दश वर्षे जनयुद्धमा महिला र कीर्तिमान

  • 10.3K
    Shares
0

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए। लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन।

अपमान र उत्पीडन

नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए/छन्। ग्रामीण भेग र तराईमा त महिलाको स्थिति कहाली लाग्दो थियो र अभै पनि छ। नेपाली समाजमा महिलालाई अबला भनिन्थ्यो/भनिंदैछ र धेरै नेपाली नारीको आफ्नो पहिचान नै थिएन/छैन। उनीहरु सुरुमा बाबुको नामबाट, त्यसपछि श्रीमानको नामबाट र जीवनको उत्तरार्धमा छोराका नामबाट चिनिन बाध्य थिए/छन्। विश्वका धेरै महिलाहरुजस्तै नेपालका महिलाहरु पनि अरु धेरै उत्पीडनका अलावा पितृसत्तात्मक समाजको उत्पीडन सहन बाध्य थिए/छन्। ती अभाव, अपमान र आत्मसम्मानहीन जीवन बाँचिरहेका थिए। ती बोले पोथी बासेको भनिन्थ्यो, तिनले पढे पोइल जान्छन् भनिन्थ्यो, ती हाँसे बेश्या हुन्छन् भनिन्थ्यो नेपालमा महिला खासगरी ‘बुहारी’ बन्ने महिलालाई होच्याउने, खिज्याउने गरी बनाइएका कैयौं उखान छन्। छोरो नजन्मिए महिलालाई दोषी ठहर्‍याइन्छ जबकि त्यसमा पुरुष जिम्मेवार हुन्छ।

त्यसका अलावा बाल, बहु र अनमेल विवाहबाट पनि पीडित हुने महिलाहरु नै हुन्। दाइजो, देउकी, झुमा, कुमारी, छाउपडी, वादी प्रथाहरुले नेपालमा महिलामा झन् उत्पीडन थपिदिएको थियो। नेपालका हजारौं युवतीहरुलाई बेश्यावृत्तिमा लगाउनका लागि दलालहरुले भारतका विभिन्न शहरमा रहेका बेश्याकोठीमा लगेर बेचिदिन्थे/बेचिदिन्छन्। शहरीकरण बढ्दै जाँदा शहरहरु र सडक मार्गवरिपरि बेश्यावृत्ति गर्न धेरै यृवतीलाई बाध्य बनाइएको थियो/छ। त्यसका अलावा विभिन्न सुन्दरी प्रतियोगिता, फेसन सो, मसाज केन्द्र, क्याविन रेष्टुरेन्टका आधुनिक आवरणमा महिलाहरु नै पीडित बनेका थिए/छन्।

त्यसो त नेपालका कैयन राष्ट्रवादी युद्ध एवम् राज्यसत्ताविरोधी विद्रोहमा महिलाहरुले आफ्नो साहसको प्रदर्शन गरेका छन्। अङ्ग्रेजविरुद्ध लडिएको नालापानीको मोर्चामा पुरुषसँगै महिला र केटाकेटीले पनि योगदान गरेका थिए। वि.सं. १९९८/९९ तिर योगमायाले महिला विद्रोह उठान गर्न खोजेकी थिइन। २०३६ को विद्रोह होस् वा २०४६ को जनआन्दोलन महिलाहरु ठीक समयमा अगाडि आएका छन्।

