‘प्रिय कमरेड, महान् जनयुद्धप्रति गौरव गरौं’

  • 3.1K
    Shares
0

प्रिय कमरेड,

वि.सं. २०५२ साल फागुन १ गते तात्कालीन नेकपा (माओवादी) ले प्रतिक्रियावादी राज्यसत्ता ध्वंश गरी नयाँ जनवादी सत्ताको स्थापनाका निम्ति जनयुद्धको घोषणा गर्‍यो। एक दशक लामो सशस्त्र सङ्घर्षसँग संयोजन गरिएको शान्तिपूर्ण जनआन्दोलनको आँधीबेहरीले नेपालमा जहाँनियाँ राजतन्त्रको अन्त्य भयो, गणतन्त्रको घोषणा भयो, नयाँ संविधान जारी भयो। यही विकसित परिस्थितिको जगमा हामी पूर्वएमाले र पूर्वमाओवादी एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका छौं।

एकतापछि नेकपाले संश्लेषण गरेको राजनीतिक प्रतिवेदन र पार्टी विधानमा जनयुद्धले नेपालको राजनीतिक परिवर्तनमा गुणात्मक योगदान गरेको कुरा विशेष महत्वका साथ उल्लेख गरिएको छ। गणतन्त्र स्थापनामा जनयुद्धको मात्र एकल भूमिका थिएन, विभिन्न पार्टी, वर्ग र समुदायका राजनीतिक आन्दोलनहरु पनि त्यसका कारक थिए। तर, गुणात्मक परिवर्तन जनयुद्धकै कारण सम्भव भएको थियो। यदि नेपालमा दशक लामो जनयुद्ध हुन्थेन भने राजतन्त्र आज पनि उही ज्यूँदोजाग्दो शक्तिका रुपमा रहिरहन्थ्यो। यसमा विमति वा विवाद गर्नुपर्ने कुनै कारण छैन।

कमरेड,

आज हामी पूर्वएमाले र पूर्वमाओवादी छैनौं। लक्ष्यको एकरुपता, कार्यदिशाको निकटता र वस्तुगत आवश्यकताले हामी एकै ठाउँमा छौं। हामी एउटै विचार, एउटै कार्यदिशा, एउटै विधान र एउटै संगठनको अधिनस्थ छौं। हाम्रो बाटो समान छ। हिजो हामीले गरेको सङ्घर्षको गौरवमय इतिहास हाम्रो अमूल्य सम्पत्ति हो। यो कुनै नीजि विचार नभएर पार्टीले संशलेषण गरेको राजनीतिक दस्तावेजको गुदी कुरा हो। तर, हामी कहीँ कतै किन जनयुद्धको स्वामित्व लिन सकिरहेका छैनौं, किन जनयुद्ध महान् थियो, यसले नेपाली समाजको राजनीतिक, सामाजिक रुपान्तरणमा गुणात्मक योगदान दियो भन्न सक्दैन ? यहाँ हाम्रो पार्टीले संश्लेषण गरेको विचार बाधक छ वा हाम्रो आग्रहयुक्त सोंच ?

हो कमरेड, जनयुद्ध एउटा भीषण रक्तपातपूर्ण युद्ध थियो। जनयुद्धकै क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट गरी १७००० नागरिकको ज्यान गयो। कैयौं बेपत्ता, कैयौं घाइते र कैयौं अपाङ्ग भए। कैयौं मानिसहरु बिस्थापित भए। सशस्त्र द्वन्दबाट प्रभावित नहुने नागरिक सायदै कोही रहेन। यो यथार्थ हो। युद्धका क्रममा ठूलो भौतिक र मानवीय क्षति भयो। जतिबेला देशमा सशस्त्र युद्ध थियो, त्यही बेला हामी परस्परविरोधी विचार, कित्ता र कार्यदिशामा थियौं। एकले अर्कालाई कमजोर पार्नु र राष्ट्रिय राजनीतिमा स्थापित हुनु हाम्रो कार्यनीति पनि थियो। तर, त्यसको एउटै उद्देश्य थियो, राज्यलाई अग्रगामी रुपान्तरण गर्नु, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु, नागरिक अधिकारको घेरालाई अझ विराट पार्नु र देशको आर्थिक सामाजिक क्षेत्रमा युगान्तकारी परिवर्तन गर्नु। हामीबीच मतभेद भए पनि हाम्रो विचार र लक्ष्य जनताका लागि थियो, राष्ट्रका लागि थियो।

