तिक रुपमा आफूसँग विमति राख्ने सबैलाई सिध्याउने निषेधग्रस्त दिमागले नै आज चौतर्फी दुश्मन देखिरहनुभएको छ प्रधानमन्त्री तथा पार्टी अध्यक्षले। आज आफ्नै पार्टी कार्यालय धुम्वाराही र पेरिसडाँडा पनि ‘भुत’ वा डरको केन्द्र बनेको छ। पार्टी र सत्ताको प्रमुख यति शक्तिशाली व्यक्तिले आफूलाई असुरक्षित ठान्नु ‘राष्ट्रिय बेइज्जती’ हो, अन्तर्राष्ट्रिय ‘लाज’ हो। प्रधानमन्त्री जत्तिको सुरक्षित व्यक्ति आज देशमा अरु को छ र ?उहाँ जतिको ऐश, आराम, सुख सयलमा अरु को छ र ? जनताको आवाज हो यो।

सचिवालयमा ३ जनालाई काखी च्यापेर ४४५ जना केसस, ८ लाख पार्टी सदस्यहरु र करिव ३ करोड नेपाली जनताको नेतृत्व गरिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले ‘पार्टी राजनीतिक नैतिकताको प्रश्न’ सोच्छन कि सोच्दैनन्, यो गम्भीर सवाल हो। हुन त नैतिकता नै सिद्धिएपछि नैतिकताको के अर्थ ? देश र जनताको सेवा त परै जाओस्, राजनीतिक व्यापारीलाई व्यापारकै मोह। देश बर्बादितिर जाओस् के चिन्ता ? प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई देश र जनताको चिन्ता छैन्। केवल चिन्ता छ त आफ्ना आसेपासे भरौटे र गुटको। मतलव छैन पार्टी, नेतृत्व, कार्यकर्ता र जनताको।

मंसिर १६ गते नेकपा सचिवालयको बैठकको ‘सिन’ हेर्दा हामी सर्वसाधारणलाई समेत उत्तेजित बनाउने खाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको अभिव्यक्ति राजनीतिक नेतृत्वमा हुने ‘विशेषता र गुण’ होइन। जनस्तरबाट उहाँको कार्यशैली र प्रवृत्तिलाई भत्र्सना गरिरहेका छन्। यस्तो परिस्थितिमा अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्न नैतिकताले दिँदैन उहाँलाई। सर्वसत्तावादी प्रवृत्ति, व्यक्तिवादको पराकाष्ठाले पार्टी चल्दैन। देश र जनताको हित हुँदैन।

देश र जनताको भाग्य र भविष्यको फैसला, पार्टी, नेतृत्व, कार्यकर्ताको चिन्ता, जनयुद्ध र जनआन्दोलनका उलब्धीहरुको रक्षा, पार्टीका तत्कालीन तथा दीर्घकालिन रणनीतिक कार्यदिशा कार्यान्वयनको अभिभारा बोकेर अगाडि बढिरहनु भएको छ कार्यकारी अध्यक्ष क. प्रचण्ड लगायतका नेताहरु। केपी प्रवृत्तिलाई पराजित गर्दै सर्वसत्तावादी शैलीको अन्त्य नगरी पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा छन् शीर्ष नेताहरु पनि। यसमा पार्टी कमिटी, जवस, मोर्चाहरु र जनताको पनि चाहना र समर्थन छ। पार्टीमा समस्या केपी हुन् भने समाधान प्रचण्ड हुन् भन्ने सबैलाई हेक्का छ।

‘मैले भनेको नमान्ने, यस्ता बैठकको अर्थ छैन, म व्यस्त छु आउँदिनँ’ बैठकको अन्त्यतिर प्रधानमन्त्री तथा पार्टी अध्यक्षले व्यक्त गरेको अभिव्यक्तिले उहाँ विखण्डन, विभाजन, सर्वनाशको बाटो हिडिरहनुभएको छ भन्ने पुष्टि गर्दछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सर्वसत्तावादी प्रवृत्ति, गलत कार्यशैली, दम्भ, अहँकार, घमण्ड र धम्कीले कोही झुक्दैनन् स्वाभिमानी कर्तव्यबोध गरिरहेका जिम्मेवारी सदस्यहरु। गुटबाहेक अरु कसैले मान्दैन र पत्याउँदैन प्रधानमन्त्री तथा पार्टी अध्यक्षको कुरा। बरु कि सच्चिनुपर्छ नभए पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदमा टाँसिरहनु राजनीतिक नैतिकताले पनि दिँदैन।

यसका लागि पनि कार्यकारी अध्यक्ष प्रचण्डसहितको टीमले सबै विषयहरुलाई केन्द्रीत गरी पार्टी कमिटीमा ल्याउनुपर्छ। राजनीतिक सैद्धान्तिक बहस र नीतिगत विषय हो, ढिलाई गर्नु हुन्न। सचिवालयमै ल्याङल्याङ गरेर अल्झिने, अल्मलाउने काम गर्नु हुँदैन र छुट पनि छैन। जे हुन्छ कमिटी बैठकले गर्छ। पार्टी विधानअनुसार निर्णय गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्