जनयुद्धका प्रमूख १३ फौजी हमला

  • 2.8K
    Shares
0

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी) ले सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापना गर्ने भन्दै जनयुद्धको घोषणा गर्‍यो। त्यस क्रममा राज्य र विद्रोहीबीच ठूलठूला भीडन्तहरु भए।

२०५२ फागुन १ गते रुकुम, रोल्पा, गोरखा र सिन्धुलीबाट कार्वाही सुरु गरेको माओवादीले देशैभरि सशस्त्र सङ्घर्षका गतिविधिलाई व्यापक बनायो। २०५८ मंसीर ८ गते जनमुक्ति सेनाका घोषणा गरेपछि उच्चस्तरका कार्वाहीहरु भए। २०६२/०६३ को जनआन्दोलनसम्म विद्रोहीका तर्फबाट भएका ठूलठूला आक्रमणले निरंकुशतन्त्र क्रमशः कमजोर बन्दै गयो। त्यसमध्येका मूख्य कार्वाही यसप्रकार छन्।

(१) २०५२ माघ २२ गते तत्कालिन नेकपा माओवादीका तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश गरे। संयुक्त जनमोर्चाका नामबाट पेश गरिएका उक्त मागहरुको सुनुवाइ नगरी उल्टै फौजी दमन गरेपछि माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्धको घोषणा गरेको थियो।

(२) २०५३ साल पुष १९ गते माओवादीले रामेछापको बेथानमा रहेको प्रहरी चौकीमाथि आक्रमण गर्‍यो। यो माओवादीले गरेको पहिलो संगठित फौजी कार्वाही थियो। त्यसपछि २०५४ सालमा सरकारले माओवादी विद्रोहलाई निस्तेज पार्न किलो शेरा–टु अप्रेशन चलाएको थियो।

(३) २०५६ सालको पुष १९ गते माओवादीले जुम्लामा रहेको प्रहरी चौकीमाथि हमला गरेको थियो। त्यसका ठीक ९ महिनापछि माओवादीले पहिलोपटक जिल्ला सदरमुकाममाथि आक्रमण गर्‍यो। माओवादीले २०५७ असोज ९ गते डोल्पाको दुनैमा रहेको प्रहरी कार्यालयमाथि आक्रमण गरेको थियो।

(४) वि.सं. २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशविनास भयो। २०५८ असार २८ गते रोल्पाको होलेरीमा रहेको प्रहरी चौकीमा माओवादीले आक्रमण गर्‍यो। आक्रमणपछि ५९ प्रहरी माओवादी नियन्त्रणमा रहे। तत्काल सेना परिचालन गरियो। तर, भीडन्त भने भएन। अन्ततः साउन १० गते सरकार र माओवादीबीच युद्धविराम भयो।

(५) सरकार र माओवादीबीचको वार्ता सफल हुन सकेन। २०५८ मंसीर ८ गते माओवादीले दाङको घोराहीमा रहेको नेपाली सेनाको व्यारेकमाथि आक्रमण गर्‍यो। त्यसै दिन माओवादीले स्याङ्जाको सदरमुकाममा आक्रमण गर्‍यो। त्यसपछि २०५८ साल मंसीर ११ गते युद्धविराम भंग भई संकटकाल घोषणा भयो। २०५८ फागुन ४ गते राति माओवादीले अछामको सदरमुकाम मंगलसेनमा भीषण आक्रमण गर्‍यो। उक्त आक्रमणमा मंगलसेन दरबार ध्वस्त भयो।

(६) वि.सं. २०५९ साल भदौ २३ गते माओवादीले सिन्धुलीको भीमानमा आक्रमण गर्‍यो। त्यसैगरि भदौ २४ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आक्रमण भयो। माघ १२ गते सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठमाथि माओवादीले आक्रमण गरेपछि माघ १५ गते दोस्रोपटक युद्धविराम भयो। त्यसपछि बनेको वार्ताटोलीमा माओवादीबाट डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी थिए।

(७) युद्धविराम र वार्ता प्रक्रिया चलिरहेकै बेला २०६० साउन ३२ गते रामेछापको दोरम्बा घटनामा नेपाली सेनाद्वारा माओवादी कार्यकर्ता तथा सर्वसाधारण गरी १६ जनाको हत्या गर्‍यो। त्यसैगरि पाँचथर मेहेलबोटेमा ८ माओवादी कार्यकर्ताको हत्या भयो। वार्ताले सार्थक रुप लिन नसकेपछि २०६० भदौ १० गते दोस्रो युद्धविराम पनि भंग भयो।

