सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गरिनेछः देउवा

Sher_Bahadur_Deuba
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट गरेका छन्। काँग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको आरोप पनि लगाएको छ।

‘तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दीखोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा देउवाले भनेका छन्।

उक्त पुलको स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपछि वरिष्ठ नेता पौडेल उद्घाटन गर्न गएका पार्टी कार्यालयले जनाएको छ। उनले घटनाको विरोध गर्नाका साथै काँग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पार्टी वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिले आज साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए।

नेविसंघका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्