महिलामा समस्या र अधिकारको सही दृष्टिकोण

विश्व इतिहासमा महिलामाथिको उत्पीडन र त्यसबाट मुक्तिका बारेमा गम्भीर र वैज्ञानिक विश्लेषण साम्यवादका प्रवर्तक कार्ल मार्क्सले गरेका थिए। मार्क्स स्वयंले मजदुरहरुको अन्तर्राष्ट्रिय संघको गठन पहल गरेर सन् १८६४ मा महिलाका समस्याहरु किटान गर्दै उनीहरुको अधिकारका लागि उद्घोष गरे। साम्यवादी घोषणापत्र लेखनमा मार्क्सका सहकर्मी फ्रेडरिक एंगेल्सले मातृसत्ताको पतन महिलाहरुको ऐतिहासिक पराजय भएको बताएका थिए। उनले त्यसपछि महिलालाई मनोरञ्जनको साधन, बच्चा जन्माउने मेसिन र पुरुषको दासको स्तरमा अवमूल्यन गरिएको विश्लेषण गरे। त्यसपछिका सबैजसो कम्युनिष्ट क्रािन्त एवम् तिनको नेतृत्वले महिला अधिकारको पक्षमा महत्वपूर्ण कदमहरु चालेका छन्। सन् १९१७ मा रुसमा क्राति हुनेवित्तिकै महिलाहरुलाई पुरुष सरह अधिकार दिइएको थियो। भियतनामका कम्युनिष्ट नेता हो चि मिन्हले महिलालाई युद्धको ‘पावरहाउस’को रुपमा व्याख्या गरेका छन्। विश्वका सबै समाजवादी क्रान्तिहरुमा महिलाको सहभागिता उल्लेखनीय छ। हरेक वर्ष मार्च ८ मा मनाइने श्रमिक महिला दिवस समाजवादी महिला नेतृहरुको संघर्षको प्रतिफल हो।

जनयुद्ध संघर्ष

कम्युनिष्ट पार्टीहरुले वि.सं ३०को दशकदेखि महिलाहरुलाई संगठित रुपमा सक्रिय गराउने हेतु भिन्नै मोर्चा बनाएर सक्रिय गराए। २०४६को परिवर्तनपछि महिलाहरुले आफ्नो अधिकारको संघर्षलाई थप व्यापक बनाए। त्यसका अरु धेरै मागहरुका अतिरिक्त पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार हुनपर्ने एउटा प्रमुख माग थियो। २०५२ पाmगुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन राज्यपक्षलाई नेकपा (माओवादी) ले बुझाएको मागपत्रको महिलासम्बन्धी बुँदामा यस्तो थियो – ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ।’

जनयुद्धको तयारीको क्रममा भएका देशब्यापी आसमभा, विभिन्न जागरण अभियानहरु र साँस्कृतिक कार्यक्रमहरुमा हज्जारौं महिलाहरु परिचालित भए। नेकपा (माओवादी) ले योजनावद्ध रुपमा महिलाहरुलाई आन्दोलनमा र युद्धमा परिचालन गर्ने योजना बनायो। २०५१ सालमा सो पार्टीको वैधानिक मोर्चा (संयुक्त जनमोर्चा) का अध्यक्ष पदमा महिला, पम्फा भुसाललाई मनोनित गरेर माओवादीले महिलाहरु पार्टी नै हाँक्न सक्षम भएको देखाइदियो। भुसाल सम्भवतः नेपालका कुनै राजनीतिक पार्टी (निर्वाचन आयोगमा संयुक्त जनमोर्चाका रुपमा दर्ता थियो) को प्रमुख बन्ने पहिलो महिला हुनुहुन्थ्यो। जनयुद्ध शुरु गर्नुअघि माओवादीले ‘महिलाहरुमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृृसत्तात्मक थिचोमिचो र भेदभाव एवं अन्धविश्वासका विरुद्ध समान अधिकार निमित्त संघर्षका नाराहरु तय गर्न दस्तावेजमै उल्लेख गरेको थियो।

जनयुद्धको तयारीका लागि ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ गर्न थालेपछि महिलाहरुले त्यसमा आफ्नो उपस्थिति देखाउन थालेका थिए। मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा महिलाहरुले सैन्य तालिमहरुमा उत्साहपूर्वक भाग लिए र बन्दुक पड्काउने अभ्यास गरे। मध्यपूर्वकोे एउटा जिल्ला सिन्धुपाल्चोकको कुविण्डेमा एक जना शिक्षकलाई पक्रन गएका प्रहरीहरुलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे। उक्त घटनापछि सो गाउँमा भएको व्यापक प्रहरी दमनमा महिला र केटाकेटीले सास्ती भोगे। दर्जनौं महिला महिनौं जेल परे तर एकजना पनि प्रहरी प्रशासनको अगाडि झुकेनन्।

