ओलीका नेताहरुको चिन्ता : ‘हाम्रो राजनीतिक भविष्य धरापमा पर्‍यो’

KP Oli team
  • 13
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाभित्रको जारी विवादले आफूहरुको राजनीतिक भविष्य संकटमा परेको भन्दै ओलीनिकटका नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। पार्टीभित्रको विवाद समाधानको प्रयास गरिरहेका नेताहरुको बालुवाटारले कुरा सुन्न छोडेपछि उनीहरुले आफ्नो भविष्य धरापमा परेको दुखेसो गर्न थालेका हुन्।

ओलीनिकटका स्थायी समितिका प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्रीले ‘इगो’ छोडेर पार्टी निर्णय मान्नुपर्ने पक्षमा छन्। तर, प्रधानमन्त्रीले उनीहरुको कुरा नसुन्दा समस्या एकपछि अर्को बल्झिाएको भन्दै उनीनिकटकै नेताहरु ओलीको कार्यशैलीबाट आजित भएका छन्। ‘पार्टी निर्णय मान्दिनँ, बहुमतको निर्णय मान्दिनँ, बैठक बस्दिनँ’ जस्ता कुरा गर्दा इतिहासमा गलत नजिर बस्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

फुटपछि भविष्यको लेखाजोखा

नेकपाको ९ सदस्यीय सचिवालयमा ओलीसँग ईश्वर पोखरेल र विष्णु पौडेल छन्। ईश्वर पोखरेल त्यस्ता नेताहरु हुन्, जसले एमाले–माओवादी समीकरणबाट मात्रै काठमाडौंबाट चुनाव जितेका हुन्। सधैं पराजित नेताका रुपमा परिचित पोखरेल खास वैचारिक र संगठनात्मक पकड राख्ने नेता मानिँदैनन्। नेकपा विभाजित भइहाले उनले फेरि चुनाव जित्ने सम्भावना रहँदैन। तर, ओली समूहको नेता भएर राजनीतिक धान्ने सोंचसहित उनी खुलेरै फुटको पक्षमा लागेका छन्।

यता ओली खेमामा उभिएका महासचिव विष्णु पौडेल ढुलमुले चरित्रका नेता मानिन्छन्। नेकपा फुटिहाले उनले ओलीलाई साथ दिन्छन् वा दिँदैनन् भन्नेमा स्वयं ओली विश्वस्त हुन नसकेको बालुवाटारमा चर्चा चल्ने गरेको छ। रुपन्देहीबाट चुनाव जितेका पौडेलको जनाधार पछिल्लो समय नराम्रोसँग खस्किएको छ। बालुवाटारको जग्गा काण्डमा पौडेलको नाम प्रमुख रुपमा जोडिएको र लुम्बिनी प्रदेशको राजधानी दाङ सार्दा त्यसलाई रोक्न कुनै भूमिका नखेलेको उनीमाथि आरोप लाग्दै आएको छ। त्यसकारण उनी स्वयंले पनि पार्टीभित्रको शक्ति सन्तुलन हेरेर निर्णय गर्नसक्ने धेरैको आंकलन छ।

ओली समूहका स्थायी समिति सदस्यमध्ये शंकर पोखरेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ प्रधानमन्त्री लचक भएर पार्टी विवादको समाधान खोज्नुपर्ने पक्षमा छन्। तर, उनीहरुको कुरासमेत प्रधानमन्त्रीले सुन्न छोडेका छन्। तीन नेतामध्ये पोखरेलले पार्टी विवादमा आफ्नो प्रष्ट लाइन लिए पनि राजनीतिक संस्कार प्रदर्शन गर्दै आएका छन्। स्थायी समिति सदस्य ज्ञवाली ओली समूहका सबैभन्दा शालीन र वैचारिक नेता मानिन्छन्। अर्का नेता नेम्वाङ पनि पार्टीभित्र सहमति कायम हुनुपर्ने मान्यतामा छन्। तर, प्रधानमन्त्रीले उनीहरुको सुझाव र सल्लाह लत्याउँदा एकता प्रक्रिया नै जटिल मोडमा पुगेको विश्लेषण गरिएको छ।

