यसरी गर्‍यौं गोरखा जेल ब्रेक

  • 3.9K
    Shares
0

उमा भुजेल ‘शिलु’

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ। कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ। एकएक गर्दै १४ महिना त त्यही कोठामा सुतेर बितेछ। तर त्योजस्तो पट्यारलाग्दो र लामो रात कहिल्यै लागेको थिएन। मनभरि कुरा खेल्न थाले। जेल प्रवेशदेखिका हरेक गतिविधि र स्थिति एकएक गर्दै मस्तिष्कको पर्दामा देखिन आइपुगे। मरुभूमिजस्तो लाग्ने यहाँको वातावरणमा हरियाली सौन्दर्य छाइसकेछ। सम्झिँदै कहाली लाग्ने जेल पनि प्यारो बन्न थालिसकेछ। दुस्मनका दमनपूर्ण व्यवहारहरू पनि पचिसकेछन्। आखिर मान्छेले चाहेमा परिवर्तन गर्न सक्दोरहेछ अनि आफू पनि परिवर्तन हुन सक्दो रहेछ। जेल छाड्ने कुराले पनि कताकता चस्स घोचेजस्तो, नमिठो महसुस भयो। जेलका प्रत्येक कोठा, खेल्ने चौर, फूल र तरकारी अनि बन्दीहरू सबैप्रति माया उर्लेर आयो। तर हामी धेरै उच्च जिम्मेवारी पूरा गर्न जानैपर्छ। म एक्लै आफैसँग कुरा गरिरहेँ।

भोलिको रातमा त हामी टाढै पुगिसक्छौँ, यो बिस्तरामा हामी हुनैछैनौँ। बन्द पर्खालभित्र खुम्चिएर बसिरहने बाध्यता पर्नेछैन। झ्वाट्ट मलाई आफ्नो जिम्मेवारीको स्मरणले झस्काइदियो। आफ्नो भूमिकाको सम्झनाले भित्रभित्रै चिमोट्न थाल्यो। अनि झनै छट्पटी छुट्यो चिटचिट पसिना आएझैँ भयो। अहिलेसम्म त जेनतेन अभिभावक नेतृत्वको भूमिका खेलेँ भन्ने लाग्छ। भोलिको दिनभरि कस्तो हुने हो ? सफल गर्न सकिएला कि नसकिएला ? फेरि सबै सम्पर्कमा पुग्न सकिने हो वा होइन ? बेचैन महसुस भयो। म जुरुक्क उठेँ। बहिनीहरू पल्टिरहनुभएको थियो। हुन त सबै बहिनीहरू स्पष्ट र विश्वस्त हुनुहुन्छ। म आफैलाई सान्त्वना दिँदै फेरि पल्टिएँ। यतिबेला सञ्जुले बत्ती बाल्नुभयो– ‘दिदी निद्रा लागेन ?’ ‘अहँ’ म सुस्त बोलेँ।

छिनभरमै सबै उठ्नुभयो। सायद उहाँहरू पनि निदाउनुभएको थिएन होला। बिहान ३ बजेको थियो। उठ्नासाथ बिजुलीको उज्यालोमा सबै बहिनीहरू कोठामा भएका प्रत्येक चीजलाई गहिरो गरी नियाल्न लाग्नुभयो। बिनाकारण कहिले एक ठाउँको सामान अर्को ठाउँमा सार्नुहुन्थ्यो। कतिपय सामान बाकसमा थन्क्याउनुहुन्थ्यो। कमला बजारबाट ल्याउने सामानको लिस्ट बनाउन थाल्नुभयो। केके ल्याउनुपर्छ ? भन्दै भान्सा कोठामा हेर्न जानुभयो। हामी पनि उठेर पछिपछि लाग्यौँ। सधैँ टनाटन सामान भरिने भान्साका भाँडाहरू अहिले प्रायः रित्तै थिए।