जनयुद्धमा सहभागिता

२०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एक जना केन्द्रीय सदस्य महिला थिइन् र पूर्णकालीन भएका करिव एक सयजना अगुवा कार्यकर्ताहरुमा एक दर्जनजति महिला थिए। जनयुद्ध घोषणा गर्नै आयोजित विभिन्न प्रहरी चौकीहरुमा कारवाहीको क्रममै महिला सहभागिता भएको थियो।

जनयुद्ध अघि बढ्दै जाँदा सरकारी दमन र माओवादीको योजना अनुसार महिलाहरु दिन प्रतिदिन जनयुद्धमा लामबद्ध हुँदै गए। खासगरी महिला र विद्यार्थी संगठनमा काम गरेका युवती पार्टीको योजनामा पूर्णकालीन हुन्थे। अन्य खासगरी पारिवारिक शोषणमा परेकाहरु थिए। कैयौं महिलाहरुले तिनका श्रीमान र परिवारविरुद्ध विद्रोह गरे र जनयुद्धको प्रक्रियामा हेलिए। प्रहरी वा सेनावाट हत्या गरिएका पुरुषका श्रीमति, अभिभावक वा दाजुभाइ गुमाएका महिला पनि आफ्ना मान्छेकाको हत्याको बदला लिन जनयुद्धमा सहभागी भए। यो अभियानमा राजनीतिक रुपमा सचेत महिलाहरु मात्र होइन सबैभन्दा उत्पीडित क्षेत्रका जस्तै थारु तथा मधेसी, दलित एवं जनजाति समुदायबाट पनि उल्लेख्य उत्साह र सहभागिता थियो।

माओवादी जनयुद्ध यति व्यापक विस्तार हुन र महिलाहरुको सहभागिता सुनिश्चित हुनका लागि माओवादीको महिलाहरुप्रतिको वैज्ञानिक दृष्टिकोण, नीति र व्यवहार नै जिम्मेवार थियो। पुँजीवादीहरु जस्तो कम्युनिष्टहरु महिलालाई वस्तु र मनोरञ्जनको साधनका रुपमा व्यवहार गर्दैनन् बरु उनीहरुलाइै जीवनका सबै आयामहरुमा समान हिस्सेदार ठान्छन्। माओवादीको यस्तै नीति मन पराएर शिक्षा, सम्पत्ति र अवसरको मौका छोडेर ‘उत्पीडित जनताको मुक्ति’को उद्देश्य बोकी सयौं ‘हुनेखाने’ परिवार र वर्गका युवती पनि जनयुद्धमा होमिए।

माओवादी जनयुद्धमा संलग्न भएका महिलाहरुमा अधिकांश किशोरीहरु तथा युवती थिए। यसो हुन किन पनि स्वभाविक थियो भने युवा नै बढी विद्रोही र परिवर्तनमुखी हुन्छन्। त्यसैगरी बिहेवारी गरेर ‘घर बसाइसकेका’ महिलालाई परिवार सन्तान छाडेर हिंड्न त्यति सजिलो कुरा हुँदैन जति अविवाहित युवती वा किशोरीहरुलाई हुन्छ। जनयुद्धमा सहादत प्राप्त गरेका महिलाहरुको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले २०६२ चैत्रमा प्रकाशित गरेको ‘महिला सहिद गाथा’ नामक पुस्तक हेर्दा अधिकांश महिलाहरु वि.सं. ३०को दशकको उत्तरार्ध र ४० को पूर्वार्धमा जन्मिएका थिए जो १८ देखि २५ वर्षभित्रका थिए।

जनसेना महिला

माओवादी जनयुद्धमा महिलाको सहभागिताको प्रभाव त्यसको सैन्य संगठनमा पनि पर्नु स्वभाविकै थियो। नेपालको पुरानै राज्यव्यवस्थाको सैन्य संरचनामा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी बाहेक लड्ने मोर्चामा महिलालाई भर्ती लिइन्नथ्यो। त्यसकारण औपचारिक रुपमा महिलालाई सैन्य संरचनामा समावेश गर्ने नीति नेपालमा माओवादीले लियो। माथि उल्लेख गरिएजस्तै जनयुद्धअघिदेखि नै प्रतिरोध र सैन्य कारवाहीमा महिला सहभागी भए। पछि लडाकू दल र छापामार दलहरुमा महिला सदस्य तथा नेता हुँदै गए। माओवादी जनयुद्धभरि सैन्य क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका जनसेनाका कमाण्डर नन्द किशोर पुन ‘पासाङ’द्वारा लिखित ‘इतिहासका रक्तिम पाइला’ पुस्तकमा केही प्रतिनिधिमूलक कारवाहीमा कति महिला सहभागी थिए भन्ने उल्लेख गरिएको छ।

