‘ओलीमाथि अनुशासनको कार्वाही’

KP_OLi
लोकपाटी न्यूज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता गम्भीर संकटको मोडमा छ। अहिलेको यस संकटले एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा नयाँ एकताको माग गर्छ। साथमा पार्टी एकताको रक्षा, देश जनताको आशा अपेक्षा र कम्युनिस्ट आन्दोलनको भविष्यप्रति जबाफदेहिता नेतृत्वको भूमिकामा खोजिरहेको छ। नेकपाभित्रको संकटले नेतृत्वमा व्यापक रूपान्तरणको अपेक्षा पनि गर्दछ। तर पार्टी नेतृत्वको गतिविधि हेर्दा सकारात्मक लक्षण भने देखिँदैनन्।

एकतापछिको लामो समय पार्टीका निर्यणहरु कार्यान्वयनबाट नेतृत्व विमुख रह्यो। पार्टीप्रति इमानदारिता कायम हुन सकेन। यसको प्रत्यक्ष असर एकतामा पर्‍यो। समयमा एकताले पूर्णता पाउन सकेन। महाधिवेशनको प्रक्रिया सुरुसमेत भएन। नियमित पार्टी बैठकहरू बस्न सकेनन्। पार्टी र सरकारका काम कारबाहीको मूल्यांकन गर्ने विषय त प्राथमिकतामा समेत परेनन्। नेतृत्व तहमा देखिएको दम्बं, घमण्ड, अहंकार यी विषयवस्तुका जिम्मेवार पक्ष हुन्। जसले पार्टीमा अन्तरसंघर्षलाई जन्म दियो।

शीर्ष नेतृत्वबिच चलेको अन्तरसंघर्षले घुर्वीकरणको रूप धारण गरेको छ। बहुमत सचिवालय सदस्यहरूको सहमति र समर्थनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। प्रचण्डको प्रतिवेदनमाथि अर्का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखे। उनले आफूले पनि प्रतिवेदन ल्याउने इच्छा जाहेर गरेपछि १० दिनको समय उपलब्ध गराइयो। ओलीले ल्याउने प्रस्ताव कस्तो आउला ? सर्वत्र चासोका चासो बढेर गयो।

अहिले जारी सचिवालय बैठकमा ‘दुवै अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन र त्यसअघिका आरोप प्रत्यारोपका पत्र’ विधिवत रूपमा छलफलमा प्रवेश गरेका छन्। छलफलका क्रममा शीर्ष नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। विशेष गरी प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ओली कमरेडले कटाक्षपूर्ण अभिव्यक्ति दिएका छन्। प्रचण्डको प्रतिवेदनलाई अराजनीतिक लालछाञ्नायुक्त अभियोग पत्र संज्ञा दिँदै ओलीले उक्त प्रतिवेदनमाथि छलफल हुन नसक्ने र खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्ति सुन्दा लाग्छ, मार्क्सवादी लेनिनवादी दृष्ट्रिकोणमा आधारित भन्दा, पूँजिवादी तथा सामन्ती निरंकुश अधिनायकत्ववाद हस्को ह्वास ह्वास्ती आउँछ।

चुनाव घोषणा पत्रमा गरिएको बाम प्रतिबद्धता, पार्टी एकताको मूल धेय, उद्देश्य, देश, जनताप्रति गरिएको बाचा बन्धन, राष्ट्रिय, स्वतन्त्र, स्वाभिमानमाथि बढ्दै वैदेशिक निगरानी र हस्तक्षेप, पार्टीको विधि, विधान राजनीतिक दिशाले माग गरे अनुसार नेतृत्वका बुझाइहरूमा स्पष्टता, सामूहिक निर्णय पद्धति कार्यान्वयनको एकरूपताप्रति देखिएको दरार, विकसित अन्तर्विरोध जुन स्तरमा देखा परेको छ त्यसले अधिनायकत्ववादलाई पुष्टि गर्छ। अन्तर्विरोधको वस्तुनिष्ठ हलकालागि हुने छलफलमा प्रकट भएको नेतृत्वको चिन्तन, व्यवहार र कार्यशैली बिरोधाभासी देखिएको छ। पार्टी र सरकारको मात्र होइन हामीले प्राप्त गरेको व्यवस्थामाथि प्रश्न चिन्ह खडा हुन थालेका छन्।