प्रिय कामरेड,

पार्टीको प्रतिवेदन र नेतृत्वले जनयुद्धको स्वामित्व लिइसक्दा पनि जनयुद्धप्रति केही कामरेडहरुमा आग्रह देख्छु। त्यसका केही कारण पनि अवश्य छन्। बाध्यतावश जनयुद्ध भन्न विवश मेरा कमरेडहरुका केही तर्क सुन्छु, (१) जनयुद्ध हिंसाको राजनीति थियो। हामी हिंसा मान्दैनौं। (२) जनयुद्धबाट प्रभावितमध्ये हामी पनि हौं। आफैले सास्ती बेहोरेको युद्धप्रति कसरी गर्व गर्नु ? (३) जनयुद्धका क्रममा वामपन्थी कार्यकर्ता पनि मारिएका थिए, यो हामी मान्दैनौं। (४) नेपाली राजनीतिमा जनयुद्धको खास ठूलो योगदान छैन, आदित्यादि।

तर, यो यथार्थ हो त ? पहिलो कुरा, हामी कम्युनिष्ट हौं। हाम्रो सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो। मार्क्सवाद वर्गसङ्घर्षको दर्शन हो, वर्गीय अधिनायकत्वको दर्शन हो। यसले बलप्रयोगलाई वस्तुगत परिस्थितिको सापेक्षतामा बुझ्दछ। राज्य वर्गहरुबीचको लडाइँ हो। वर्गसङ्घर्षमा पूरानो वर्गले जस्तो कदम चाल्दछ, क्रान्तिकारी वर्गले त्यस्तै सङ्घर्षको सहारा लिनुपर्छ। बलप्रयोगको सिद्धान्तले कसैको मनोगत आग्रह चिन्दैन, वर्गसङ्घर्षमा वस्तुगत आवश्यकतालाई सर्वोपरि ठान्दछ।

पूरानो वर्गले तात्कालीन माओवादीले पेश गरेका ४० बुंदे मागमध्ये मुलभूत मागहरु सम्वोधन गर्ने प्रतिवद्धता गरेको भए तत्काल जनयुद्ध हुन सम्भव थिएन। तर, राज्यले माओवादीका मागको बेवास्ता गर्‍यो। हिंसा रोक्न माग गरिएको शक्तिमाथि राज्ययन्त्रले चरम दमन गर्‍यो। राज्य ४० सुत्रीय मागको सम्वोधन गर्नतिर होइन, परिवर्तनको कुरा गर्ने शक्तिमाथि हिंसाको हतियार उठायो। राज्यले हिंसाको घोषणा गरेपछि माओवादीले सशस्त्र सङ्घर्षबाटै पूरानो सत्तालाई जवाफ दिने निर्णय गर्‍यो, त्यही घोषणा थियो २०५२ साल फागुन १, मंगलबार। यो हिंसा माओवादीका कारण होइन, राज्यका कारण सिर्जना भएको थियो।

दोस्रो कुरा, जनयुद्धका क्रममा राज्य र विद्रोही शक्तिबाट नागरिकहरु प्रभावित भए। यो आंशिक सत्य हो। तर, पूर्ण सत्य होइन। पूर्ण सत्य हो, ‘जनताले आफ्नो शोषण गर्ने सामन्ती शासकहरु चिन्न थाले। विगतमा आफूमाथि गरिएको शोषणको क्षतिपूर्ति खोज्न थाले। अब आफूहरु दासत्व स्वीकार्न नसक्ने निष्कर्षमा पुगे। तर, यो निष्कर्ष केन्द्रदेखि टोलसम्मका सामन्ती शासकहरुलाई मान्य थिएन। उनीहरुले नागरिक जागरणको गुरुत्व बुझ्न सकेनन् र पूरानै क्रियाकलाप जारी राखे। त्यसले द्वन्दको रुप लियो। जनताले आफूलाई दुख दिने शासकहरुको प्रतिरोध गर्न थाले। उनीहरु कुन पार्टीमा थिए, त्यो जनसरोकारको विषय थिएन। जनताले त आफ्ना दुश्मनहरु चिनेका थिए र उनीहरुविरुद्ध प्रतिरोध गरे। यसमा कति राजावादी, कति कांग्रेस र कति वामपन्थीहरु पनि परे। यस क्रममा केही मानिसहरु अञ्जानवश पनि हिंसाको शिकार भए। त्यो जघन्य अपराध नभएर परिस्थितिजन्य भुल मात्र थियो।