पासाङका अनुसार २०५६ को वैसाखमा रोल्पाको जेलवाङ गाविसमा रहेको दङ्गा प्रहरीको बेस क्याम्पमा आक्रमण गर्दा छ जना महिला एसल्टमा थिए भने रुकुमको तकसेरामा सोही सालको चैत्रमा कारवाही गर्दा २१ जना थिए । उता जाजरकोटको पाँचकटियमा आक्रमण गर्दा २५ जना महिला सहभागी थिए। २०५८ मंसिरमा दाङको सदरमुकाम घोराहीमा आक्रमण गर्दा ६८ जना महिला एसल्टमा खटिएका थिए।

२०५८ कार्तिकमा माओवादीले देशभरिका छापामार प्रतिनिधिहरुको केन्द्रीय भेलाले आयोजना गर्‍यो र औपचारिक रुपमा जनमुक्ति सेना, नेपाल गठन गर्‍यो। सो केन्द्रीय भेलामा २० प्रतिशत जति महिला थिए। भेलापछि औपचारिक रुप्मा बनेको सैन्य संरचनामा केही महिलाहरुले प्लाटुन कमाण्डर र कमिसारको जिम्मेवारी पाए। विस्तारै महिलाहरु माथिल्लो ओहदामा पुग्दै गए। २०६२को उत्तरार्धतिर महिलाहरु बिग्रेड कमिसार र बिग्रेड भाइस कमाण्डरसम्म बन्न सफल भएका थिए। २०६३ मंसिर ५ मा काठमाडौंमा शान्ति सम्झौता हुँदै गर्दा देशभरिका जनसेना अस्थायी शिविरमा जम्मा भए। केही महिना पछि तिनको दर्ता हुँदा करिब ३० प्रतिशत महिला थिए। २०५८ पछि जनसेनामा महिलाहरुको अनुपात ३०–३५ प्रतिशतका बीचमा रहिरह्यो। २०६३ बैशाखमा शान्ति प्रक्रियामा आएपछि धेरै महिलाहरुको जनसेनाको जिम्मेवारीबाट राजनीतिक जिम्मेवारी लिए।

साहस र कीर्तिमान

सामान्यतया महिलालाई कोमलता र अबलाका रुपमा लिने गरिन्छ। तर, माओवादी जनयुद्धमा यो सही होइन भन्ने पुष्टि भयो। जनयुद्धमा महिलाहरुको उल्लेखनीय सहभागिता नै आफैमा साहस थियो र कीर्तिमान पनि। अबला भनिएका महिलाहरु संघर्षको मैदानमा जुटे, सैन्य कारवाहीहरुको अग्रमोर्चामा रहेर लडेर बलिदान दिए। जनयुद्धअघि सिन्धुपाल्चोकको कुविण्डेमा महिलाहरुले दखाएको साहसको जगमा जनयुद्ध अवधिभर कीर्तिमान थपिंदै गयो। जनयुद्धमा सबैभन्दा पहिलो माओवादीले कब्जा गर्न सफल बेथान प्रहरी चौकी आक्रमणका क्रममा मारिएका तीनजना माओवादी मध्ये एकजना महिला (दिलमाया तामाङ) थिइन। जनयुद्धको अवधिमा महिलाहरुले पुरुषभन्दा कम कायरता देखाए र हातमा गन्न मिल्नेले मात्र आत्मसमर्पण गरे। ग्रामीण भेगमा महिलाहरुले त अद्भुत साहस देखाए। ती झुक्दै झुकेनन्। तिनीहरुले बलात्कार सहे, यौन दुव्र्यवहार पचाउ र त्यसको बदला लिन युद्धमा हाम फाले वा युद्धलाई सघाए।