पार्टी एकताको मर्म र भावना विपरीत पूर्व समूह सक्रिय बनाउने प्रयास ओली सर्बोचताका लागि केन्द्रीय भएको जस्तो देखिन्छ। प्रचण्डसहित वरिष्ठ नेताहरूको टिम सधैँ पार्टी एकता सुधारका लागि आफ्ना प्रयत्न केन्द्रित गरिरहँदा ओलीले ‘गुटगत’ भेलाको संज्ञा दिइरहे। वास्तवमा सत्तामा आफूलाई टिकाउन ओलीले नितान्त आत्म केन्द्रित गुटजन्य कार्य गरिरहेका थिए। आफूलाई शक्तिशाली बनाउने क्रममा उनले एकतालाई खतरामा पार्ने काम गरे।

यता आम नेता कार्यकर्ताको भावनालाई समेटेर प्रचण्डले सचिवालयमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा अध्यक्ष ओलीको सैद्धान्तिक, वैचारिक, संगठनात्मक बुझाइलाई उजागर गर्ने प्रयत्न गरिएको छ। पार्टीलाई विधि, विधान, पद्धतिमा सञ्चालन गर्न बहसको माग गरिएको छ। पार्टी निर्णयहरूको कार्यान्वयनमा प्रश्न उठाइएको छ। पार्टी सञ्जालनमा देखिएका समस्याहरूलाई ठोस रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ। तर केपी ओलीले विधि, विधानलाई नमान्ने, पार्टी निर्णय कार्यान्वयन नगर्ने, आफूलाई पार्टी भन्दामाथि राख्ने, पार्टी एकताको सैद्धान्तिक राजनीतिक समझदारी, मूल्य, मान्यता तोडेर पूर्वसमूहबीच धुर्विकरणको प्रयास गर्ने काममा लागे।

उहाँभित्र आत्म केन्द्रित व्यक्तिवादको अहंकारको धुरीले बस्तुगत धरातलको जमिन छाडेर यति धेरै चुलिन थाल्यो कि त्यो पार्टीको भविष्य खतरामा पर्ने स्थिति देखा पर्‍यो। कूटनीतिक अपरिपक्वता, विवादित बोलीका कारण वैदेशिक चलखेल बढ्न थाल्यो। कोरोना नियन्त्रणका लागि समन्वय, सहकार्य, सामूहिक विवेक, बुद्धि र सामर्थ्यको संयोजनको अभावमा आधारभूत श्रमिक वर्ग ज्यालादारी मजदुरहरू भोक भोकै पर्न थाले। एक्लो वीरताको गुड्डी लगाएर त्यो धारणाप्रति बेवास्ता मात्र गरिएन व्यांग्यवाण गर्ने कामसमेत भयो। राष्ट्रिय र सार्वजनिक महत्त्वका कयौँ विधेयकहरू पार्टीमा छलफल नै नगरीकन ल्याएर विवादमा पार्ने काम भयो। एकोहोरो सरकारलाई पार्टीका नेताहरूले सहयोग गरेनन् भनेर पार्टीका नेताहरूप्रति बितिष्णा जगाउन खोजियो। अध्यक्ष प्रचण्डलाई बाहिर देखाउन कार्यकारिणी अध्यक्ष भनियो। तर, भित्र मेरो समर्थन, सहमति स्वीकृति र अनुमतिबिना सिन्को पनी भाँच्न मिल्दैन भन्ने व्यवहार गरियो।

