नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ

Ramchandra-Poudel
  • 47
    Shares
लोकपाटी न्यूज

तनहुँ। नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन्। तनहुँमा पुल उद्घाटनका लागि पुगेका कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

व्यास नगरपालिका १ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो। प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय लगेको बताएको छ। नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो। एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्