२०५४ को चैत्रमा कालिकोटको मालकोट गाउँमा अपरेशनका लागि गएको प्रहरीको टोलीले महिलालाई दुव्र्यवहार गर्न थालेपछि महिलाहरुले त्यसको प्रतिकार गरे र प्रहरीलाई खेदे। महिलाको खेदाइमा केही प्रहरी भीरबाट लडेर मरे। महिलाले तिनका राइफल कब्जा गरे र माओवादीलाई बुझाइदिए। तर दुर्गम कालिकोटको उक्त अद्वितीय घटनाले त्यति राम्रो प्रचारप्रसार भने पाएन। त त्यो घटना नेपालका ग्रामीण भेग र दुर्गम क्षेत्रका महिलाहरुको साहसको परिचय थियो।

माथि चर्चा गरिएजस्तै जनसेनामा लाबद्ध भएर २० हजारभन्दा बढी महिलाले युद्ध लडे। लडाईमा पनि अग्रमोर्चामा पुगेर तिनले प्रहरी र सेनालाई पराजित गरिदिए। यो आफैमा कीर्तिमान थियो। युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी नै हुन्छन्। यो सार्वभौम यथार्थ हो। नेपालको जनयुद्ध त्यसको अपवाद हुन सक्दैन्थ्यो। जनयुद्धको क्रममा झण्डै चार हजार विधवा भए। हजारौं गिरफ्तार भए र सयौं अझै बेपत्ता छन्। जनयुद्धमा ज्यान गुमाउनेमध्ये नौजना माओवादीको भगिनी मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय पदमा बहाल रहेकै अवस्थामा मारिएका थिए। जनयुद्ध अवधिभरमा झण्डै २५ सय महिलाले आफ्नो जीवन गुमाए।

महिलाका साहसका कथा यतिमै सकिँदैनन्। जनयुद्धको अवधिमा महिलाहरु संगठित रुपमा जेल तोडेर बाहिर निस्कन सफल भए। २०५७ सालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए। सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना हो यो। यसले जनयुद्धको अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेल्यो। जेल तोडेर निस्किएकामध्ये दुई जना मिना मरहठ्ठा र एञ्जिला विक पछि जनयुद्धको क्रममा सरकारी फौजबाट मारिए।

१० वर्षपछिको परिवर्तन

राजनीतिक आन्दोलन र क्रान्तिमा महिलाको उत्साहजनक सहभागिता आफैमा एउटा उपलब्धि हो। महिलाहरुले देखाएको रणकौशल, लगनशीलता, साहस बलिदान पनि एक उपलब्धि हो। महिलाहरुले उनीहरुमाथि लाग्दै आएको अबला र कायरको आरोपलार्ई असत्य सावित गरिदिए र महिलाको छुट्टै पहिचान बनाए। हुन त यो समयको पनि प्रभाव थियो, तर जनयुद्धमा महिलाको सहभागिताले कैयन अन्धविश्वासपूर्ण परम्पराको अन्त्य भयो। महिलाहरुको लवाइ खुवाइ, भेषभूषा, चुार, पोते एवम् अन्य अवैज्ञानिक परम्पराको परिवर्तन भयो । यसले खासगरी ग्रामीण भेगमा तीव्र उथलपुथल ल्याइदियो। उदाहरणका लागि ग्रामिण भेगका महिलाको भेषभूषाकै कुरा गर्दा पनि लुङ्गी, चोलो, फरियाजस्ता अप्ठ्यारा पहिरनहरुको सट्टा कुर्ता सलवार, सर्ट पाइण्ट नै लगाउन थाले जो सजिला र सुरक्षित थिए।

साथसाथै उनीहरुको आत्मविश्वासमा पनि बढोत्तरी भयो। गाउँका महिलामा देखिएको आत्मविश्वास, राजनीतिक चेतना र साहस देखेर शहर एवं विदेशबाट गएका संचारकर्मी तथा बुद्धिजीविहरु दंग पर्थे। त्यसैगरी विभिन्न संस्कारहरुमा पनि परिवर्तन हुृँदै गइरहेको थियो। ग्रामीण भेगमा श्रीमान मारिएपछि जिन्दगीभर सेतो वस्त्र लगाएर बस्ने महिलाविरोधी परम्पराको अन्त्य हुँदै थियो। अमेरिकी पत्रकार ली अनेष्टोले २०५६ सालमा नेपालका माओवादी प्रभावित क्षेत्रहरुमा भ्रमण गर्दा देखेका महिलाको स्थितिलाई आफ्नो पुस्तक ‘डिस्प्याचेज फ्रम द पिपल्स वार इन नेपाल’मा यस्ताे उल्लेख गरेकी छिन –

