ओलीले सचिवालय बैठकमा आएर प्रष्टीकरण दिनुपर्छ : झलनाथ खनाल

jhalanath_khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बैठकमा आएर स्ष्टीकरण दिनुपर्ने बताएका छन्।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले यस्तो बताएका हुन्। बुधबारको सचिवालय बैठकमा ओलीलाई नेताहरुले अबेरसम्म कुरेपनि अनुपस्थित भएका थिए।

‘आजको बैठकमा केपी कमरेडलाई धेरै बेरसम्म कुर्यौँ। उहाँ आउनु भएन,’ उनले भने, ‘उनलाई प्रष्टीकरणका लागि तीन दिनको समय दिएका छौँ। त्यति बेलासम्म बैठकमा जवाफ दिनुहुन्छ भन्ने विश्वास छ।’

पार्टी कमिटीमा उठेका विषयमा ओलीले जवाफ दिनुपर्ने खनालले बताए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक तोेकेको छ।

ओलीले मंगलबारको बैठक समेत बस्न रुचि देखाएका थिएनन्। तर प्रचण्डसहित बहुमत सचिवालय सदस्यले बैठक बस्न आग्रह गरेपछि बसेको थियो।

आज २० मिनेट मात्रै बसेर नेकपाको सचिवालय बैठक सकिएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित थिए। आज बसेको बैठक मंसिर २० गते फेरि बस्ने गरी सकिएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ। भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठकसमेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ।