‘चोचोमोचोले समाधान दिँदैन’

KP Oli-Prachanda-Madhav Nepal
  • 138
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र उत्पन्न संकटको निवारणका सन्दर्भमा भन्दै आव्हान गरेको स्थायी समिति बैठक मंसीर २८ गते फेरि बस्दैछ। अध्यक्ष प्रचण्डलगायत पाँच शीर्ष नेताहरुले बैठकका लागि सहमति खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र, उक्त पत्रमाथि प्रधानमन्त्री ओलीले दिएको जवाफ, ओलीको जवाफमाथि प्रचण्डले लेखेको प्रतिउत्तर, कार्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव र मंसीर १३ गते प्रधानमन्त्री ओलीले दिएको प्रतिउत्तर अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई बितरण गरी बैठकलाई एक साता धकेलिएको थियो।

बैठक एक साताका लागि धकेलिएपछि नेकपाभित्र सहमतीय प्रक्रियाका लागि नेताहरुले कसरत गर्न थालेको विश्लेषण गरिएको छ। मंसीर २१ गतेको स्थायी समिति बैठकमा आफू अनुपस्थित भए पनि आफ्ना प्रतिनिधिमार्फत् पत्र पठाएर ओलीले स्थायी समितिका सदस्यहरुको सामूहिक विवेकप्रति आफ्नो विश्वास रहेको उल्लेख गरेका थिए। ओलीले स्थायी समिति सदस्यहरुलाई बैठक बहुमत र अल्पमतको निर्णयतिर जान नदिनका लागि हस्तक्षेप गर्न पनि नेताहरुलाई आग्रह गरेका छन्। उनको यो भयमिश्रित र चेतावनीयुक्त अभिव्यक्तिले विधि र प्रक्रियाको वकालत गरेका नेताहरु थप असन्तुष्ट बनेका छन्।

ओलीको पत्रले उनी बैठकमा सहभागी नभए पनि बहुमतीय प्रक्रियाबाट नेकपामा निर्णय भएमा आफू संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन्। ‘स्थायी समितिका सदस्यहरुको सामूहिक विवेकप्रति विश्वास छ’ भन्नुको अर्थ उनीहरुले गरेको निर्णय पनि मान्छु भन्ने लाग्छ नै। तर, ओलीले यसलाई आफूअनुकूल अर्थ्याउन खोजेको देखिन्छ। स्थायी समिति सदस्यहरुले बहुमतीय प्रक्रियामा जान रोके त्यसलाई मान्छु तर बहुमत अल्पमततिर गएमा मान्दिनँ भन्नेजस्तो दोहोरो मापदण्ड ओलीले पत्रमा उल्लेख गरेका छन्, जुन पत्र स्थायी समितिको औपचारिक प्रस्ताव नभए पनि अनौपचारिक छलफलको विषय बन्ने देखिन्छ।

नेकपाको बहस जतिबेलासम्म पार्टीको आन्तरिक जीवनभित्र सीमित थियो, त्यतिबेलासम्म ती मुद्दाहरु अन्तरपार्टी संघर्षका आयाम थिए। तर, अहिले त्यो परिस्थिति छैन। नेकपाभित्र चलेको वैचारिक र सांगठानिक बहसका मुद्दाहरु राष्ट्रिय बहसका मुद्दाका रुपमा स्थापित भइसकेका छन्। कार्यकारी अध्यक्ष प्रचण्डले उठाएका वैचारिक, राजनीतिक, नैतिक र सांगठानिक प्रश्नहरु नेकपाको आन्तरिक जीवनका मात्र सवाल नभएर सिंगो कम्युनिस्ट आन्दोलनको दृष्टिकोण, आन्तरिक र बाह्य राष्ट्रिय एवं लोकतान्त्रिक प्रणालीसँग सम्बन्धित मुद्दा हुन्। अझ सुशासनका क्षेत्रमा उनले उठाएका मुद्दा नेपाली जनजनका मनमस्तिष्कमा जिज्ञासाका रुपमा उठेका विषय हुन्। यी मुद्दाको छिनोफानो नेकपाले मात्र गर्न सक्दैन। राष्ट्रिय राजनीति नै यी मुद्दाहरुमा गहिरो गरी आकर्षित भइसकेको छ।

पार्टीको संकट निवारणका सन्दर्भमा नेकपाभित्र फेरि पनि अध्यक्षद्ववबिच सहमति गराउने प्रयास हुन थालेको छ, जुन कुरा प्रचण्ड–नेपालले उठाएको विधि र प्रक्रियाको विषयभन्दा बाहिर छ। पार्टीको शक्तिशाली र निर्णायक स्थायी समितिको बैठक चलिरहेको बेला पार्टी जीवनमा रणनीतिक महत्व राख्ने विषयहरुको समाधान कमिटी प्रणालीभन्दा बाहिरबाट खोज्न सम्भव छैन। त्यसो गरिएमा त्यो पार्टी लोकतन्त्रको खिलाफमा त हुने नै छ, त्यसभन्दा बढी राष्ट्रिय राजनीतिका अहम् मुद्दाहरुको प्राविधिक समाधान खोज्दा लोकतान्त्रिक प्रतिस्पर्धामा ती प्रश्नमा आत्मघाती ठहरिनेछन्।

अहिले नेकपाभित्र चलेको बहस नेकपाको आन्तरिक जीवनको प्रश्न मात्र होइन, सिंगो लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र राष्ट्रिय सरकारको बहस हो। व्यवस्थित ढंगले विषयको उठान भइसकेपछि त्यसको समाधान पनि वैज्ञानिक विधिसहित क्रान्तिकारी दृष्टिकोणबाट दिन सक्नुपर्दछ। अन्यथा, नेकपाको गोलचक्कर पार्टी जीवन, लोकतान्त्रिक प्रणाली र सिंगो देशकै निम्ति प्रत्युत्पादक हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्