क्रान्तिले महिलाहरुमाथि उत्पीडन गर्ने थुपै्र परम्पराहरुलाई हाँक दिइरहेको छ। उदाहरणका लागि छोराहरुलाई अति महत्व दिने, महिनावारी हुँदा छुन नहुने जस्ता व्यवहार गरिने, विधुवाहरुले बाँकी जीवन पुरै शोकमा विताउनु पर्ने परम्परामाथि चुनौती दिँदैछ। मैले लोग्नेहरु जनयुद्धमा मारिएका धेरै महिलाहरुले रातो लुगा, चुार र पोते लगाएको देखेकी छु, जुन वस्तु लगाएर श्रृंगार गर्नु विधुवा महिलाहरुलाई समाजमा प्रतिबन्ध छ। क्रान्तिले कतिपय परम्परागत चाडर्वलाई पनि फेर्न कोशिस गर्दैछ।

जनयुद्धको क्रममा महिलाहरुले छोरासरह छोरीले अधिकार पाउने प्रावधानलाई सुनिश्चित गराए। २०६० सालमा तत्कालीन माओवादी सत्ताअन्तर्गत सार्वजनिक कानुनी संग्रह–२०६० ले महिलालाई पुरुषसरह सम्पत्तिमाथि अधिकार सुनिश्चित गराइदियो। यसलाई महिला संगठनले व्यवहारमा लागू गर्न संघर्ष गरे। २०६१ मा माओवादीको स्थानीय सत्ता चलेका ठाउँहरुमा कयौं अभिभावकले आफ्ना छोरीहरुलाई छोरा सरह अंश दिने निर्णय गरे। त्यसको निरन्तरतामा शान्ति सम्झौता हुनुअघि २०६३ कार्तिक २२ गते भएको उच्चस्तरीय राजनीतिक सहमतिमा महिलाहरुले पुरुषसरह पैतृक सम्पत्तिमा अधिकार पाए जसको दुई महिनापछि अन्तरिम संविधानमा ग्यारेण्टी भयो।

जनयुद्धका क्रममा जनसेनामा महिला जनसहभागिता भएपछि तत्कालीन शाही सेनाले २०६१ पछि महिलाहरुलाई पनि लड्न फौजका रुपमा भर्ती गर्न थाल्यो। कुनै दुविधाविना भन्न सकिन्छ, यो माओवादी जनयुद्धको नै देन थियो। तर यति लामो र तीव्र उथलपुथलकारी क्रान्तिमा नेतृत्व तहमा महिलाहरुको पहुँच असाध्यै न्यून हुन गयो। जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन र शान्ति सम्झौता हुँदा झण्डै ११ वर्ष पछि माओवादी केन्द्रीय समितिमा एक जना थपिएर केवल दुई जना मात्र महिला भए। जनयुद्धमा महिलाको सहभागिताको अनुपातमा नेतृत्व विकास हुन नसक्नु सम्भवतः जनयुद्धको ठुलो कमजोरी हो।

नेपालमा महिलाले बन्दुक छोएमा त्यो बन्दुक पड्किंदैन भन्ने अन्धविश्वास थियो। तर झण्डै ११ वर्ष लामो जनयुद्धको क्रममा महिलाहरुले बन्दुक पड्काए र उक्त अन्धविश्वासलाई च्यातच्युत पारिदिए। निःसन्देह नालापानी युद्धपछि लडाकूका रुपमा महिलाको उल्लेखनीय सहभागिता भएको माओवादी जनयुद्ध नै हो। यसरी महिलाले गरिव देशका नारीहरु राजनीतिक रुपमा सचेत हुन सक्छन् भनेर विश्वलाई पनि देखाइदिए। उनीहरुले कीर्तिमान खडा गरे र इतिहास रचे।

दीपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तकबाट

Comments
Loading...
You might also like