पोखरेल, ज्ञवाली र नेम्वाङ ओली समूहमा राजनीतिक भविष्य बोकेका नेता हुन्। तर, पार्टी विभाजन भइहाले उनीहरुले आफ्नो राजनीतिक भविष्यमा जोखिम मोल्नुपर्ने परिस्थिति देखिएको छ। नेकपा फुट्दा उनीहरुसँग क्षमता भएर पनि जनाधार रहने छैन। आफ्नै बलबुतामा नेतृत्वमा आएका यी नेताहरु निरन्तर एकताका लागि प्रयास गर्दै आएका छन्। तर, ओलीले कुनै कुरा नसुन्दा उनीहरुसमेत दिक्दार भइसकेको स्रोत बताउँछ।

‘‘प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नुहुन्न, संकटको बेला इगो लिएर हुँदैन। विवेकले निर्णय लिनुपर्छ। तर, प्रधानमन्त्रीले प्रचण्ड, माधव नेपाललाई देखाइदिन्छु भन्नुहुन्छ’’ नाम उल्लेख नगर्ने शर्तमा ओलीनिकट एक केन्द्रीय सदस्यले भने, ‘‘हामीले न प्रधानमन्त्रीलाई छोड्न सक्छौं, न हाम्रो लाइन ठीक छ भन्ने कुरा प्रमाणित नै गर्न सक्छौं। सरकारको प्रतिरक्षा गर्नसक्ने बलियो आधार नै हामीसँग छैन, हामी आजित भइसकेका छौं। घरिघरि त ‘क्वाँक्वाँ’ रुन मन लाग्छ।’’

दोस्रो तहका नेताहरु मात्र होइन, तेस्रो तहका नेताहरु पनि आफ्नो राजनीतिक भविष्य जोखिममा परेकोमा चिन्तित छन्। ओलीलाई बलियो साथ दिँदै आएका नेता महेश बस्नेतले समेत प्रधानमन्त्री लचक भएर समस्याको समाधान खोज्नुपर्ने मत राख्न थालेका छन्। सधैंजसो प्रचण्ड–नेपालको कटु आलोचकका रुपमा देखिएका गोकुल बास्ँकोटाले समेत एकले अर्कोलाई बदनाम गर्न बन्द गर्नुपर्ने मत राख्न थालेका छन्। यी सबै परिदृश्यले नेताहरु भोलिको आफ्नो भविष्यबारे चिन्तित रहेको देखाउँछ।

ओलीका कुन नेताको भूमिका कस्तो ?

अहिलेसम्मको दृश्य हेर्दा ईश्वर पोखरेल स्पष्ट रुपमा फुटको पक्षमा देखिएका छन्। त्यसैगरि महासचिव विष्णु पौडेलको ढुलमुले चरित्र यसपालिको अन्तर्संघर्षमा पनि देखिएको छ। ओलीले पोखरेलको महासचिव पद खोसेर पौडेललाई दिएपछि २ नेताबिच कटुता बढेको थियो, त्यो कटुता अहिले पनि कायमै छ। पार्टी फुटेको परिस्थितिमा दुवै नेता एकै ठाउँमा रहन्छन् वा रहन्नन्, त्यो कुरा अहिले नै एकिन गर्न सकिँदैन।

स्थायी समितिका सदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ एकताको पक्षमा देखिएका छन्। त्यस्तै ओली पक्षकै स्थायी समितिका सदस्यहरु किरण गुरुङ र छविलाल विश्वकर्मा अहिलेको अन्तरसंघर्षमा मौन बसेका छन्। स्थायी समितिमा पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल खुला रुपमा फुटको पक्षमा देखिएका छन्। ओली पक्षका बलियो खम्बा मानिने रघुवीर महासेठ पछिल्लोसमय प्रधानमन्त्रीसँग चिढिएका छन्।

नेकपाको केन्द्रीय समितिमा रहेका नेताहरुबिच पनि भोलिको भविष्यलाई लिएर गहिरो चिन्ता देखिएको छ। ओली समूहका जो नेता आफ्नै बलबुताले नेतृत्वमा आए, उनीहरु गहिरो चिन्तामा छन्। उनीहरु पार्टी एकता बचाएर निकास खोज्नुपर्ने पक्षमा देखिन्छन्। तर, जसलाई ओलीले ‘क्रेनले तानेर’ नेतृत्वमा ल्याए, उनीहरु जे पर्ला पर्ला भन्ने सोचमा रहेको नेताहरु बताउँछन्।

