काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी मसालले राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा राजावादीहरुले बढाइरहेको सक्रियतालाई हल्का रुपमा नलिन आग्रह गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी यस्ता गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरु एक हुनुपर्ने बताएका छन्।
‘अन्यथा, पौष १ गते र माघ १९ गतेका घटनाहरुको पुनरावृत्ति हुने र त्यसका विरुद्ध नेपाली जनताले पुनः लामो संघर्ष गर्नुपर्ने स्थितिको सिर्जना हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न’ सिंहले भनेका छन्। नेकपा वा अहिलेको सरकारप्रतिको असन्तोषका कारणले गणतन्त्र प्रति नै असन्तोष र विरोधका आवाज सुनिएको भन्दै मसालले तर सरकारको असन्तोषका कारणले राजतन्त्रको समर्थन गर्नु तात्कालिक र दीर्घकालीन दृष्टिकोणले देश र जनताका लागि घातक हुने बताएको छ।
मसालले स्वयं प्रधानमन्त्री र सरकारले भ्रष्टाचार काण्डहरुमा छानबिन गरेर दोषीहरूलाई सजाय दिन पहलकदमी गर्नुको सट्टा बिना कुनै छानबिन आरोपित व्यक्तिहरूलाई सफाइ दिने गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन जायज रहेको धारणा राखेको छ।