‘ओलीको अडान : झुक्दिनँ, प्रचण्डको अडान : चुक्दिनँ’

Prachanda-KP Oli
  • 1.1K
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। गत निर्वाचनमा अत्यधिक बहमुत पाएर सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद एकपछि अर्को जटिल मोडमा पुगेको छ। कम्युनिस्ट सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको, सरकार अग्रगमनको बाटो छोडेर अघि बढेको र प्रधानमन्त्रीले आफूलाई सर्वेसर्वा ठानेको भन्दै नेकपाका अधिकांश नेताहरु विधि र प्रक्रियाभन्दामाथि कोही पनि हुन नसक्ने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री ओली आफूमाथि नियोजित आक्रमण भएको भन्दै कुनै पनि हालतमा नझुक्ने बताउँदै आएका छन्।

सरकार जतिसुकै बदनामित भए पनि प्रतिरक्षा गरेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भने अब पनि कमजोरीहरुको प्रतिरक्षा गरिए कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने निष्कर्षमा छन्। विगत २ वर्षदेखि प्रचण्डमाथि सरकारले गलत क्रियाकलाप गर्दा पनि मौन बसेको भन्दै आलोचना हुँदै आएको थियो। दुई वर्षको अवधिमा उदार स्वाभावका प्रचण्डको ‘उदारताको फाइदा’ ओलीले राम्रैसँग उठाएका थिए। अहिले पनि ओलीमा त्यही मनोविज्ञानले काम गरिरहेका कारण उनी झुक्न नचाहेको कतिपयको बुझाई छ।

नेकपाले गत निर्वाचनमा समाजवादको राजनीतिक, आर्थिक तथा भौतिक आधार तयार पार्न समानतालक्षित समृद्धिको आधार तय गरेको थियो। वाम गठबन्धनका रुपमा अगाडि सारिएको घोषणापत्रमा धेरै ठूला प्रतिवद्धता जाहेर गरिएका थिए। तर, सरकारले सोअनुरुप काम गर्न छोडेर पञ्चायतकै झझल्को दिने गरी काम गर्न थालेपछि सरकारप्रतिको आक्रोश एकपछि अर्को बढ्दै गयो। पार्टी एकतापूर्व आधा–आधा प्रधानमन्त्रीको सहमति गरेका प्रचण्डले अघिल्लो वर्षको मंसीरमा समृद्धिको लक्ष्य हासिलका लागि सरकारको नेतृत्व परिवर्तन गर्न नहुने भन्दै कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर प्रधानमन्त्रीको चाँबी ५ वर्षकै लागि ओलीको हातमा सुम्पिए। तर, ओलीले त्यसलाई आफ्नो हातमा आएको अवसरका अर्थमा होइन, आफ्नो व्यक्तिगत विजयका अर्थमा लिए।

एकातिर सरकारको काम प्रभावकारी नहुनु, अर्कोतिर प्रधानमन्त्रीले पार्टी जीवनलाई ‘कोमा’मा राख्न खोज्नुका कारण अढाई वर्षको अन्तरालमा पार्टी र सरकार शिथिल बन्दै गएको छ। सरकार र पार्टी शिथिल बन्नुमा आफ्नो उदारवादी कमजोरी पनि जिम्मेवार भएको भन्दै प्रचण्डले राजनीतिक प्रतिवेदनमै लेखेपछि परिस्थितिमा ठूलो अन्तर आएको छ। ‘उदारवादी कमजोरी’का रुपमा प्रचण्डले आफूलाई आत्मालोचित गर्नुले अब उनी लचक भएर परिस्थिति थप बिग्रिन दिने मनस्थितिमा छैनन् भन्ने कुरा नै पुष्टि गर्दछ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक जीवनकै सर्वाधिक कठिन परिस्थितिमा छन्। एकतापछि माओवादी बिरासत ध्वस्त पार्ने अभियानमा तीव्रताका साथ दौडिन खोज्दा ओली आफै अस्तित्व रक्षाको संकटमा फसेका छन्। तर, राजनीतिभन्दा इगो र कुटिल चाललाई आफ्नो आदर्शका रुपमा पछ्याउँदै र अभ्यास गर्दै आएका ओलीले केही त्याग देखाएर भए पनि मूल जिम्मेवारी रक्षा गर्नसक्ने अवस्था र सोचमा छैनन्। ‘विरोधीहरुलाई देखाइदिन्छु’ भन्ने उनको अहंले स्वयं ओली एकपछि अर्को संकटमा फसेका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्ष नै खोसिने, पार्टी नै संकटमा पर्ने र लोकतन्त्र मास्न पुनर्उत्थानवादी शक्तिहरु खल्बलाउने परिस्थितिमा पनि उनीचाहिँ ‘झुक्दिनँ’ भन्दै सर्वनाशको बाटोमा अग्रसर छन्।

यता कार्यकारी अध्यक्ष प्रचण्ड भने यसपालि नचुक्ने मुडमा छन्। ओलीलाई विश्वास गरेर उधारो सहमति गर्दा पटकपटक धोका पाएको र त्यस्तो सहमतिलाई ओलीले अग्रगमनका विरुद्धको हतियार बनाएको भन्दै प्रचण्ड चाहिँ यसपटक ‘चुक्दिनँ’ भन्न थालेका छन्। अढाइ वर्षपछि प्रधानमन्त्री बन्ने सहमति छोडेर कार्यकारी अध्यक्ष लिएका प्रचण्डले आधा–आधाको सहमति छोड्ने आफ्नो उदारताबाट ओलीमा अहंकार पलाएको निष्कर्ष निकालेका छन्। यद्यपि, उनले यसपटक पनि प्रधानमन्त्रीमा रुचि भने देखाएका छैनन्।

लचक भएर सहमति गर्दा पनि त्यो कार्यान्वयन नहुने बरु आफूविरुद्ध नै षड्यन्त्रको हतियारका रुपमा प्रयोग हुने भएपछि यसपटक प्रचण्ड ओलीसँग कुनै पनि सहमति गर्ने पक्षमा छैनन्। पार्टीभित्र विधि र प्रक्रियाको एजेण्डा उठाएका प्रचण्डसामु पार्टीलाई निश्चित पद्धतिमा हिँडाउने जिम्मेवारी पनि छ। त्यसैले उनी सबै कुरा प्रक्रियाबाटै अगाडि बढाउन चाहन्छन्। यसरी ओलीको नझुक्ने र प्रचण्डको नचुक्ने अडानले नेकपा फेरि निर्णायक संघर्षमा धकेलिएको छ।

१९ मंसीर २०७७

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्