तेस्रो कुरा, जनयुद्धबाट वामपन्थी नेता कार्यकर्ता पनि प्रभावित भए। मुलत त्यसका ५ कारण थिए, (१) राजनीतिक प्रतिद्वन्दिताका कारण एकले अर्कालाई निषेध गर्नु। (२) वामपन्थी शक्तिका केही मानिसहरुले पूरानो सत्तासँग मिलेर जनयुद्ध दमनको प्रयास गर्नु। (३) जनयुद्धमा सुझबुझपूर्ण स्थानीय नेतृत्वको कमि हुनु। (४) आफ्ना व्यक्तिगत आग्रहहरु सत्ता र विद्रोही शक्तिको आडमा साँधिनु र (५) गलत रिपोर्ट र दुर्घटनाहरु हुनु। वामपन्थी शक्तिहरु सत्तामा हुँदा जनयुद्धप्रति दमन नघट्नु पनि यो आक्रोशको एक प्रमूख कारण थियो। यसमा कुनै एउटा मात्र पक्ष जिम्मेवार भएको निष्कर्ष निकाल्नु मनोगत हुन जान्छ। जति वामपन्थीहरु जनयुद्धबाट पीडित भए, त्यसभन्दा बढ्ता वामपन्थीहरुको सत्तामोहले जनयुद्धका योद्धाहरु दमनको शिकार भएका थिए, मारिएका थिए।

चौंथो र सबैभन्दा महत्वपूर्ण कुरा, जनयुद्धको नेपाली राजनीतिमा के योगदान छ ? यो एक गहन र महत्वपूर्ण कुरा हो। जनयुद्धको नेपाली राजनीतिमा योगदानको चर्चापूर्व यसअघि नेपाली समाजको चरित्र र अवस्था कस्तो थियो ? त्यसबारे चर्चा गर्नुपर्ने हुन्छ। इतिहास र वर्तमानको तुलनात्मक अध्ययनबिना सही निष्कर्ष निकाल्न सकिँदैन।

प्रिय कमरेड,

२०५२ सालपूर्व नेपालमा शाहवंशीय राजतन्त्र थियो। दलहरु राजाको छाताभित्र थिए। रुपमा प्रजातन्त्र त थियो। तर, त्यो प्रजातन्त्र राजाले क्षणभरमै आफ्नो निरंकुश कुर्कुचाले मिच्न सक्थे। आवधिक निर्वाचन त हुन्थ्यो। तर, राजाले चाहे निर्वाचित प्रधानमन्त्रीलाई जुनसुकै बेला अपदस्त गर्न सक्थे। मन्त्रीपरिषदका प्रत्येक बैठकमा राजा र राजपरिषदका एजेण्डा पास हुन्थे। लोकतन्त्र राजाको मुठ्ठीमा थियो। जनयुद्धले त्यो व्यवस्थामाथि ठूलो धक्का दियो। विष्णुका अवतार ठानिएका राजा पत्रकार सम्मेलन गरेर चुपचाप गद्दीत्याग गरे। देशमा गणतन्त्रको घोषणा भयो, जनताका प्रतिनिधिहरुले नयाँ संविधान बनाएर जारी गरे। एकात्मक प्रणालीबाट राज्य संघीय ढाँचामा गयो। अपवादलाई छोडेर स्थानीय तहसम्म जनप्रतिनिधिहरु विकास र समृद्धिको अभियानमा जुटेका छन्। यसमा जनयुद्धकै मूख्य देन थियो। जनआन्दोलनको महत्वपूर्ण देन थियो।

जनयुद्धपूर्व राजनीतिमा महिला सहभागिता शून्यप्रायः थियो। महिलाहरुको काम घर धान्नु मात्र ठानिन्थ्यो। महिलाहरु चरम पारिवारिक हिंसामा थिए। सामाजिक संघसंस्थाहरुमा उनीहरुको उपस्थिति बर्जितजस्तै मानिन्थ्यो। अलिकति टाँठाबाठाहरु भए उनीहरुलाई पितृसत्ताको जाँतोले पेलिन्थ्यो। आज त्यो परिस्थिति फेरिएको छ। जनयुद्धमा लाखौं महिलाको सहभागिता र हजारौंको नेतृत्वले राजनीतिक र सामाजिक सत्तामा उनीहरु जबर्जस्त प्रभाव बिस्तार गर्दैछन्। संविधानले राज्यका हरेक अंगमा एकतिहाइ महिला प्रतिनिधित्वको संवैधानिक ग्यारेण्टी गरेको छ। यो उपलब्धीमा जनआन्दोलनको पनि महत्वपूर्ण योगदान छ। तर, निर्णायक चाहिँ जनयुद्धकै भूमिका हो।