भाँडाले पनि अब छिट्टै जाओ भन्दैछ, सबै भाँडा हेरेर कमलाले भन्नुभयो। गलल्ल हाँसो चल्यो एकछिन। अन्त्यमा ५ किलो खसीको मासु ल्याउने भन्ने भयो। दिउँसो मासु र रोटीको नास्ता दाजुभाइलाई पनि खुवाउने सल्लाह गर्‍यौँ। उज्यालो पनि भइहाल्यो। त्यो जेलसँग बिदाइको दिन थियो। ढोका खुलेपछि बाहिर गएर १ घन्टा व्यायाम गरियो। प्रेम दाइलाई सामान ल्याउन बजार पठायौँ। सबै मिलेर चारैतिर सफा गरियो। त्यसपछि आज हामी जाँदैछौँ भनेर दाजुभाइलाई चिट पठायौँ। उहाँहरूले आफूहरू जान नसक्ने खबर पठाइसक्नुभएको थियो। अब आशा नै मेटिएको थियो। त्यसैले हाम्रो काम अलि अपूरोजस्तो पनि लागेको थियो। समय छोटो तर दिनभरिमा धेरै कामकुरा मिलाइसक्नुपर्ने थियो।

अन्तिम दिन, अन्तिम समीक्षा

समयको अभाव हुँदाहुँदै पनि बिहान ७ बजेतिर छलफलमा जुट्यौँ। काम सुरु भएदेखि त्यसबेलासम्म साढे तीन महिनाको समीक्षाा गर्‍यौँ र सम्पूर्ण बाँकी योजना तय गर्‍यौँ। सबै कमरेडहरूले अत्यन्त मार्मिक ढङ्गले सङ्क्षिप्त रूपमा विषयवस्तु राख्नुभयो। समीक्षाको सार निम्नानुसार रह्यो :

सकारात्मक पक्ष – १. योजना वैज्ञानिक रहेको। २. वस्तुस्थितिको सही आँकलन गर्दै बदलिँदो परिस्थितिअनुसार आवश्यक कार्यनीति तय गर्न सक्नु। ३. प्रतिकूलतासँग सामना गर्दै पहलकदमी लिन सफल भएको। ४. विज्ञान र कलाको सही संयोजन गर्न सफल हुनु। ५. कामका तीव्रता र उच्चतासँगै हामीबीच मजबुत एकता र टिमस्पिरिट पैदा हुनु।

सीमा र समस्याहरू – १. आवश्यकता र क्षमताको गहिरो अन्तर देखापर्नु। २. सिर्जनशीलताको अपर्याप्तता। ३. आवश्यक साधन जुटाउन स्रोतको अभाव रहनु।

समग्रमा चुनौतीपूर्ण उच्च लक्ष्यप्रति, चार प्रतिकूलताका बाबजुद सबै कमरेडहरूको लगनशीलता, धैर्य, साहस र आफ्नो भूमिकाप्रतिको गम्भीर दायित्वबोध एवं इमानदारीका कारणले मूलतः क्रान्तिकारी विचारप्रतिको प्रतिबद्धता, त्यसैअनुरूपको भावनात्मक र वैचारिक सङ्कल्पबद्ध एकता र हरदम बलिदानभावले नै हामी सफलताको त्यो सङ्घारमा आइपुगेका हौँ भन्ने निष्कर्षमा पुग्यौँ। त्यसपछि त्यो अन्तिम दिन रातभरिको योजना कोर्‍यौँ।

अन्तिम तयारीको योजना (एक दिन र एक रात) – हामी त्यही रात निस्कने निर्णय गरिसकेका थियौँ, त्यसैले निम्नानुसार तयारी र हाइयोजना तयार गर्‍यौँ।

(क) दिनभरि गरिसक्नुपर्ने तयारी – १. दुस्मनको गतिविधि बुझ्ने, सम्पूर्ण समय कडा ड्युटी गर्ने। २. जेलका बाँकी सामग्रीको व्यवस्थापन, रहेका सामग्री दाजुभाइ र आमा–दिदीलाई दिने। ३. व्यक्तिगत तयारी – छोडेर जाने सबैसँग भेटघाट, कुराकानी गर्ने र रातिका लागि चुस्त कपडा सर्ट पाइन्ट लगाउने।

(ख) रातको तयारी – झ्याल फोड्ने सामानको तयारी, टेबुललाई ट्वाइलेटको झ्याल नजिक राख्ने। २. निस्कने समय निर्धारण ठीक पौने १ बजे निस्कने।

(ग) टिम विभाजन र पार्टी सम्पर्क (बाहिर निस्केपछि) – ६ जनालाई २ कमान्डमा विभाजन गरी पार्टी सम्पर्क खोजीमा जाने। जसअनुसार, उमा, सञ्जु र एञ्जिला उमाको कमान्डमा बक्राङतिर जाने। कमला, मीना र रीता कमलाको कमाण्डमा देउरालीतिर जाने।

सम्पर्क घर पनि निश्चित गरियो र यथाशक्य छिटो पार्टी सम्पर्क गर्ने निर्णय भयो। छलफल टुङ्ग्याएर हामी तुरुन्तै कार्यान्वयनतिर जुट्यौँ। करिब १० बजेतिर खान खाएर हामी ६ जना नै चौरमा बस्यौँ। ‘भोलि त यति बेला बक्राङमा जनतासँग भेटघाट गर्दै हुन्छौँ’, सञ्जुले मौनता तोड्नुभयो।

‘हामी पनि यतिबेला देउरालीमा साथीहरूसँग भेट गर्छौं’, कमलाले जबाफ दिनुभयो। एकछिनसम्म कमला र सञ्जुको रमाइलो भनाभन चल्यो। म, मीना, रीता र एन्जिला चुपचाप बसिरहेका थियौँ। छलफलको कडी जोड्दै रीताले थोरै चिन्तामिश्रित भाव प्रकट गर्नुभयो– हामी गएपछि यो जेल कस्तो बन्ला ? बल्लबल्ल फेरिन थालेको थियो। उहाँको भनाइमा वास्तवमै गम्भीरता थियो। जस्तोसुकै होओस्, सञ्जुले उतिखेरै प्रतिक्रिया जनाउनुभयो।

‘तरकारी र फूल त छाड्नै मन लागेको छैन। कस्तो गर्मीमा पनि पानी राख्दै रोपेको, हैन त दिदी ?’, कमलाले मेरो सहमति खोजेको आसय जनाउनुभयो। धेरैबेर कुरा चले। सहजै बोलिएको भए पनि कतिपय विषयले हामीलाई गम्भीर बनाउँथ्यो। कतिपयले उद्वेलन पैदा गरिदिन्थ्यो। कहिले हँसाइदिन्थ्यो। भावनाका छालहरू उठ्दै बिलाउँदै गरिरहेका थिए। सबै कुराप्रति माया लागे पनि त्यसले वर्गसङ्घर्षको मैदानमा फर्कने तीव्र इच्छाशक्तिलाई जित्ने कुरै भएन।

दिनको १ बजिसकेको थियो। नास्ता बनाउन हतारिँदै भान्सा कोठामा पुग्यौँ। एकचोटि तीनवटा स्टोभ बालेर पकाउन थाल्यौँ। एक घन्टामा सबै परिकार तयार गर्‍यौँ। सेलरोटी, मासु, अचार, फलफूल दाजुुभाइहरूलाई दियौँ। रोटी र मासु सेन्ट्रीमा खटिएका पुलिसलाई पनि दियौँ। यत्रो रमझमको कारण दुश्मनलाई सुुइँकोसम्म रहेन। त्यसपछि हामी ८ जना सबै चौरमा बसेर खान थाल्यौँ। नास्ता पनि छिटोछिटो खायौँ किनकि समयले डाँडा काट्दै थियो। त्यही मौका छोपेर मीनाले आमा र दिदीलाई साडी, चोली, कुर्ता–सुरुवाललगायत सामानहरू दिनुभयो।

‘किन यसो गर्दै हुनुहुन्छ ?’, वासना दिदीले अनौठो मान्दै भन्नुभयो। कमला अघि सर्नुभयो– हामीलाई त छाड्न पनि सक्छ, भोलि नै जेल सरुवा गर्न पनि सक्छ। अस्ति भर्खर लोकप्रसाद दाइलाई लग्यो। सुन्दैछौँ हामी पनि सरुवा हुँदेछौँ रे। त्यसैले यसो सम्झनामा दिएको। कमलाले विश्वास मान्ने गरी सम्झाए पनि उनीहरू बोल्न सकेनन्।

समय निकालेरै भए पनि सबै दाजुभाइलाई भेट्नुपर्ने थियो। हामी गेटमा गयौँ। गोविन्द दाइ, बद्री दाइ, सन्देशलगायत सबै आउनुभयो। १ घन्टाजति गेट वारिपारि बसेरै कुराकानी गर्‍यौँ। त्यही बेला थाहा पाएका दाजुभाइले सफलताको शुभकामना लेखेर चिट पठाउन सुरु गर्नुभयो। शुभकामनाको वर्षा हुन थाल्यो। एउटै परिवार भएर बसेका हामी छुट्टिनु पर्दा निकै नरमाइलो र दुःख महसुस भएर आयो। उहाँहरू पनि त्यस्तै भाव व्यक्त गर्दै हुनुहुन्छ। मन नलाग्दा नलाग्दै पनि हामी गेटबाट फर्कियौँ।

बेलुका ५ बजे सुरुङतिर गयौँ। अन्तिम ढुङ्गा खोल्नुअघि ड्युटी गर्दै पालैपालो सुरुङमा अभ्यास गर्न क्रमशः सञ्जु, मीना, एञ्जिला र रीता सुरुङमा पस्दै निस्कँदै गर्नुभयो। झमक्क साँझ पर्‍यो। मान्छे चिन्न गाह्रो भइसकेको थियो । अरू भित्र कोठामा गयौँ। कमला सुरुङभित्र पस्नुभयो र बाहिर निस्कने ठाउँको अन्तिम ढुङ्गा झिकेर त्यहाँ बोराको बुजो लगाएर फर्किनुभयो। उहाँ सरासर भान्सामा आइपुग्दा हवल्दार ठिक्क गेटभित्र छिरिसकेको थियो। उसलाई पनि मासु र रोटी दियौँ। हबल्दार ढोका बन्द गरी फर्कियो। हामी खाना खान थाल्यौँ।

लास्ट एक्सन

हामी सबैजना आमा–दिदीको कोठामा गई सँगै बस्यौँ। १० मिनेटपछि हाम्रो काम छ भन्दै कमला, सञ्जु र म कोठाबाट निस्क्यौँ। मीना, रीता र एन्जिला भई आमा र दिदीलाई नाचगानमा भुलाउन थाल्नुभयो। ७ बजेबाटै नाच र गीत घन्कियो। नाचगान र टीभीको चर्को आवाजले कारागार गुन्जायमान भयो। त्यही आवाजभित्र हामी ३ जनाले काम थालनी गर्‍यौँ। त्यही सानो हेक्सो ब्लेड र रामो (छिनो) लिएर ट्वाइलेटको झ्यालको छड काट्न थाल्यौँ। पहिला हामी थुनिएको भवनबाट मुक्त भएर मात्र सुरुङ खनेको ठाउँमा जान सक्थ्यौँ। किनभने सुरुङ त बाहिर चौरमा खनिएको थियो। पालैपालो ड्युटी बस्दै काटिरह्यौँ। उता बहिनीहरूले पनि आफ्नो भूमिका निर्वाह गरिरहनुभएको थियो। १ घन्टाजति छड रेट्यौँ तर अलिकति पनि काटिएन। तैपनि काट्दै थियौँ। त्यही बेला घर्‍याक्क ढोका खोलेको जस्तो ठूलो आवाज आयो। हामी खुब आत्तियौँ । हातखुट्टा फत्याकफुतुक्क गले।

