जनसेनाका सात डिभिजन : को–को थिए कमाण्डर ?

  • 7.1K
    Shares
0

काठमाडौं। माओवादीले २०५२ सालबाट सुरु गरेको जनयुद्ध नेपालको राजनीतिक परिवर्तनमा निर्णायक मानिन्छ। यही जनयुद्धको जग र २०६२/०६३ सालको जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कायम भएको छ। जनताका प्रतिनिधिहरुले समाजवादउन्मूख संविधान बनाएर जारी गरेका छन्।

विश्व थर्काउने जनयुद्धमा हजारौं योद्धाहरु सहभागी थिए। लडाकु दल, सुरक्षा दल, स्वयंसेवक दलमा सीमित संरचनामा २०५३ को माओवादीको केन्द्रीय समितिको बैठकले जनयुद्धको दोश्रो योजना बनायो। २०५८ मंसीर ८ गते रोल्पाको कुरेलीमा प्रचण्डको उपस्थितिमा भएको भेलाले जनमुक्ति सेनाको घोषणा गर्‍यो।

उक्त भेलाले नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डलाई जनमुक्ति सेनाको सुप्रिम कमाण्डर घोषणा गर्‍यो। भेलाले जनमुक्ति सेनाको जनरल स्टाफमा वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र नन्दकिशोर पुन ‘पासाङ’ चयन गर्‍यो। २०५९ मा रोल्पामा ३ डिभिजनको घोषणा गरियो र पूर्वी कमाण्डमा अनन्त, मध्य कमाण्डमा पासाङ र पश्चिम कमाण्डमा प्रभाकर कमाण्डर बने।

त्यस बेला पश्चिम कमाण्डमा देव गुरुङ राजनीतिक कमिसार र जनार्दन शर्मा कमाण्डर थिए। मध्य कमाण्डमा पोष्टबहादुर बोगटी राजनीतिक कमिसार र नन्दकिशोर पुन ‘पासाङ’ कमाण्डर भए। त्यसरी नै पूर्वी कमाण्डमा रामबहादुर थापा ‘बादल’ राजनीतिक कमिसार र वर्षमान पुन ‘अनन्त’ कमाण्डरको जिम्मेवारीमा रहे। त्यसमध्ये जनमुक्ति सेनाको कमाण्डर तोकिएका थिए नन्दकिशोर पुन ‘पासाङ’।

२०६१ पछि माओवादीले प्रचण्डलाई सुप्रिम कमाण्डर, वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन र चक्रपाणि खनाललाई डेपुटी कमाण्डरका रुपमा चयन गर्‍याे। त्यसपछि जनसेनाका सात डिभिजन बने। ती डिभिजनका कमाण्डर थिए, १. सन्तु दराइँ ‘परवाना’, २. सुकबहादुर रोका ‘शरद’, ३. धनबहादुर मास्के ‘राजेश’, ४. यमबहादुर अधिकारी ‘प्रतीक्षा’, ५. तेजबहादुर ओली ‘प्रतीक’, ६. गणेशमान पुन रश्मि ७‍. कालीबहादुर खाम ‘विविध’, ८. महेन्द्र बहादुर शाही ‘प्रज्जवल’।

माओवादीले ७ वटा डिभिजनमा एक/एक जना कमाण्डरको कमाण्डमा रहने गरी ३/३ जना सहायक कमाण्डर तोकेको थियो। त्यसरी नै डिभिजनको कमाण्डमा रहने गरी २८ वटा ब्रिगेड बनाएर कमिसार, कमाण्डर र सहायक कमाण्डर तोकेको थियो। त्यसरी नै ब्रिगेडअन्तर्गत बटालियन, बटालियनअन्तर्गत कम्पनि, कम्पनिअन्तर्गत प्लाटुन र प्लाटुनअन्तर्गत सेक्सन जनसेनाको फौजी संरचना थियो। ती सबै फौजी संरचनामा कमिसार, कमाण्डर र सहायक कमाण्डर तोकिएको थियो।

जनमुक्ति सेनाले हेडक्वार्टरको सुरक्षाका लागि एक ब्रिगेड संरचना बनाएको थियो। त्यसरी नै स्पेशल टाक फोर्सको पनि संरचना थियो, जसले शहरी क्षेत्रमा छापामार हमला गर्दथ्यो। जनमुक्ति सेनाले आन्तरिक तालीम र प्रशिक्षणका लागि सैन्य विभाग र खेलकूदका लागि पिएलए स्पोर्टस् क्लवसमेत बनाएको थियो। शान्ति प्रक्रियापछि जनमुक्ति सेनामध्ये केही समायोजनमा गए, केही सक्रिय राजनीतिमा छन् भने केही आफ्नो व्यक्तिगत भविष्यका लागि सङ्घर्षरत छन्।

Comments
Loading...
You might also like