अलगावमा ओली समूह

अघिल्लो भदौ २६ सम्म अल्पमतमा रहे पनि प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनसक्ने हैसियतमा रहेको ओली समूह पछिल्लोपटक झनझन् अलगावमा पर्दै गएको छ। वामदेव गौतमलाई ब्यालेन्समा राख्ने, रामबहादुर थापा ‘बादल’लाई आफ्नो समूहमा तान्ने, लाभको पदमा रहेका बेला कमजोरी भएका नेताहरुको ‘नाडी छाम्ने र धम्काउने’ तथा प्रचण्डसँग असन्तुष्ट नेताहरुलाई विश्वासमा लिने ओलीको रणनीति पछिल्लो समय थप रक्षात्मक बन्दै गएको छ। मन्त्रीपरिषदमा रहेका नेताहरुलाई ओलीले दवावमा राख्न खोजे पनि निर्णायक परिस्थितिमा सबै नेताहरु आफ्नै कित्तामा उभिने प्रष्ट देखिएको छ।

यता ढुलमुले नेताहरु पनि पछिल्लोसमय दोहोरो भाषा बोल्न थालेका छन्। उनीहरु नेकपाभित्रको शक्ति सन्तुलन कसरी कित्ताबन्दी हुन्छ, त्यो हेरेर आफूलाई त्यतैतिर उभ्याउने जोखाना हेरिरहेका छन्। त्यस्तो परिस्थितिमा ओली समूह थप रक्षात्मक बन्दै जाने परिस्थिति देखिएको छ। ‘ओलीनिकटकै कैयौं नेताहरु ‘प्रधानमन्त्रीको हठसँग सती जान सकिन्नँ’ भन्न थालेका छन्।

मैदानमा छिरेपछि संकट

गत कार्तिक २८ गते नेकपाका अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो राजनीतिक प्रस्ताव प्रस्तुत गरे। प्रचण्डले बैठकमा केही न केही नयाँ कुरा ल्याउँछन् भन्ने अनुमान गरेको भए पनि व्यवस्थित प्रतिवेदन नै आउला भन्ने ओलीले सोचेका थिएनन्। तर, आफ्ना विरुद्ध व्यवस्थित प्रतिवेदन नै आएपछि उनी केही दिन किंकर्तव्यबिमुढ भए। त्यसले ओलीसामु गम्भीर संकट निम्त्यायो।

प्रचण्डको प्रस्तावलाई खण्डन नगरुँ उनले लगाएको अभियोग स्थापित हुने, खण्डन गरुँ दुवै प्रस्ताव नेकपाका प्रस्तावका रुपमा छलफलमा जाने। यस्तो संकटपूर्ण परिस्थितिले ओली केही दिन अलमलमा परे। अन्ततः प्रचण्डको प्रस्तावको खण्डन गर्ने र त्यसपछि बैठक रोक्ने रणनीति लिएका ओलीको रणनीति पनि असफल भइसकेको छ। ओलीको प्रस्ताव नै प्रचण्डको प्रस्तावमाथिको छलफल भएकाले अब उनी भाग्नसक्ने परिस्थितिमा छैनन्। मैदानमा छिर्ने, खेल पनि खेल्ने तर हारेपछि खेलको नियम मान्दिनँ भन्नु अनैतिक कदम हुन जान्छ, यसरी ओली क्रमशः रक्षात्मक बन्दै गएका छन्।

अर्कोतिर प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्ने धम्की दिएका ओलीले आफ्नै प्रस्तावमै ‘आफू संकटकाल लगाउने, सदन भंग गर्ने वा राष्ट्रपति शासन लागू गर्नेजस्तो कमजोर धरातलमा नउभिएको’ बताएका छन्। यसलाई विश्लेषकहरुले गैरसंवैधानिक कदम चाल्न गरिएको प्रयासमा ‘आफ्नैहरुको असहयोग’का रुपमा विश्लेषण गरेका छन्।