ओली पक्षकै नेताहरु भन्छन् : प्रधानमन्त्रीका बिकल्प साँघुरिँदै गएका छन्

KP-Sharma-Oli
  • 4.4K
    Shares
लाेकपाटी न्यूज

काठमाडौँ। मंगलबार नै अनौपचारिक छलफल गरेपछि मात्रै औपचारिक बैठक राखौं भनेका प्रधानमन्त्री ओली बुधबार बैठकमा नआउने सम्भावना शतप्रतिशत नै थियो। उनले आफू बैठकमा सहभागी हुन नसक्ने खबर महासचिव विष्णु पौडेलमार्फत पठाएपछि अध्यक्ष दाहाल र पौडेलका बीचमा बैठक कक्षबाहिर केहीबेर खासखुस चल्यो। लगत्तै बैठक सुरु गरेका अध्यक्ष दाहालले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक बस्न नसकिने भन्दै थप संवादका लागि २० गतेसम्म बैठक रोक्न प्रस्ताव गरेका थिए।

यो प्रस्ताव पारित भएलगत्तै पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले संवाद, छलफल र रणनीतिका लागि ३ दिन समय पाएका छन्। यो बीचमा उनले के गर्लान् त ? ‘प्रधानमन्त्रीज्यूले अनौपचारिक छलफलका लागि मंगलबारकै सचिवालय बैठकमा पनि समय माग्नुभएको थियो,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले सहमतिका लागि जतिसक्दो बढी छलफल नै गर्नुहुन्छ, २० गतेसम्म यसै हुन्छ भनेर निकास निस्किएन भने बैठक पछि सारेर भए पनि सहमतिकै खोजी गरिनेछ।’

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो। आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन। त्यसैले उनी तीन/चारवटा विकल्प तयार पारेर बस्नेछन्, ओलीका कतिपय योजना पूर्वनिर्धारित पनि हुन् । उनले सचिवालय बैठकमा व्यक्त गरेका धारणा, लिखित दस्ताबेज र उनको संगतमा रहेका नेताहरूका कुराअनुसार ओलीको पहिलो विकल्प र प्रस्ताव सचिवालयमा पेस भएका सबै दस्ताबेज फिर्ता गराउने र भदौ २६ को स्थायी कमिटीमा भएका निर्णय कार्यान्वयनका लागि ती निर्णयहरूको पुनर्व्याख्यासहित अघि बढ्नु हुनेछ।

ओली र उनीनिकटका नेताहरू दाहालसित फेरि केही सहमति गरेर जाने प्रस्ताव अघि सार्दैछन्। ‘जस्तो कि महाधिवेशनपछि पार्टी र चुनावी सरकारको प्रधानमन्त्री दाहाल बन्ने गरी फेरि एक पटक लिखित सहमति गरौं भन्ने प्रस्ताव जान पनि सक्छ,’ओलीनिकट एक नेताले भने, ‘माधव कमरेडसँगको संवादलाई पनि जारी राख्छौं।’ तर बारम्बार सहमति गर्ने र कार्यान्वयन नगर्ने भएकाले प्रधानमन्त्री या अध्यक्ष एउटा पदबाट ओलीले स्वविवेकले नै राजीनामा दिनुपर्छ भन्ने धारणा दाहाल–नेपाल पक्षको छ।

ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्री छाडे भने दाहाल प्रधानमन्त्री बन्ने समझदारी यो समूहले पहिले नै गरिसकेको छ। यो परिस्थिति आउँदा प्रधानमन्त्री ओलीले सरकारलाई आफ्नो पहिलो रोजाइमा राख्नेछन्। अहिलेकै अवस्थामा प्रधानमन्त्री ओली पार्टी अध्यक्ष रहिरहन चार महिना बाँकी छ भने प्रधानमन्त्रीका लागि उनीसँग कम्तीमा पनि २ वर्षको समय छ।

उनले महाधिवेशनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्छु भनिसकेका छन् । त्यसैले यो दोस्रो विकल्पमा जानुपर्ने अवस्था आउँदा ओलीले अध्यक्ष छाडेर सरकार चलाउनेछन् । तर वरिष्ठ नेता नेपालसँग सहमति नगरेसम्म ओलीले यो बाटो समात्दैनन् । ‘पहिलो त, पार्टीको तल्लो कमिटीमा पूर्वएमाले सेन्टिमेन्ट छँदै छ, त्यो ठूलो तप्काले कम्तीमा महाधिवेशनअघि दाहाललाई मात्रै अध्यक्ष स्विकार्दैन,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘दोस्रो, अहिले अध्यक्ष छाडेपछि केही समयपछि प्रधानमन्त्रीबाट राजीनामा माग्ने सम्भावना रहन्छ, त्यो हुन नदिन माधव कमरेडसँग सहमतिको प्रयास रहन्छ।’

दाहाल र नेपालले छाड्नु भनेकै आधारमा नेतृत्व छाडेर निरीह बन्नुभन्दा कांग्रेसको समर्थन खोज्ने र जनता समाजवादी पार्टीको एउटा पंक्तिलाई सरकारमा सामेल गराउने भित्री तयारीसमेत छ । ‘पहिलो कुरा त उहाँ आफूलाई सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने ठाउँमा हुनुहुन्छ, दोस्रो, पार्टीमा अल्पमतमा हुनुहुन्छ,’ दाहाल–नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले भने, ‘यसै पनि बहुमतले पार्टी फुटाएको कुनै इतिहास छैन, त्यसमाथि पार्टी फुटाउनै चाहे पनि अहिलेकै कानुनी प्रावधानअनुसार फुटका लागि हामीसँग केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुग्दैन ।’ कान्तिपुर दैनिकमा बिनु सुवेदीकाे समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्