पार्टी एकताको काम अगाडिबढनवाट ब्रेक लाग्दै गयो। वहाँले सहमति नदिएर हलो अड्कीरयो। उहाँमा हेपाहा पेलाह प्रवृत्ति सुधारमा सुधार आएन। भाद्र २६ को स्थायी कमिटीको बैठकका निर्णय मान्छु मान्छु भन्नुभयो तर, निर्णय लागु गर्न आवश्यक ठान्नु भएन। उपरोक्त स्थितिमा प्रचण्डको प्रतिवेदनले अध्यक्ष ओली कमरेडलाई रूपमा अलिकता तीखो आलोचना गरेको छ। सारत त्यो आलोचना शत्रुतापूर्ण होइन, रचनात्मक छ। ओली कमरेडलाई वहाँ आफूभित्र हुर्किरहेको हानिकार प्रवृत्तिबाट जोगाउने अभिप्रायद्वारा सचेत, मित्रवत् र रचनात्मक रूपमा आलोचना गरिएको छ। त्यहाँ भित्र सहयोद्धा कमरेड सच्चियोस् र अर्को नयाँ आत्मीय एकता पैदा होस अभिप्राय लुकेको छ।

मार्क्सवादी लेनिनवादी नजरबाट हेर्ने धैर्यता ओली कमरेडमा थोरै पनि हुने थियो भने, आफूतिर फर्किएर प्रचण्डको राजनीतिक प्रतिवेदनप्रति कृतज्ञता जाएर गर्नुपर्ने हुन्थ्यो। कमरेड प्रचण्डको कमरेडजी मित्र भावको मर्म बोध अनुभूत हुन्थ्यो। आफूप्रति थोरै लज्जा भाव हुनुपर्ने थियो। तर, ‘विनाशकाले बिपरेत बुद्धि’ भने जस्तो अध्यक्ष कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदनलाई ओली कमरेडले ‘लालछनायुत्त अराजनीतिक अभियोग पत्र’ देख्नु भयो। छलफलनै गर्न नसकिने, खारेज गर्नुपर्ने, प्रचण्डले माफी माग्न पर्ने जस्तो अराजनीतिक भाषा प्रयोग गरिरहनु भएको छ। प्रचण्डले कार्वाहीको भागिदार हुन पर्छ भनेर बितण्डतापुर्ण तर्क गर्नुबाट उहाँको नियत कहाँनिर छ भन्ने साफ देखिन्छ।

ओलीले आफ्नो प्रतिवेदनमा समेटिएका विषयहरूले आफूलाई ‘नाङ्गो बादसाह’को रूपमा प्रस्तुत गरेको छ पतित हुन्छ। हिन्दीमा एउटा कहावत छ, ‘तुम सेर हे तो हम सभा सेर हे’ भन्याजस्तो महाआरोपको मिथ्या फेहरिस्त देखिन्छ उनको प्रस्तावमा। विषयको गाभिरता एकातिर छ, प्रस्ताव अर्को तिर दौडाइएको छ। शान्ति प्रकृयामाप्रति बदमासी गरेको, संविधान निर्माणको सहमति भङ्ग गरेको लगायतका विषय उठाएर प्रचण्डलाई दोषी करार गराउनु खोज्नु भएको जस्तो देखिन्छ। जसको पार्टी एकताको अहिलेको सन्दर्भमा कुनै साइनो राख्दैन। पार्टी एकता यता आजसम्म मुलत आफू स्वयम् कारक भएर सिर्जित भएको समस्यालाई डाईभर्सगरि दोष अर्कोतिर देखाएर निकास आउँछ र ?

गर्जेर आएको बाघ भन्दा मुस्कुराएर आएको बाघ दश गुना खर्तनाक हुन्छ। यो शब्द, पार्टीभित्रको बिचार संघर्षमा मालोले व्यक्त गर्नुभएको धारणा हो। कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदन सिधै समस्या केन्द्रित छ। त्यसमा फुल बुट्टा छैन, भाषा शैली ठोस ठोस र मूर्त मूर्त छ। तीखो छ। गर्जेर आएको बाघ जस्तै छ प्रचण्डको प्रतिवेदन। सचेत हुने, सच्चिने रूपान्तरण हुने नयाँ आधारमा नयाँ एकता हासिल गर्ने हेतुले आएको छ। स्यानो सोरले नसुनेपछि गर्जिनु सोभाबिकै नियम हो।