दलितहरु अपमानजनक जीवन व्यतित गर्दै थिए। उनीहरुलाई राज्य र समाजले नागरिकको व्यवहार गरेन। विभिन्न कूरिति र कुसंस्कारको शिकारको केन्द्रमा थिए उनीहरु। यूरोप र अमेरिकामा काला जातिलाई १७ औं शताब्दीमा गरिने व्यवहार हामीकहाँ विद्यमान थियो। जनयुद्धले त्यो सामन्ती सोंच र अहङ्कारमाथि हमला गर्‍यो। जनजातिहरु राज्यबाट बहिस्कृत थिए। उनीहरुले राज्यको अपनत्व महशुस गर्न थाले। राज्य र समाजबाट प्रताडित जाति, क्षेत्र, लिंग र समुदायका मानिसहरुले राज्यमा सम्मानजनक सहभागिताको अवसर प्राप्त गरे। यो जनयुद्धकै युगान्तकारी देन थियो।

जनयुद्धले समाजमा बहिस्करणमा परेकाहरुलाई राज्यको मुल प्रवाहमा ल्यायो। उपेक्षित र विभिन्न नागरिकहरुका लागि सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरु अघि सार्‍याे। जनयुद्धपछि यो स्थापित भयो कि राज्य कुनै सीमित जाति र घरानियाँको पेवा होइन, राज्यले सबै नागरिकलाई समान चश्माले हेर्न सक्नुपर्छ। अहिले हेर्दा त यी सबै कुरा सामान्य लाग्न सक्छन्। तर, इतिहासमा यी मुद्दाहरु युगान्तकारी सावित हुनेछन्।

प्रिय कमरेड,

हामी नयाँ परिस्थितिमा छौं। जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, ‘राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन।’ समान विचार, सोंच, कार्यदिशा र गन्तव्य भएपछि सत्रु मित्रमा फेरिन्छ। विचार, सोंच, कार्यदिशा र गन्तव्य नमिलेपछि मित्रको सम्बन्ध पनि शत्रुतामा बदलिन सक्छ। आज नेकपा बनिसकेपछि हाम्रा कटुतापूर्ण सम्बन्धहरु मित्रतामा बदलिएका छन्। हामी समाजवाद हुँदै साम्यवादमा पुग्ने समान लक्ष्य र समाजवादी क्रान्तिको तयारीको समान गन्तव्यमा हिँडिरहेका छौं। यसले हामीलाई विचारका दृष्टिले मात्र नभएर भावनाका दृष्टिले पनि आत्मीय बनाएको छ।

वि.सं. २००६ सालमा स्थापित नेकपा ७० वर्षको अवधिमा विभिन्न धाराहरु हुँदै फेरि एक ठाउँमा आइपुगेको छ। ७० वर्ष लामो राजनीतिक सङ्घर्षका क्रममा हामी झापा सङ्घर्षदेखि जनआन्दोलन, जनयुद्धसम्म आयौं। यिनै सङ्घर्षको बलमा हामीले युगान्तकारी परिवर्तन गरेका छौं, वामपन्थी शक्तिलाई नेपालको लोकप्रिय शक्तिका रुपमा स्थापित गरेका छौं। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पमा सफलता प्राप्त गर्दैछौं। दुइतिहाइको वामपन्थी सरकारले विकास र समृद्धिका नयाँ-नयाँ ढोकाहरु खोल्दैछ।

कमरेड,

अब यी उपलब्धी हाम्रा साझा र अमूल्य सम्पत्ति हुन्। तसर्थ, हिजो को कता थियो, कुन राजनीतिक सङ्घर्षमा हामी कहाँ थियौं ? त्यसको हिसाब होइन। बरु, यी सबै सङ्घर्षलाई हाम्रो सम्पत्ति भनौं। हाम्रो साझा लक्ष्य प्राप्तिका लागि सुदृढ एकता हासिल गरौं। सही र वैज्ञानिक कार्यदिशाको विकासमा खुला र सहृदय बहस गरौं। असल गन्तव्यका लागि विगतबाट माथि उठौं र भनौं, महान् जनयुद्ध – जिन्दावाद !

मनहरि तिमिल्सिना, (१ फागुन २०७६), काठमाडौं।

Comments
Loading...
You might also like