निश्चय नै अब यहाँको आवाज बाहिर सुनियो, अनि पुलिसहरू भित्र पसे भन्ने सोझै अड्कल ग¥यौँ। हतास्सिँदै ढोकामा गएर कान थापेर चाल सुन्यौँ। १० मिनेटजति काम रोक्यौँ। दुश्मनको गतिविधि केही दखिएन। अनि होइन भन्ने विश्वास लागेपछि पुनः काम चालू गर्‍यौँ। धेरै प्रयास गर्‍यौँ। तर अलिकति पनि छड काटिएन। १० बजेसम्म नाचगान पनि अस्वाभाविक हुन्छ। यहाँको ढ्याकढुक आवाज बाहिर निस्कन्छ । के गर्ने के नगर्ने रु तीनैजना काम छोडेर टोलाउन थाल्यौँ। उता फेरि सम्झियौँ बाहिर सबै तयार भइसकेछ, हामी रातभरिमा हिँडिसक्नुपर्छ, नभए भोलि नै सबै एक्सपोज हुन्छ। कामको थालनीदखि नै धेरै अप्ठ्याहरू आए तर त्यसबेलाजति म कहिल्यै आत्तिएकी थिइनँ आज। तर जसरी भए पनि निस्कनैपर्छ । फेरि हिम्मतसाथ लाग्यौँ। हेक्सो ब्लेड, रामोको सहायताले छड गाडिएको झ्यालको काठ काट्न थाल्यौँ। धेरै प्रयास गरेपछि ९ बजेतिर एउटा छड निकालियो। मैले टाउको छिराएर विचार गरेँ। टाउको त छिर्‍यो तर हेर्दा अझै पनि साँघुरो देखियो। तर फेरि अर्को झिक्दा धेरै समय लाग्ने भएकाले बाहिर आवाज जाने खतरा देखियो। त्यसबाट जसोतसो छिर्ने सोच्यौँ, सकिएला भन्ने पनि लाग्यो। अब दुईवटै अजङ्गका पर्खालहरू हाम्रा लागि खुला भए। बल्ल मन ढुक्क भयो– अब हामीलाई कसैले छेक्न सक्दैन।

कामको अन्तिम क्षण अर्थात् २०५७ चैत १७ गते राति बाहिर चारैतिर सुनसान थियो। लाग्छ संसार मस्त निद्रामा डुबेको थियो। हामी भने अन्धकारको स्वर्गमाथि अन्तिम धावा बोल्न तम्तयार अवस्थामा थियौँ। सम्भावित सफलता, खुसी अनि अनिश्चितताको द्वन्द्वले फुलेको छाती र उफ्रिरहेको मुटुलाई संयमित पार्दै बेलाबेलामा भित्ताको घडीमा आँखा लगाइरहेका थियौँ। रात आफ्नै गतिमा छिप्पिँदै गइरहेको थियो। निष्पट्ट रातको सन्नाटामा घडीको सुईको टकटक आवाज झन् बढ्दै गएजस्तो भान हुन्थ्यो। घन्टा सुई १२ बाट तल ओर्लंदै थियो। हामी सबै चुपचाप निश्चित समयको प्रतीक्षामा बसिरहेका थियौँ। बोल्ने शब्द कसैलाई आइरहेको थिएन। सबैको चेहरा गम्भीरतामा चुर्लुम्म डुबेको थियो। ठीक पौने एक बज्यो। हाम्रो प्रतीक्षाको घडी समाप्त भयो।