ओली कमरेडको प्रतिवेदन मुस्कुराएर आएको छ। घुमाई घुमाईकन, फुलबुट्टा भरिभरीकन, सब्दजालले पानाहरू भरिएका छन्। सञ्चार र प्रविधि विकासको बाडी नै आएको आजको खुल्ला विश्वमा तथ्यांक बनाउन कुनै गाह्रोको विषय रहेन। ओली कमरेडको प्रतिवेदनमा मुस्किलले एक चौथाइ विषय सच्चाइको नजिक होलान्। अरू तीन चौथाइ विषय बस्तु अतिरञ्जित शब्द जालहरूले भरिएका छन्। प्रतिवेदनका हरेक पानाहरूले अहंकार बोलेको छ, दम्भ र घमण्ड बोलेको छ, अधिक आत्म प्रशंसा र देवत्व करण गरेको छ। वेदना र सुसंस्कार हालिएको छ। तर, त्यो वास्तविकता भन्दा टाढा छ।

प्रतिवेदनमा समीक्षा आत्म प्रसंसाकालागि धेरै ठाउँमा छ। सबै ठिकठाक छ। आफूबाट कतै कमजोरी नै भएकै छैन। कजोरि भएका छन् भने त्यो प्रचण्डको कारण भएको हो भाव बोलेको छ। आत्मसमिक्षा र आत्म आलोचना छैन। प्रतिवेदन,आफूप्रति आग्रह नै आग्रह र अध्यक्ष प्रचण्डप्रति पूर्वाग्रहै पूर्वाग्रह बोकोर एकल्याउने दाउपेचका साथ प्रस्तुत भएको छ। प्रतिवेदनको सार, समाजमा वर्ग छैन वर्गको मुक्ति भइसक्यो भन्ने भाव बोलेको छ। सामाजिक सुरक्षा, जनता, आवास, खरको छानो हटाउने, झोलुङ्गे पुल हटाउने कामको सुरूवातनै समाजवादको आधार निर्माण हो। दिनानुदिन बढ्दै गएको बेरोजगार समस्या, कोरोना उपचार समस्या, रोगले भन्दा भोकले मर्ने डरले नागरिकहरू कामको खोजीमा भारत पलायन भइरहेका छन्। शिक्षा, स्वास्थ्य, बढ्दो भ्रष्टाचार लगायतका श्रमजीवी वर्गका विषयमा ओलीको प्रतिवेदन बेखवर जस्तो छ।

अहिलेको मुख्य विषय ओलीले आफ्नो सोच बदल्नु जरुरी छ। पार्टी एकताको रक्षाका लागि उहाँले लचकता देखाउनुपर्छ। सचिवालयमा पेस भएका राजनीतिक प्रतिवेदन र आरोप प्रत्यारोप पत्रमाथि लेनिनवादी सङ्गठनात्मक पद्धतिका हिसाबबाट निर्णायक छलफलका लागि स्वीकार गर्नपर्छ। दुवै प्रतिवेदन उपर बैठकमा छलफल गरी पार्टीले जे निर्णय गर्छ त्यसलाई मानेर जानु पर्छ। यही कुरा पार्टीका अन्य नेताहरूलाई पनि लागू हुन्छ। यो बाहेक अर्को दायाँ बायाँ बाटो खोज्न थाल्यो भने पार्टी एकताको रक्षा हुँदैन। देश जनताको आशा, अपेक्षाको पूर्ति हुँदैन। कम्युनिस्ट आन्दोलनको रक्षा हुँदैन।

आजको विश्व परिवेशमा कम्युनिस्ट आन्दोलनले खोजेको नेतृत्व, बिचारमा दृढ, वर्ग निष्ठामा कटपबध्द, गतिशील नैतिक र ईमान्दार नेतृत्व हो। समाजवादको आधार तयार पार्नु पर्ने अबिभाररा बोकेको पार्टीको सरकार बहसमा रुचि नदेखाउने हो भने त्यसले सही दिशा समात्न सक्दैन। अध्ययन, खोज, चिन्तन, मनन, बहस, छलफल र अन्तरक्रिया जस्ता सत्य अनबेषणका विधिहरू सरकारको नेतृत्वकर्ताले अवलम्बन गर्नुपर्छ। जनता कार्यकर्ताका सुझाव र मित्रवत् आलोचना सहँदैन, आत्मालोचना गर्दैन, वर्ग संघर्ष र अन्तरसंघर्षवाट खारिन चाहँदैन, सामूहिकता सहँदैन, बुर्जुवा वर्गसँग हिमचिम बढाउँछ, पार्टीभित्रका ईमान्दार निष्ठावान् नेता कार्यकर्ताप्रति शत्रुवत व्यवहार गर्छ, विधि, विधान र पद्धति मान्दैन भने त्यो नेतृत्व जनउत्तरदायी हुन सक्दैन।

