प्रधानमन्त्री ओलीको गृह जिल्लामा राजावादीको विशाल प्रदर्शन

  • 52
    Shares
लोकपाटी न्यूज

झापा। प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा गणतन्त्रविरुद्धको नाराजाबाजीसहित राजावादीले विशाल प्रदर्शन गरेको छ। राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको गृह जिल्लामा शक्ति प्रदर्शन गरेको हो।

राप्रपाले मोटर तथा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो। र्‍यालीमा हजारौंको सहभागिता थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरू पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्‍याली सुरु भएको थियो। बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन सुरुवात मात्र भएको बताए।

उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ जुलुसमा सहभागीले ‘गणतन्त्र धोका हो’ ‘राजसंस्था जिन्दावाद’, र ‘हिन्दुराष्ट्र पुनर्स्थापना गर’, ‘सङ्घीयता खारेज गर’ जस्ता नारा लगाएका थिए। ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र कोरोना व्यवस्थापनको नाममा अनियमितता भएको र सरकार असक्षम भएको राप्रपाले झापाको आरोप छ।

ओलीले जिताएका सांसद राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि अपरिहार्य भएको उल्लेख गर्दै भने, ‘सरकारको विषयमा हामीले केही भन्नै परेको छैन जनता नै जानकार छन्। अब यो पूर्णतः असफल भइसकेको छ।’ उनले हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरव र पहिचानसँग सम्बन्धित विषय रहेको दाबी गरे।