हामी शान्तपूर्वक उठ्यौँ र पङ्क्तिबद्ध भएर फर्मेसनमा उभियौँ। त्यसबेला मलाई पहिलेपहिले फौजी कारबाहीमा जाने बेलाको बिदाइको सम्झना आयो। कारबाहीको प्रकृति फरक भए पनि यो पनि एक प्रकारको एक्सन नै थियो। बाहिर निस्कनका लागि क्रम मिलाएका थियौँ। पहिलो उमा, दोस्रो कमला, तेस्रो एन्जिला, चौथो सञ्जु, पाँचौँ रीता र छैटौँमा मीना । फर्मेसनमै मैले अत्यावश्यक सवालमा ५ मिनेटमा कुरा राखेँ। मृत्युलाई जितेर मात्र अब अन्तिम सफलता हासिल गर्न सक्छौँ। मृत्युसँग डराएका छैनौँ। मृत्युलाई जित्न सक्छौँ। सबैको मुखबाट उत्तर आयो। अनि सबैजना एकअर्कासँग हात मिलाउँदै पङ्क्तिबद्ध भएर नयाँ जीवनका लागि मृत्युसँग लड्न निर्णायक पाइला अघि बढायौँ।

म झ्यालनजिक पुगेँ। झ्याल अलि अग्लो थियो भने छिर्ने ठाउँ साँघुरो साथै दुस्मनको एक नम्बर सेन्ट्रीपोस्टबाट त्यो झ्याल सोभैm देखिन्थ्यो। हामीसँग त्यहाँभन्दा राम्रो विकल्प थिएन। झ्याल अग्लो भएकाले टाइप मेसिन राख्ने टेबुल त्यहाँ राखेका थियौँ। म त्यसैमा टेकेर झ्यालबाट छिर्ने प्रयास गरँे। साँघुरो भएकाले कहिले टाउको त कहिले खुट्टा पसाएर बाहिर निस्कन खोजेँ तर सकिनँ। ढिलो गर्नु भनेको छिटो मर्नु हो भन्ने सोच्दै बल्लबल्ल शरीर कोल्टे पारेर म छिर्न सफल भएँ। त्यसपछि कमलालाई बाहिरतिरबाट तानेँ। छिर्ने तरिका थाहा भयो। उहाँ आउन गाह्रो भएन। हल्का खुट्टाको पछाडि हेर्‍यौँ, एन्जिला झ्यालबाट बाहिर निस्किसक्नुभएको थियो। सेन्ट्रीले चाल नपाएको बुझियो। हामी भित्र पस्यौँ। सुरुङभित्र एकअर्कालाई छोइएर आउने मिलाएका थियौँ।

क्रलिङ गर्दै अघि बढ्यौँ। सुरुङभित्र घिस्रँदाघिस्रँदै मेरो टाउको बाहिर निस्कियो। त्यहीँबाटै यताउता हेरेँ। जताततै बिजुलीको प्रकाश परेको थियो। त्यो थोरै ठाउँ मात्र छायाँ परेको रहेछ। जमिनमा हात टेक्दै बाहिर निस्किएँ। बाहिरको चिसो हावाले खुसी हुँदै स्वागत गर्‍यो। म छायामा उभिएँ। यताउता हट्नासाथ उज्यालो पथ्र्यो। कतातिर बढ्ने भन्नेबारे बाहिर गएर नै निर्णय लिने भन्ने थियो। सबै निस्किएपछि मात्र अघि बढ्ने सोचियो। दुश्मनले थाहा पाइहाल्यो भने नि फायरिङबीचबाट भाग्दा कोही न कोही बचिन्छ। क्रमशः बहिनीहरू आउँदै ओझेलमा उभिनुभयो। अन्त्यमा मीना पनि आइपुग्नुभयो। हामी अब खुला आकाशमुनि थियौँ। फराकिलो नयाँ संसारमा पाइला टेकेका थियौँ।