बिचार, चिन्तन, आचरण शैलीमा मार्क्सवादी लेनिनवादी मूल्यमान्यताबाट पुरै स्खलित भएर बुर्जुवा बिजातीय वर्गमा बदलि सकेको आत्म एकातिर र शरीर अर्कोतिर भएको नाता भेटिने छ। परिक्षित र परीक्षण हुनबाट डराउने नेताले राष्ट्र, जनता, परिवर्तन, क्रान्तिको आवश्यकता पुरा गर्न सक्दैन।आफूलाई बदल्न नसक्ने नेतालाई राष्ट्र, जनता, पार्टी र आन्दोलनले भरोसा गरिराख्न सक्दैन। वर्ग बिचारप्रतिको निष्ठा भाव, ईमान्दार नेतृत्वकारूपमा नेताहरूले आफूलाई बदल्नै पर्छ। सहिष्णुता, सहनशीलता हार्दिकता, सौहार्दता र सामूहिकता, लचकता हुनै पर्छ। जनता, कार्यकर्ता र नेताहरूका सुझाव र अनुभवबाट सिक्ने, चाहत हुनु पर्छ। व्यक्ति मुखी होइन सङ्गठन मुखी, कम्युनिस्ट आदर्शमा चल्ने आदतमा आउन पर्छ। ब्यक्तीपुजावाद, स्थुतिगन, अहंकार दम्भ, घमण्ड र असहिष्णुता र आडम्बर छोड्नु पर्छ।

पार्टीको बिचार विधि, विधान नियम र र पद्धति निर्णयहरू पालना आफैबाट मूल नेतृत्वमा पहिला लागु हुन्छ। कम्युनिस्ट नेतृत्वले आफ्नै वर्गमाथि साम दाम, दण्ड भेद, जाल, झेल छल, कपट सामन्ती अधिनायकवादी शैली प्रयोग गरेर, नव उदारवादी दलाल पूँजीवादी चरित्रको सहारा लिएर नियन्त्रणमा राख्छु भन्छ भने त्यहाँ स्वतः विस्फोट हुन्छ। मार्क्सवादी लेनिनवादी आधाभुत मूल्यमान्यता संस्कार, संस्कृतिले हामीलाई आजसम्म यहिवाटो हिँड्न सिकाएको छ। नामले मार्क्सवाद, लेनिनवाद, कामले गैर सर्वहारावादी आचरण हुनु हुँदैन। सर्वहारावादी चिन्तन, व्यवहारमा आधारित नेताले आफ्नो वर्गमाथि दम्बं घमण्ड र अहंकार देखाउँदैन। जिम्मेवारी र उदाईत्वले लचक हुन्छ। हमेसा संवेदनशील र जवाफदेही हुन्छ। मैन्त्रीपुर्ण आलोचनाबाट खुसी हुन्छ। आफूलाई अनुभवहरूबाट खार्दै र परिष्कृत पार्दै स्पातिलो गर्बीलो न्यानो बनाउँदै लान्छ।