(८) वि.सं. २०५९ चैत्र २४ गते माओवादीले गाम सैन्य–बेसक्याम्पमाथि गरेको हमला अमेरिकी सैन्य रणनीतिका विरुद्धको हमला थियो। यो हमलामा शाहीसेनाको सर्मनाक पराजय भयो। सरकारद्वारा सञ्चालित ‘सर्च एन्ड डिस्ट्रोय’ नामक घेरा हाल र सखाप पारको नीतिका विरुद्ध यो सशक्त हमला थियो। गाम हमलापश्चात रोल्पा, रुकुमका प्रायः सैनिक क्याम्पहरू उठाएर सदरमुकाम र केही निश्चित इलाकामा केन्द्रित गरिए। जनसेनाले यी दुबै कार्बाहीमा अत्यन्त उच्च युद्धकौशल र साहसको प्रदर्शन गरे। जनसेनातर्फ करिब ४० जनाको क्षति भएको यो कार्बाहीमा सेना–प्रहरीहरूतर्फ एक सय बढी जनाको क्षति भयो। सेना–प्रहरीका सयौँ थान अत्याधुनिक हतियारहरू जनसेनाले कब्जा गर्न सफल भयो।

(९) वि.सं. २०६० साल चैत्र ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीमाथि आक्रमण गर्‍यो। यो माओवादीले गरेको सबैभन्दा ठूलो फौजी आक्रमण थियो। आक्रमणमा प्रहरी कार्यालय, नेपाली सेनाको ब्यारेक ध्वस्त भयो। माओवादीले प्रमूख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरुलाई नियन्त्रणमा लियो र केही दिनपछि रोल्पाबाट स–सम्मान रिहा गर्‍यो।

(१०) वि.सं. २०६१ साल चैत्र २५ गते रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको खारा गाउँस्थित सेनाको ब्यारेकमाथि माओवादीले आक्रमण गर्‍यो। खारा आक्रमणको बेला जनसेनाका तीन डिभिजन थियो – पश्चिम डिभिजन, मध्य डिभिजन र पूर्वी डिभिजन। खारा आक्रमण पश्चिम र मध्य डिभिजनको संयुक्त आक्रमण थियो, तर असफल भयो। आक्रमण असफल भएपछि तात्कालीन डेपुटी कमाण्डर प्रभाकरले आफ्नै पहलमा पिली आक्रमणको योजना बनाएका थिए।

(११) वि.सं. २०६२ साल साउन २३ गते कालिकोटको पिलीमा माओवादीले तत्कालिन शाही नेपाली सेनाको ब्यारेकमाथि आक्रमण गर्‍यो। यो आक्रमण माओवादीले गरेको निकै ठूलो आक्रमण थियो। पिली आक्रमणमा माओवादी पक्षबाट ७५ जना सैनिक मारिएका थिए, राज्य पक्षबाट २८ जना माओवादी जनसेना मारिएका थिए। माओवादीबाट मारिएकाहरुको सम्झनामा त्यहाँ स्मारक समेत बनेको छ।

(११) माओवादीले २०६२ माघ १८ गते राति करिब १०ः४५ बजे पाल्पाको सदरमुकाम तानसेनमा आक्रमण गर्‍यो। भीडन्तका क्रममा सरकारी फौजी र विद्रोही गरी ठूलो संख्यामा हातहाती भयो। भीडन्तबाट माओवादीले प्रमूख जिल्ला अधिकारीसहित उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएपछि सकुशल छोडिदियो। आक्रमणबाट पाल्पा दरबार लगायत जिल्लास्थित सुरक्षा अंगका प्रमूख अड्डाहरु ध्वस्त भए। १२ बुंदे समझदारीपछि माओवादीले गरेको यो अर्को ठूलो आक्रमण थियो।

(१२) वि.सं. २०६२ मंसीर ७ गते माओवादी र संसदवादी दलहरुबीच १२ बुंदे समझदारी भयो। त्यसपछि संयुक्त जनआन्दोलनले गति लियो। यसै क्रममा माओवादीले माघ २ गते काठमाडौंको थानकोटमा रहेको प्रहरी चौकीमाथि आक्रमण गर्‍यो। चैत्र २३ गते सर्लाहीको मलंगवामा माओवादी आक्रमणबाट सेनाको हेलिकोप्टर ध्वस्त भयो। त्यसपछि माओवादी सशस्त्र युद्धका साथै शान्तिपूर्ण जनआन्दोलनमा सहभागी भयो।

(१३) दश वर्षको जनयुद्धका क्रममा धरै ठाउँमा आमनेसामने भीडन्तहरु भए। सरकारले २०५१ सालमा रोमियो, २०५४ सालमा किलो शेरा–टु र त्यसपछि जंगल सर्च अभियान थाल्यो। २०५८ को संकटकालपछि माओवादी नेताहरुको टाउकाको मूल्य तोकियो। यस अवधिमा देशका विभिन्न ठाउँ ठाउँमा एम्बुस, विस्फोट लगायतका घटनामा राज्य र विद्रोहीतर्फ थुप्रैको ज्यान गयो। वि.सं. २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि युद्धले शान्तिपूर्ण राजनीतिक रुपान्तरणको गति लियो।

Comments
Loading...
You might also like