आकाशका ताराहरू खुसीले चम्किँदै हामीलाई हेरिरहेका थिए। उत्साहले हाम्रो छाती फुलेको थियो, सास बढेको थियो। हामीले आफ्नो खुसी रोक्न सकेनौँ। सबैले दरिला हाल मिलायौँ, एकअर्कालाई अँगालोमा हालेर छातीमा टाँस्यौँ तर हामी आफै खतरामुक्त भइसकेका थिएनौँ। जेलको पर्खालबाट सोझै दूरी बढाएर अघि बढ्न हाम्रो लागि अनुकूलता देखिएन। उल्टै पर्खालको किनारैकिनार दुई नम्बर सेन्ट्री पोस्टको तल हुँदै मूलढोकाको अगाडितिर पो बढ्नुपर्ने भयो। जोखिम अवश्य थियो। तर हामीलाई त्यसको कुनै परवाह थिएन। हामी फेरि क्रलिङ गर्दै दुई नम्बर सेन्ट्री पोस्टतिर अघि बढ्यौँ। पोस्ट वालमाथि थियो। लस्करै भएर घिस्रिँदै सेन्ट्री पोस्टको ठीक तल आइपुग्यौँ। ड्युटीको पुलिस चलमलाइरहेको, खेतको गह्रामा छायाँ देखिन्थ्यो।

दुई नम्बर पोस्ट पार गरियो र एक नम्बर पोस्ट मूल ढोकातिर अघि बढ्यौँ। खस्याङखुसुङ कत्ति पनि आवाज ननिकाली घिस्रँदा समय बढी नै लाग्यो। करिब पौने एक घन्टामा एक नम्बर सेन्ट्री पोस्टको नजिकै आइपुगियो। त्यसभन्दा अगाडि अलिकति खाली भाग थियो। तर छ्याङ्गै बिजुलीको उज्यालो परेको थियो, सेन्ट्रीले देखिहाल्थ्यो। छेकिन मिल्ने कुनै कभर पनि थिएन। दुस्मनले चाल पाउने सम्भावना देखियो। हामी चुपचाप अडियौँ र साउतीका आधारमा सल्लाह गर्‍यौँ। त्यो भाग पार गरेपछि एउटा पर्खाल भेट्टाइन्थ्यो। सङ्केतअनुसार सबै एकैचोटि जम्प गरियो। भ्वाक्क आवाज निस्किइहाल्यो। ड्याम्म, तुरुन्तै एक नम्बर पोस्टबाट दुश्मनले फायर गर्‍यो। दुश्मनले चाल पाएको बुझियो। खबरदार, तिमीहरू घेरामा परिसकेका छौ, टोली फायर गर, माइन चार्ज गर। ने.क.पा. (माओवादी) – जिन्दावाद। एक्कासी म त कासन गर्न पो थालेछु।

त्यसपछि भिरालो जमिनमा कान्लाकुन्ली नाघ्दै दौडियौँ। जेलमा दुश्मनको खलबल बढेजस्तो लाग्यो। हामी भीषण लडाइँको अन्तिम र निर्णायक विजयको सन्निकट पुगिसकेका थियौँ। धेरै समयपछि फायरिङको आवाजले हाम्रो दिमाग र शरीर अझ फुर्तिलो भयो। अब दुस्मनको गोलीले हामीलाई रोक्न सक्दैनथ्यो। कुनै पनि शक्तिले हामीलाई छेक्न सक्दैनथ्यो। करिब मुक्त भइसकेको आभासले हाम्रो शक्ति र स्फूर्ति कयौँ गुणा बढेको थियो। किनभने बाहिरी संसारको स्वस्थ हावा हाम्रो शरीरभित्र प्रवेश गरिसकेको थियो। हामी वेगवान् गतिमा अघि बढ्यौँ। खोल्साखोल्सी र पाखाहरूको कुनै परवाह भएन।