विश्व कम्युनिस्टको आन्दोलनको ईतिहाँसमा, मार्क्स, ऐङ्ल्गेस, लेनिन, स्टालिन माओ जस्ता महामानवहरूले आफ्नो वर्गमाथि कहिल्यै घमण्ड र अहंकार देखाउनु भएन। आफ्नो जीवन कालभरि आत्म समीक्षा आत्म आलोचना गर्नुभयो। लेनिनले जति सायद विश्व कम्युनिस्ट आन्दोलनमा कसैले आत्म समीक्षा र आत्म आलोचना गरेन गरेन होला। आलोलचनावाट वहाँहरू कहिलैपनि विचलित भएको पाइँदैन। माओले नेतृत्वमा हुनुपर्ने दक्षता, र गुणको यसरी परिभाषा गर्नु भएको छ, दक्षता हासिल गर्न ‘पियानो बजाउन सिक’ भन्नुको अर्थ पियानोको लयात्मक सुमधुर धुन निस्कनका लागि हातका सबै औलाहरू राम्रो चलाउनुपरे झैँ नेतृत्व भनेको पनि समग्र हो भनेका हुन्। कुखुराले जस्तो खोस्रेर उँचाइ नापिँदैन।

गुटको एउटा अंश चलेको आधारमा सिङ्गो पार्टी ठिकठाक चलेको छ भन्नु, गुट विशेषलाई प्राथमिकता दिएर सिङ्गो पार्टीमाथि बेविचार गर्नु नेतृत्वको दक्षता, सबलता, सक्षमता होइन। सबल नेतृत्व भएको पार्टीमा गुट हुँदैन। बस्तीको ठाउँमा समूह हुन्छ। गुटको ठाउँमा पार्टी हुन्छ। सिङ्गो पार्टी रेलको इन्जिनको गतिमा चलायमान भएर एकरूपतामा चल्छ। सबल नेतृत्व भनेको जमेको पोखरी जस्तो होइन। नेपाल कम्युनिस्ट पार्टीमा नेताहरूको विशाल भण्डार छ। ज्ञान, सीप, क्षमता, अनुभव योग्यता, दक्षताको अतुलनीय खानी छ। ओलीमा त्यो अनुपम विशाल दक्षता र क्षमता केन्द्रीकृत गर्ने नियत आँट, हिम्मत इच्छा शक्ति र ईमान्दारिता भएको भए आज अन्तर्विरोध असहज परिस्थितिमा हुने थिएन। पार्टी एकताले पूर्णता हासिल गरी विशाल पार्टी मेकानिजमले देशव्यापी काम गरिरहेको हुने थियो। सरकार एउटा परिमाणात्मक उपलब्धिका साथ हुइँकी रहेको हुने थियो। आफूभन्दा आफ्ना सहयोद्धा साथीहरू बढी क्षमतावान् देखिने र आफू कमजोर पर्छु कि भन्ने डार, त्रास हुने थिएन। तीन तीन वटा पूर्व प्रधानमन्त्री, आफूभन्दा दक्ष, योग्य सिनियर नेताहरूको क्षमता, दक्षता र ईमान्दारितामाथी शंका होइन कदर विश्वास हुनुपर्छ।

दुवै प्रस्तावहरू छलफलमा अगाडि बढेर निर्णयमा पुग्नु पर्छ भन्ने अपेक्षा आम नेता कार्यकर्तामा छ। पार्टी रूपान्तरणसहित नयाँ आधारमा नयाँ एकता कायम गर्न शीर्ष नेतृत्व सफल हुनुपर्छ। कम्युनिस्ट पार्टीमा पार्टी कमिटीको बैठक नै सर्वोच्च र वैधानिक अङ्ग हो। मौखिक वा लिखित प्रस्ताव पार्टी कमिटी बैठकमा पेस हुनु र बिधिवत छलफलमा जानू जनवादी विधि हो। सबैभन्दा कानुनी, वैधानिक र न्यायोचित उत्कृष्ट विधि हो। नेपाल कम्युनिस्ट पार्टीको विधानको धारा ६० को उपदफाले स्पष्ट बोलेको छ, ‘सहमति नहुँदाको अवस्थामा कमिटीको बहुमत अल्पमतका आधारबाट विषय प्रस्तुत र निर्णय प्रक्रियामा जान्छ।’ बहुमतले गर्ने निर्णयलाई निसर्त लागू गर्दै अल्पमतको मतलाई सम्मान गर्नु लेनिनवादी संगठनात्म पद्दतीको मूल आत्म हो। यसरी निर्णय प्रक्रियामा अगाडि बढ्नुको अर्को कुनै विकल्प छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्