करिब २५–३० मिनेट दौडिएपछि दुस्मनको गतिविधिको कुनै सङ्केत देखिएन। हामी दुस्मनको बुताबाहिर पुगिसकेका थियौँ। पिँजडा तोडिइसकेको थियो। हाम्रा पखेटा र खुट्टाहरू बन्धनमुक्त भइसकेका थिए। पहिले दुस्मनसँग बच्न र पछि हाम्रो सफलताको खुसीयालीमा हामी दौडिरह्यौँ। सास बढ्दै थियो। मुटुको ढुकढुकी बढ्दै थियो हरेक पल सफलताको सुनिश्चिततासँगै।

खुला आकाशमुनि

अँध्यारो रातको शून्यतालाई सफलताको पदचापले भङ्ग गर्दै वेगवान् गतिमा हामी अघि बढ्यौँ। धेरै दिनपछि भेटघाट भएका रूखबिरुवा, घाँसपात, गोरेटो र चौतारीहरू सुम्सुम्याउँदै, खोला, खोल्सा र भीर पाखाहरूको हालचाल बुझ्दै कहिले प्यारो माटो सुँघ्दै, डाँडाकाँडासँग हातको इशाराले हामी आइपुग्यौँ भन्ने जानकारी गराउँदै हाम्रा पाइलाहरू निरन्तर बढिरहे। अनगिन्ती कठिनाइबाट प्राप्त सुखले मान्छेहरूलाई आनन्दित र उत्साहित बनाउँदो रहेछ। दुश्मनको क्याम्पमा भएको सम्भावित चित्कार र पार्टी सम्पर्कको सुखद कल्पनाको संयोजित अन्तरद्वन्द्वमा रमाउँदै, चराचुरुङ्गीहरूको सुमधुर गीतसङ्गीतको तालमा गोडाहरू आफ्नै गतिमा चलिरहे।

५ घन्टासम्म लगातार एउटै स्पिड कायम गर्‍यौँ। उघ्रँदै गएको नयाँ बिहानीले हाम्रो बाटो गाइड गर्न थाल्यो। मिर्मिरे हुँदा मोटरबाटो पार गर्‍यौँ। छर्लङ्ग उज्यालो हुँदा पर पाखामा बक्राङ गाउँ देखियो। एकअर्कालाई हेर्दै हाँस्यौँ। हाम्रो शरीर, कपडाहरू हिलोले लत्पत्तिएको थियो। खुट्टामा जुत्ताचप्पल थिएन। तर पनि हाम्रा पाइलाहरू पटक्कै रोकिन मानेनन्। जनताको चुम्बकीय मायाले हामीलाई तानिरहेको थियो। आफ्नो प्यारो बन्दुक अँगाल्दै जनमुक्ति सेनाको लस्करमा सामेल हुन, महान् पार्टीका नेताहरू, योद्धाहरूसँग न्यानो हात मिलाउन हामी निकै आतुर थियौँ।

क्षितिज रक्ताम्य भयो र रातो लाली जताततै पोखियो। सूर्यको किरण पनि सधैँभन्दा गाढा सुनौलो र पारिलो थियो। आकाश पनि सफा र निर्मल थियो। कतै पनि बादलको कालो धब्बा थिएन। सबै कुरा सुन्दर थिए। किनभने त्यो हाम्रो आफ्नै सूर्य थियो आफ्नै धर्ती र आफ्नै आकाश थियो। त्यही स्वच्छ र खुला आकाशमुनि हामी ५ जना पन्छीहरू मार्क्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथको अजेय, अविचल वैचारिक मार्गदर्शनमा शीघ्र नै विश्वक्रान्तिको महासमरमा समाहित हुने उच्च अभिलाशासहित स्वतन्त्रपूर्वक उडिरह्यौँ, उडिरह्यौँ, अनन्त–अनन्तसम्म !!!

Comments
Loading...
You might also like